कालीकोट : कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाले सहजै पानी पिउन पाउन् भन्ने उद्देश्यले अधिकांश विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको हो ।
तिलागुफा नगरपालिका वडा नम्बर ८ मा रहेको हेर्नेमाढु आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चँदाराले किर्डाक नेपालले विद्यालयमा खानेपानी पुर्याएकाले बालबालिकालाई राहत भएको बताउनुभयो । दलित समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा दुई कोठाको पक्की भवन सहित खानेपानी सहयोग गरेको अध्यक्ष कमल चँदाराले बताउनुभयो ।
अहिले कालीका माध्यमिक विद्यालय राँचुली, हेर्नेमाढु आधारभूत विद्यालय ओखरभिटा, कलास आधारभूत विद्यालय छाप्रे, सत्यदेव आधारभूत विद्यालय जुबिथा लगायतका २२ विद्यालयमा बालमैत्री धारा सहितको पिउने पानी र शौचालय निर्माण भएका छन् ।
नगरका ३७ वटा विद्यालयमा विभिन्न शैक्षिक सहयोग पुगेको छ । नगरका शिक्षा शाखामा कार्यरत विद्यालय श्रोत व्यक्ति नविन हमालले गैरसरकारी संस्था किर्डाक लगायतले सहयोग गरिरहेको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।