धरानका मेयरले बनाए श्रमदानबाटै खानेपानी ट्याङ्की, ट्याङ्कीको नाम धन्यबाद ट्याङ्की

  वास खबर सम्वाददाता  718 पटक हेरिएको

धरान : धरान उपमहानगरपालिकामा स्थानीय बासिन्दाको श्रमदानबाट एक लाख लिटरभन्दा बढीको खानेपानी ट्याङ्की निर्माण गरिएको छ। यो ट्याङ्कीको नाम धन्यवाद खानेपानी ट्याङ्की राखिएको छ।

दैनिक पम्प चलाउँदा एक महिनाको बिजुली बिल ५३ लाख रुपियाँसम्म आएकोमा उक्त खर्च बचाउन सतहको पानी सङ्कलन गर्ने अभियान र तत्कालका लागि खानेपानी समाधान गर्न धरान वरपरको खोलाबाट पानी सङ्कलन गर्ने काम भएको धरान–१५ स्थित सेउती खोला किनारमा निर्माण गरिएको धन्यवाद खानेपानी ट्याङ्कीको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख हर्क साम्पाङ राईले बताउनुभयो।

धरान उपमहानगरपालिकामा सबैभन्दा बढी खानेपानीको समस्या रहेकोमा स्थानीय तहमा निर्वाचित भएदेखि नै खानेपानी समाधान गर्न जनताको सहयोग र श्रमदानबाट नै खानेपानीको जोहो गर्दै आएकोमा हाल एक लाख लिटरभन्दा बढीको खानेपानी ट्याङ्की निर्माण गरिएको उहाँले बताउनुभयो।

उक्त ट्याङ्की कुल ५३ लाख ८३ हजार १६२ रुपियाँ लागतमा निर्माण सम्पन्न भएको प्रोजेक्ट मेनेजर कृष्ण सुब्बाले बताउनुभयो। त्यसमध्ये हर्क साम्पाङ सपोर्ट कमिटीबाट ३१ लाख ३९ हजार ६३४ रुपियाँ सहयोग भएको हो भने उपमहानगरपालिकाबाट छ लाख ६० हजार रुपियाँ, ११ लाख ७३ हजार ५२७ रुपियाँ बराबर श्रमदान भएको छ भने चार लाख १० हजार रुपियाँ बराबर फेन्सिङ पनि श्रमदानबाट नै भएको सुब्बाले जानकारी दिनुभयो। यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

उहाँका अनुसार सुरुमा ७५ हजार लिटरको ट्याङ्की बनाउने योजना बनाइए पनि पछि क्षमता बढाएर एक लाख २३ हजार लिटरको बनेको छ। वर्षामा आउने धमिलो पानीलाई छान्नका लागि छ वटा फिल्टर बनाइएको छ। धन्यवाद खानेपानी ट्याङ्की उद्घाटन समारोहमा एक लाख रुपियाँभन्दा बढी सहयोग गर्ने दातालाई ताम्रपत्र र ५० हजार रुपियाँभन्दा बढी सहयोग गर्नेलाई कदर पत्र प्रदान गरिएको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार