
तनहुँ : मौजुदा स्रोतबाट खानेपानीको माग धान्न नसकेपछि तनहुँको ब्यास नगरपालिका स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक पछि अर्को खानेपानी आयोजना थपिरहेको छ । २०५७ सालदेखि खानेपानी वितरण गर्न थालेको संस्थाले त्यस यता तीन वटा मुहानको पानी थप गरिसकेको छ ।
तीन वटा स्रोतको पानीले समेत बढ्दो मागलाई धान्न नसकेपछि करिब २७ करोड लागतमा मादी खोलाको पानी लिफ्टिङ गर्ने काम भैरहेको छ ।
संस्थाले हाल १३ किलोमिटर टाढाको खिरखादी तथा करादी खोला मुहानको पानी ल्याएर वितरण गरिरहेको छ । यस्तै छाब्दी खोला मुहानको पानी र छाब्दी खोला विद्युतीय लिप्टिङको पानी पनि वितरण गरिरहेको छ ।
तीनैवटा स्रोतको पानी जम्मा गर्दा प्रति सेकेण्ड २१ लिटर पानी उपलब्ध गराईरहेको भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २ हजार ६ सय ५६ निजी धारा र २४ वटा संस्थागत गरी २ हजार ६ सय ८० धारा पानी वितरण गरिरहेको उपभोक्ता संस्थाका कार्यालय व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।
अहिलेकै स्रोतले माग धान्न नसकेपछि उपभोक्ता संस्थाले एक बर्षदेखि निजी धारा जडानको काम रोकेको र झण्डै १२ सय निजी धाराको माग रहेको संस्थाका अध्यक्ष चिज बहादुर दरैले जानकारी गराउनुभयो ।

नयाँ खानेपानी आयोजना सम्पन्न गरी थप १५ सय १७ घरधुरीलाई खानेपानी पु¥याउने संस्थाले लक्ष्य लिएको छ ।
भादगाउँ सहलगानी खानेपानी आयोजना २०८० साल भदौ १५ गते सम्पन्न गर्ने गरी २०७८ भदौ १६ गते पराजुली कन्स्ट्रक्सनले ठेक्का लिए पनि सम्झौता अवधि भित्र काम सम्पन्न नभएपछि म्याद थप गरेर काम गरिररहेको छ ।
कम्पनीका इन्जिनियर रबिन सिलवालका अनुसार २ वटा रिजर्भ्वायर ट्याङ्की, इलेक्ट्रोमेकानिकलको काम र करिब ४ सय मिटर मुख्य पाइपलाइन विछ्याउन बाँकी छ ।
केही समय अघि खानेपानी आयोजनाको अनुगमन गर्न पुग्नु भएका खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.रामकुमार श्रेष्ठले केही समस्या भए भने आफूभन्दा माथिल्लो तहमा रिपोर्टिङ गरेर समाधानको उपाय खोज्न सुझाव दिदै गैरजिम्मेवार तरिकाले काम नगर्न र नतिजा दिने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

उपभोक्ता समितिका पदाधिकारीहरुले भने आफूहरुको तर्फबाट ठेकेदारलाई हरतरह सहयोग गरिरहेको भए पनि ठेकेदारले काममा ढिलाई गरेको गुनासो गरेका थिए ।


622 पटक हेरिएको 

