मधेशको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव

  वास खबर सम्बाददाता  100 पटक हेरिएको

जनकपुरधाम : मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेशमा खानेपानी तथा सरसफाइको समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न खालका कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार सबल नेपाल र महुली सामुदायिक विकास केन्द्रले संयुक्तरुपमा मधेश प्रदेश सरकार र वेल्थ हंगर हिल्फेको सहयोगमा आयोजना गरेको प्रदेश स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण सम्बन्धी सिकाइ आदान–प्रदान कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले मधेश प्रदेशमा खानेपानी तथा सरसफाइको निकै समस्या रहेको र चुँडिया दोहनका कारण गर्मी याममा खानेपानीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर कामकाजलाई अगाडी बढाएको बताउनुभयो।

उहाँले प्रदेश सरकारले गर्मीयाममा हुने खानेपानी समस्या समाधानका लागि चुरे क्षेत्रमा वाटर रिर्चाजका लागि सरोकारवाला सँग छलफल पश्चात् पोखरी डयाम सहितका निमार्णका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यी विषयलाई समावेश गरेको जानकारी दिनुभयो।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले प्रदेश सरकारले खानेपानी तथा सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू सँग समन्वय र सहकार्य गर्न तयार भएको भन्दै काम गर्नका लागि आवश्यक कानुनहरू निमार्ण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभयो।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले आर्थिक अभावका कारण विपन्न बस्तीहरूमा सरसफाइ र स्वच्छताको समस्या देखिएको भन्दै प्रदेश सरकारको हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने मूल नारालाई सार्थक बनाउनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा मधेश प्रदेश सरकारका ऊर्जा सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश प्रदेशलाई ओडिएफ घोषणा गरिए पनि ग्रामीण क्षेत्रमा अझै पनि शौचालयको अभाव रहेको भन्दै खानेपानी तथा सरसफाइको समस्या समाधानका लागि मन्त्रालय मार्फत विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्न लागेको बताउनुभयो।

कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जलश्रोतको धनी रहेको नेपालमा खानेपानीको समस्या हुनु दुःखद रहेको चर्चा गर्दै व्यवस्थापकीय कमजोरीको कारण यस प्रकारको समस्या देखिने गरेको भन्दै तिनै तहका सरकारले समस्या समाधानका लागि एक  अर्कासँग तारतम्य मिलाएर काम गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो।

महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले आ आफ्नो पालिकामा खानेपानी तथा सरसफाइ र स्वच्छताका लागि गरेका कामकाजको बारेमा जानकारी गराउँदै कामकाज गर्ने वेलामा देखापरेका समस्याहरू समाधानका लागि प्रदेश सरकारसँग आग्रह गरेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार