
चितवनको रत्ननगर नगरपालिका ४ का मीनराज खनाल नगर स्तरीय अपाङ्गता समन्वय समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ दृष्टिविहीन हुनुहुन्छ ।
जहाँ ह्वीलचेयर प्रयोगकर्ता र होचा पुड्का मान्छेहरुले भेट्नै सक्दैनन् भने त्यस भित्रको अवस्था यस्तो फोहोर हुन्छ, दृष्टिविहीन व्यक्तिहरुले यसो छोयो भने हात नै गन्हाउँछ ।
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ ले अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय अपाङ्गतामैत्री बनाउने र उपयुक्त ह्वीलचेयर र्याम्प, ढोका, झ्याल, गाइडिङ्ग ब्लक र ब्रेलको अनिवार्य व्यवस्था गरिने उल्लेख छ । त्यत्ति मात्र नभई अपाङ्गता भएका व्यक्तिहरुका लागि खानेपानी र सरसफाइमा कस्तो संरचना हुनुपर्छ भन्ने पनि स्पष्ट खुलाएको छ ।
निर्देशिकामा भएको प्रावधान अनुसार खानेपानी र सरसफाइका भौतिक संरचनाहरु कत्तिका अपाङ्गतामैत्री छन् ? हामीले उहाँ सँग बुझ्न चाह्यौं । ‘बर्तमान भौतिक संरचना अपाङ्गता भएका व्यक्तिहरुको निम्ति उत्पन्न अवरोधको बीचमा कत्ति पनि तालमेल देखिँदैन । ती संरचना सबलाङ्ग व्यक्तिहरुका लागि समेत उपयुक्त छैन भने अपाङ्गता व्यक्तिका लागि उपयुक्त हुने कुरै भएन’ उहाँले भन्नुभयो ।

‘त्यस्तो कुनै उदाहरण छ ?’ प्रश्न राम्रो सँग सकिन नपाउँदै उहाँले आफूलाई परेको समस्याको बेलिबिस्तार लगाउन सुरु गर्नुभयो । ‘म चितवनबाट काठमाडौ जाने क्रममा नौबिसेको एउटा होटलमा शौच गर्न भनेर जाँदै थिएँ । एक जना सहयोगीले मलाई सहयोग गर्दै हुनुहुन्थ्यो।
बहिराहरुको लागि सांकेतिक भाषामा, दृष्टिबिहीनहरुका लागि कुनै शब्द चित्र वा ब्रेल लिपीमा, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको निम्ति हातले खोल्न र बन्द गर्न मिल्ने उचाईमा हुनुपर्छ ।
जसमा अपाङ्गता सम्बन्धी ज्ञान थिएन । म भन्दा अगाडि सानो बच्चालाई डोर्याएर उनको अभिभावक जानु भएको रहेछ । ‘नाली रहेछ, यहाँबाट जान सक्दैनौं, भो यतै बाटैतिर गरिदेऊ भन्दै ती अभिभावकले फर्काएर ल्याएको मैले सुनें ।’ त्यो सुनेपछि म पनि फर्केर आएँ । किनकि देख्ने बच्चाले पार गर्न नसक्ने ठाउँ मैले सक्छु जस्तो लागेन ।’
‘अनि के भयो ?’ थप जिज्ञासा लाग्यो । ‘नालीमा टेकें भने लडिने, खुट्टा भाँचिने वा फोहोरमा गाडिने सम्भावना भएकाले म सरक्क फर्के । पिसाब च्यापेर काठमाडौ आएपछि मात्र पिसाब गरें । हामी जस्तो अपाङ्गता भएका व्यक्तिका लागि जुन ठाउँमा पनि अवरोध नै अवरोध मात्र हुन्छ । हाम्रै नगरपालिकाको शौचालय जाने बाटोमा ठूला ठूला ब्लगहरु राखेका छन् । जहाँ सामान्य मान्छे पनि यसो नजर पुर्याएर हिडेन भने ठोक्किएर लड्ने सम्भावना छ भने दृष्टिबिहीन वा शारीरिक अपाङ्गता भएका मानिसहरुलाई सहज हुने कुरै भएन ।’

म उहाँको कुरा सुन्दै मुन्टो हल्लाएर बसें । एकछिन वातावरण चकमन्न बन्यो । अनि मैले सरसफाइ पूर्वाधारका बिषयमा थप गहिरिएर कुरा गर्ने जमर्को गरें । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना अन्तर्गत शौचालयमा हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।
त्यसमा कुनै पनि भवनमा सर्वसाधारणको प्रयोगको लागि निर्माण गरिएका शौचालय, आवास गृहमा निर्माण गरिएका शौचालय र अन्य शौचालयमा ह्वीलचेयर प्रयोगकर्ता लगायत अन्य अपाङ्गता भएका व्यक्तिको लागि प्रवेश र प्रयोगमा कुनै अवरोध हुन नहुने उल्लेख छ । तर यो व्यवस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि कल्पना भन्दा परको कुरा रहेछ ।
‘दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुका लागि फरक फरक किसिमका अवरोधहरु हुन्छन् । ती दशै किसिमका व्यक्तिहरुका लागि एउटै साझा संरचना भयो भने हामीलाई बल्ल सहज हुन्छ । तर यहाँ त दश वटा मध्ये एउटा पनि अपाङ्गता भएका व्यक्तिलाई सहज हुने खालको भौतिक संरचना छैन । खानेपानी र सरसफाइ दुवै क्षेत्रमा आजसम्म अनुकुल वातावरण प्रतिशतको आधारमा भन्ने हो भन्ने शून्य प्रतिशत छ’ उहाँले भन्नुभयो ।

उहाँ बोल्दै हुनुहुन्छ । म ध्यानमग्न भएर सुनिरहेको छु । ‘जुन ठाउँमा खानेपानीका निम्ति गएका हुन्छौं, सबैभन्दा पहिले दृष्टिबिहीनहरुका लागि कुन धारो कहाँ नेर छ भन्ने कुनै संकेत हुँदैन । त्यहाँका कोही सहयोगी वा आफू सँग गएको व्यक्ति पनि अपाङ्गतामैत्री ज्ञान भएको हुँदैन । धारो कहाँनेर छ ? कति दुरीमा छ ? कुन दिशाामा छ ? भन्ने ढंग समेत ती व्यक्तिमा हुँदैनन् ।
यसका लागि अपाङ्गतामैत्री भौतिक संरचनाको साझा मापदण्ड अनुसार त्यो धारो सबै प्रकृतिका मानिसहरुले पत्ता लगाउन सक्ने ठाउँमा हुनुपर्छ । बहिराहरुको लागि सांकेतिक भाषामा, दृष्टिबिहीनहरुका लागि कुनै शब्द चित्र वा ब्रेल लिपीमा, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको निम्ति हातले खोल्न र बन्द गर्न मिल्ने उचाईमा र त्यसभन्दा बाहिर रहेका सबै अपाङ्गता भएका व्यक्तिहरुका लागि अनुकुल हुने गरी बनाएको हुनुपर्छ । तर अहिले सम्म यस्तो संरचना कहीँ कतै पनि बनेका छैनन् ।’
‘एउटा स्पाइनल इन्जुरी भएको व्यक्तिका लागि कस्तो खालको संरसफाइ संरचना हुनुपर्छ ? हात धुने बेसिनको निश्चित उचाई कति हुनुपर्ने हो ? त्यो सम्म पनि हुँदैन । जहाँ ह्वीलचेयर प्रयोगकर्ता र होचा पुड्का मान्छेहरुले भेट्नै सक्दैनन् भने त्यस भित्रको अवस्था यस्तो फोहोर हुन्छ, दृष्टिविहीन व्यक्तिहरुले यसो छोयो भने हात नै गन्हाउँछ । त्यहाँ सरसफाइ होइन उल्टै आफ्नो सफा अंग फोहोर हुने अवस्था रहन्छ । बेसिन कहाँ छ भनेर छोयो भने हात फोहोर हुने, युरिनल बेसिन कहाँ नेर छ ? त्यो संकेत कतै पनि छैन । हातले छुँदा उल्टै हात गन्हाउँछ ।’

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकामा शौचालय भएको स्थान वा शौचालयलाई संकेत गर्ने सूचना लेखिएको ठाउँमा व्रेलमा पनि लेख्नुपर्ने र महिला शौचालय र पुरुष शौचालय छुट्याउनका लागि व्रेलमा समेत लेखिनु पर्ने उल्लेख छ । यस्तो व्रेलमा लेखिएको सूचना दृष्टिविहीन व्यक्तिले उभिएर हातले छाम्दा सहज हुने गरी सतहबाट बढीमा ४२ इन्चको उचाइमा राखिनु पर्ने भनिएको छ ।
तर यो व्यबस्था हालसम्म कागजमै सीमित छ । यस्तो खालको संरचना कहीं कतै पनि बनेका छैनन् । संरचना निर्माणको बखतमा अपाङ्गता सम्बन्धी ज्ञान भएका व्यक्तिहरुको सल्लाह बिना नै बनाउँदा यस्तो भएको मीनराजको ठहर छ ।
जो सँग विवेक नै छैन त्यही व्यक्तिले नेतृत्व पाएको हुन्छ । त्यस्तो नेतृत्वबाट काम सफल हुने कुरै भएन ।
निर्देशिकामा व्यबस्था भए अनुरुप संरचना बन्न नसक्नुमा अपाङ्गता भएका व्यक्तिहरुको अगुवा र नीति निर्माण तह देखि डिजाइन गर्ने इन्जिनियरहरु नै प्रमुख कारण ठान्नुहुन्छ मीनराज । ‘निर्देशन दिने व्यक्तिलाई अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर गए भैहाल्छ नि भन्ने खालको छ । इन्जिनियरले बजेटको कुरा र सम्झौता पत्र देखाउँछ । उनलाई सबैभन्दा कम रकमले भ्याउने संरचना निर्माण गर्नुपर्छ भन्ने छ भने सबै इन्जिनियरमा त्यो ज्ञान छ भन्ने पनि हुँदैन । नीति निर्माण गर्ने र निर्देशन दिने तहमा अपाङ्गता व्यक्तिहरुको आवश्यकताको सवालमा अपाङ्गता सञ्जाल नै कहिल्यै पनि सफल हुन सकेन । प्रत्येक कार्यक्रमहरु देखावटीका निम्ति हुन्छन् ।
त्यो नियत हो वा कमजोरी हो थाहा छैन । यो तहमा गएर अध्ययन र अनुसन्धान भएकै छैन । कस्तो किसिमको संरचना आवश्यक छ भन्ने ज्ञान र त्यो हासिल गर्ने हुटहुटी नै उनीहरुमा छैन भने बिना लक्ष्यको उपलब्धी हामीले कल्पना गर्न नै सक्दैनौ ।
अपाङ्गता अभियन्ताहरु नभएका होइनन् । तर ती सबै संघसंस्थाहरु योजनाबद्ध तरिकाले अगाडि बढेको पाईदैन । कार्यान्वयन गर्ने मान्छेको दुईवटा कमजोरी हुन्छन्, एउटा नियत अर्को विवेक वा ज्ञानको अभाव । जो सँग विवेक नै छैन त्यही व्यक्तिले नेतृत्व पाएको हुन्छ । त्यस्तो नेतृत्वबाट काम सफल हुने कुरै भएन । त्यस बाहेक राजनैतिक हस्तक्षेप पनि एउटा कारण हो भने पर्याप्त ज्ञान, तालिम र अध्ययन गर्ने इच्छा शक्तिको अभाव पनि छ । यी सबै कारणले गर्दा अपाङ्गतामैत्री वातावरण हाम्रो पहुँच भन्दा निक्कै टाढा टाढा भएको अनुभूति भएको छ ।’


586 पटक हेरिएको 

