मकवानपुरको भीमफेदी गाउँपालिका–५ की सरिता मगरका लागि यात्रा केवल दूरीको कुरा होइन, यो धैर्य, सहनशीलता र आत्मसंयमको परीक्षा हो। ह्वीलचेयर प्रयोगकर्ता सरितासँग सधैं तीन वस्तु साथमै हुन्छन्—ह्वीलचेयर, काठको टुल र एउटा चप्पल। अपाङ्गतामैत्री शौचालय नहुँदा चार पाउ टेकेर शौचालय जानुपर्ने बाध्यताले यी वस्तुहरू उहाँका स्थायी सहयात्री बनेका छन्।
टाढाको यात्रा परेमा सरिताको झोलामा अमला, सुकुमेल वा ल्वाङ पनि अनिवार्य हुन्छ। बाटोमा अपाङ्गतामैत्री शौचालय नहुँदा पानी नखाई यात्रा गर्नुपर्ने र त्यसले ओठमुख सुक्ने समस्या सिर्जना गर्ने भएकाले यिनै वस्तुले उहाँलाई केही राहत दिन्छन्।
‘पानी नखाई हिँड्दा मुख सुकेर असहज हुन्छ,’ सरिता भन्नुहुन्छ, ‘त्यसैले अमला वा सुकुमेल मुखमा हालेर हिँड्छु, अमला भयो भने मुख रसाइरहन्छ।’
सरिताको कम्मरभन्दा मुनिको भाग चल्दैन। सात वर्षको उमेरमा टाइफाइड भएपछि लगाइएको खोपका क्रममा सुई हड्डीमा छोएपछि पक्षाघात भएको उहाँ बताउनुहुन्छ। अहिले उहाँ ह्वीलचेयर प्रयोगकर्ता हुनुहुन्छ र पेशाले सिलाई–कटाई प्रशिक्षक। प्रशिक्षणका लागि देशका विभिन्न ठाउँ पुगिरहनुपर्ने उहाँको दैनिकी हो।
तर यात्राको क्रममा ह्वीलचेयर प्रयोगकर्तामैत्री शौचालय नहुँदा उहाँले पानी नखाई गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता झेलिरहनुभएको छ।
‘यहाँबाट विराटनगर वा काठमाडौं जाँदा पनि म पानी नखाईकनै गन्तव्यमा पुगेपछि मात्र शौचालय जान्छु,’ सरिता भन्नुहुन्छ, ‘बाटोमा शौचालयको सुविधा हुँदैन, कतिपय होटलमा भए पनि एकदमै अप्ठ्यारो ठाउँमा हुन्छ।’

लामो समयसम्म पानी नपिई यात्रा गर्दा स्वास्थ्यमा पर्ने असरबारे सरिता सचेत हुनुहुन्छ। ‘पिसाब पहेंलो आउने, पोल्ने हुन्छ। मुख पनि धेरै सुक्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले अमला, सुकुमेल मुखमा हालेर हिँड्छु।’
तर तत्कालको असहजताभन्दा पनि भविष्यमा मृगौलाजस्ता अंगमा पर्न सक्ने दीर्घकालीन जोखिमले उहाँलाई बढी चिन्तित बनाउने गरेको छ।
‘कहिलेकाहीँ हातखुट्टा सुन्नियो भने पनि पानी नपिउनाले मृगौलामा समस्या आयो कि भनेर झस्किन्छु,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले तीन–चार महिनामा एकपटक होलबडी चेकअप गराइरहेको हुन्छु।’
यात्रामा मात्र होइन, तालिम सञ्चालन हुने स्थानहरूमा पनि अपाङ्गतामैत्री शौचालय नहुँदा सरिताले भोग्नुपरेका सास्ती अनगिन्ती छन्। प्रायः शौचालय जाँदा एउटा हातमा चप्पल र अर्को हातमा टुल बोकेर खुड्किला पार गर्नुपर्ने उहाँको बाध्यता छ। पाँच तला माथि तालिम हल र भुईँतलामा शौचालय भएको संरचना उहाँका लागि झनै कष्टकर हुने गर्छ।
अहिले पनि धेरै ठाउँमा अपाङ्गतामैत्री संरचना बन्न बाँकी रहेको र बनेका संरचना पनि व्यवहारिक रूपमा अपाङ्गतामैत्री नभएको उहाँको गुनासो छ।
सार्वजनिक शौचालयमा सिँढी चढ्न नसकेको, कमोड नहुँदा हात टेकेर शौच गर्नुपरेको र शौचालयमा पानी नहुँदा हातसमेत धुन नपाएका दिन सम्झिँदा उहाँको आँखा आज पनि रसाउँछ।
‘हात टेकेर दिसापिसाब ग¥यौँ, हात धुने पानी पनि हुँदैन,’ उहाँ भन्नुहुन्छ, ‘ह्वीलचेयर लिएर जाँदा ह्वीलचेयर जाने ठाउँ हुँदैन, त्यस्तो बेला साह्रै आपत पर्छ।’
ह्वीलचेयर प्रयोगकर्तामैत्री शौचालय नहुँदा भोग्नुपरेका धेरै घटनामध्ये हेटौंडा बसपार्कको एउटा अनुभव उहाँको स्मृतिमा गहिरो गरी बसेको छ।
‘बसपार्कको शौचालय जाँदा हातमा चप्पल लगाएर गएको थिएँ,’ उहाँ विगत सम्झनुहुन्छ, ‘जाने बाटो भत्किएको, सिँढी भएको, सिँढी चढेर पनि धेरै भित्र जानुपर्ने। बल्लतल्ल शौचालय पुगेँ, तर ढोका जीर्ण थियो। टिनको ढोकामा पिसाबले खिया लागेर प्वालैप्वाल, भित्र अँध्यारो, दुर्गन्धले सासै फेर्न गाह्रो। भुईँमा उस्तै फोहोर, तर शौच त गर्नु नै थियो।’
सबैभन्दा पीडादायी कुरा चुकुल पाँच फिट माथि हुनु थियो।
‘तीन फिटको उचाइमा चुकुल भए तन्केर भए पनि लगाउन सकिन्थ्यो,’ उहाँ भन्नुहुन्छ।

ह्वीलचेयर प्रयोगकर्ताका लागि कस्तो हुनुपर्छ शौचालय?
सरकारी कार्यालय, सार्वजनिक शौचालय र व्यवसायिक प्रयोजनका भवनमा अपाङ्गतामैत्री शौचालय अनिवार्य गर्ने प्रावधान भए पनि व्यवहारमा त्यस्ता शौचालय निकै कम छन्। अझ, अपाङ्गतामैत्री भनेर बनाइएका धेरै शौचालय पनि वास्तविक रूपमा अपाङ्गतामैत्री छैनन्।
एक ह्वीलचेयर प्रयोगकर्ताका लागि शौचालय कस्तो हुनुपर्छ भन्ने प्रश्नमा सरिता स्पष्ट उत्तर दिनुहुन्छ।
‘शौचालय छिर्ने ठाउँमा ढल्किएको र्याम्प हुनुपर्छ, ताकि ह्वीलचेयर सजिलै गुडाउँदै लैजान सकियोस्। ढोकाको चौडाइ ह्वीलचेयरभन्दा कम्तीमा ४–५ इन्च ठूलो हुनुपर्छ, ताकि प्रवेशमा अवरोध नहोस्। शौचालयभित्र प्रशस्त ठाउँ हुनुपर्छ, जसले ह्वीलचेयर घुमाउन सजिलो बनाओस्। साथै, कमोड नजिकै भित्तामा मजबुत रेलिङ हुनुपर्छ, ताकि ह्वीलचेयरबाट समातेर सजिलै कमोडमा बस्न सकियोस्।’
यस्ता आधारभूत मापदण्ड पूरा भएमा आफूजस्ता ह्वीलचेयर प्रयोगकर्ताले कसैको सहारा बिना नै शौचालय प्रयोग गर्न सक्ने उहाँ बताउनुहुन्छ।


174 पटक हेरिएको 

