सरसफाइको कुरा गर्दा सबैभन्दा पहिले चर्पीकै नाम अगाडि आउँछ । सरसफाइको एउटा मुख्य सूचक चर्पीलाई नै लिएका छौं । शहरी क्षेत्रको सरसफाइको कुरा गर्दा शहरमा चर्पी नभएको होइन, ग्रामीण क्षेत्रमा भन्दा बढी छ । शहरी क्षेत्रमा चर्पी बनाउन सक्ने परिवारहरु पनि छन् । तर शहरमा एकनासका मानिसहरु हुँदैनन्, विभिन्न खालका मानिसहरुको बसोबास हुन्छ । बाहिरबाट आउने जाने क्रम चलिरहन्छ, सुकुम्बासी बस्तीहरु हुन्छन्, शहरी गरिबहरु पनि हुन्छन् ।
त्यसैले शहरी क्षेत्रमा चर्पीको संख्या ९०/९५ प्रतिशत पुगेको होला । तर सय प्रतिशत पु-याउनलाई ठूलो चुनौती छ । हामीले कति वटा शहरहरु खुला दिसामुक्त भए भनेर हेर्ने हो भने गाउँपालिकाहरुको तुलनामा नगरपालिकाहरु निक्कै पछि देखिन्छन् । खुला दिसामुक्त भएका जिल्लाहरु नै हेर्ने हो भने अक्सर अन्त्यमा खुलादिसामुक्त हुनेमा सदरमुकाम र त्यहाँको नगरपालिका नै हुन्छन् । त्यसैले शहरमा खुला दिसामुक्त गर्न निक्कै चुनौतीपूर्ण छ ।
सरसफाइको चुनौती
शहरमा चर्पी बनाउन प्राविधिक हिसाबले पनि समस्या देख्छु । शहरमा कुनै कुनै ठाउँमा चर्पी बनाउने ठाउँ नै हुँदैन । चर्पी बनाइहाले पनि त्यसको सेफ्टिक ट्याङ्क बनाउन मुश्किल छ । अर्को सामाजिक हिसाबले पनि यो निक्कै चुनौतीपूर्ण छ । किनकि शहरमा विभिन्न खालका मानिसहरु हुन्छन् । ती सबैलाई संगठित गरेर अगाडि बढाउन जत्ति ग्रामीण क्षेत्रमा सजिलो हुन्छ, त्यसको तुलनामा शहरमा कयौं गुणा गाह्रो छ । शहरमा मानिसहरु आ – आफ्नो ध्याउन्नमा कुदिरहेका हुन्छन् । ती सबैलाई एउटा सामाजिक अभियानमा लगाउन निक्कै गाह्रो काम हो । त्यसैले प्राविधिक र सामाजिक दुवै कारणले पनि शहरमा सरसफाइको काम चुनौतीपूर्ण छ ।
ग्रामीण क्षेत्रमा चर्पी बनाएपछि सरसफाइको काम पुग्यो भने पनि भयो । किनकि चर्पीको फोहोर जुन छ, धेरैजसो केसमा खाल्डोमा जान्छ । त्यो खाल्डो भरिएपछि अर्को खाल्डो बनाउन सकिन्छ इत्यादि । तर शहरमा सेफ्टिक ट्याङ्क बनाउनुपर्ने हुन्छ । शहरमा ढल प्रशोधन गर्नुपर्छ । अनि शहरमा फोहोरमैलाको पनि ठूलो समस्या हुन्छ । अर्को कुरा शहरमा बाहिर हिडडुल गर्ने मानिसहरु धेरै हुन्छन् जसले गर्दा सार्वजनिक शौचालयको आवश्यकता पनि धेरै हुन्छ । यी सबै कुरा सरसफाइसँग सम्बन्धित विषयहरु हुन् ।
दिसा व्यवस्थापनको तरिका
अब कुरा आउँछ चर्पी त बनायो चर्पीको दिसा कहाँ जान्छ ? चर्पी बनाएपछि सेफ्टिक ट्याङ्क बनाउनैपर्छ । सेफ्टिक ट्याङ्क भनेको फोहोरलाई जम्मा गर्ने ट्याङ्क मात्र होइन, त्यो त एउटा प्रशोधन केन्द्र नै हो । तसर्थ यसको डिजाइन र यसको निर्माण कसरी भइरहेको छ भनेर हेर्नुपर्छ ।
त्यसपछि सेफ्टिक ट्याङ्कमा थिग्रेको फोहोरलाई के गर्ने ? जसलाई दिसाजन्य लेदो भनिन्छ । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
त्यसैगरी सेफ्टिक ट्याङ्कबाट निकालिने तरल फोहोर छ, अर्थात कतै कतै सेफ्टिक ट्याङ्क नै नराखी सीधै ढलमा मिसाएको पनि भेटिन्छ । ढलको फोहोर पानी प्रशोधन कसरी गर्ने त्यसमा पनि ध्यान दिनुपर्छ । दिसाजन्य लेदो र ढल यी दुवै चीज फोहोर पानीसँग सम्बन्धित छ ।
दिसाजन्य लेदोको सवालमा जब सेफ्टिक ट्याङ्क भरिन्छ, तब त्यसलाई खाली गर्नुपर्ने हुन्छ । त्यो खाली गर्ने तीन वटा उपाय छन् । कि मानिसले त्यत्तिकै छोडिदिन्छन् र अर्को खाल्डोको प्रयोग गर्छन्, कि चाहिं आफ्नै प्रयासमा ट्याङ्क सफा गर्छन् कि भने प्राइभेट सेक्टर (जसले सेफ्टिक ट्याङ्क नै सफा गर्ने काम गर्छ) लाई बोलाएर सफा गर्न लगाउँछन् ।
जसरी सफा गरेपनि त्यो भनेको ट्याङकबाट निकाल्ने मात्र भयो । समस्या त त्यसपछि शुरु हुन्छ । दिसाजन्य लेदो भनेको अत्यन्तै प्रदुषण गर्ने खालको फोहोर पानी हो । त्यसलाई धेरैजसो अवस्थामा सीधै लगेर खोलामा खसालिन्छ । अथवा ढलमा खन्याइन्छ । अन्ततः जाने भनेको खोलामा नै हो ।
फोहोरपानी प्रशोधन केन्द्रको अवस्था
हाम्रो देशमा दिसाजन्य लेदो प्रशोधन गर्ने ठाउँ एकदमै कम छन् । एक दुईवटा ठाउँ छन्, जहाँ दिसाजन्य लेदोलाई प्रशोधन गरेर मात्र वातावरणमा पठाइन्छ । फोहोरपानीको प्रशोधन केन्द्र हुँदै नभएका होइनन् तर पुग्दो छैन, अर्को कुरा भएका प्रशोधन केन्द्र पनि सञ्चालनमा छैनन् । अहिले काठमाडौको गुहेश्वरीमा रहेको फोहोर पानी प्रशोधन केन्द्र आंशिक रुपमा सञ्चालित छ । दोस्रो ठूलो सुन्दरीघाटमा छ, वल्र्ड बैंकको सहयोगमा निर्माण भएको यो प्रशोधन केन्द्र सन्चालनमा आएको छैन । पाटनमा एउटा छ, भक्तपुरमा दुई वटा छन् । यिनीहरु कुनै पनि सञ्चालनमा छैनन् ।
एक दुई वटा समुदायले सन्चालन र व्यवस्थापन गर्दै आएका छन् तर सानो क्षमताका । सरकारले सन्चालनमा ल्याउनुपर्ने ठूलो क्षमताको प्रशोधन केन्द्र हो । यद्यापि सरकारले एसियाली विकास बैंकको सहयोगमा ती फोहोर पानी प्रशोधन केन्द्रहरु पुनः सञ्चालनमा ल्याउनका लागि आयोजना सञ्चालन गरिरहेको छ ।
पुनः प्रयोग गर्न सकिन्छ दिसाजन्य लेदो
दिसाजन्य लेदोको राम्रो पक्ष, के हो भने सेफ्टिक ट्याङ्कबाटै संकलन गरेरै लैजान सकिन्छ । फोहोरमैला जस्तो बाटोभरि फैलिने होइन । सेफ्टिक ट्याङ्कबाट तानेर लैजान सकिन्छ । दोस्रो कुरा यो पुनः प्रयोग गर्न सकिने खालको फोहोर हो । दिसा भनेको मलको रुपमा पुनः प्रयोग गर्न सकिन्छ । कुनै कुनै अवस्थामा त्यसबाट उर्जा पनि निकाल्न सकिन्छ, तर उर्जा धेरै आउँदैन । मलको रुपमै प्रयोग गर्ने हो भने त्यसलाई सुकाएर प्रयोग गर्न सकिन्छ । यो ठूलो प्रविधि हुँदै होइन ।
हामीले पहिले पनि यसको प्रयोग गथ्र्यौ । धेरै बर्ष पहिले जर्मनहरुको सहयोगमा भक्तपुरमा फोहोर प्रशोधन केन्द्र बनेको थियो । त्यसबेला उहाँहरुको गुनासो के थियो भने हामीले त्यत्रो प्लान्ट बनायौं, ढलहरु विछ्यायौं, मान्छेहरुले ढल फोडेर ढलको पानी लिदो रहेछ । पछि बुझ्दै जाँदा किसानहरुलाई मल चाहिदो रहेछ । यसर्थ हामीले पहिले देखि नै प्रयोग गर्दै आएका र्छौ, त्यसलाई अलिकति व्यवस्थित मात्र गर्ने हो । वरिपरिका समुदायलाई असर नपर्ने गरी एकठाउँमा लगेर सुकाउने हो भने हाम्रो जस्तो कृषि प्रधान देशलाई फाइदा नै गर्छ ।
यु.एन. ह्याविट्याटका दक्षिण एसिया क्षेत्रीय सल्लाहकार, भुषण तुलाधरसँग गरिएको कुराकानीमा आधारित । शहरी सरसफाइको ठूलो चुनौतीका रुपमा रहेको ठोस फोहोरमैला व्यवस्थापनको उपायका विषयमा उहाँ सँग गरिएको कुराकानी अर्को श्रृंखलामा प्रस्तुत गर्नेछौं ।


1066 पटक हेरिएको 

