आधारभूत खानेपानीको पहुँच ८४ प्रतिशत जनसंख्यामा मात्र,

१४४ वटा क्रमागत खानेपानी योजना चालू

बैतडी : बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पुर्‍याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार बैतडीका १० स्थानीय तह र ८४ वडामा करिब ४५ हजार घरधुरी छन्। पहुँचबाट टाढा रहेका घरमा खानेपानी पुर्‍याउन आठ वटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन्।

उहाँका अनुसार अग्लो डाँडा रहेका बस्तीमा खानेपानी पुर्‍याउन खोलाबाट पानी तान्न आठ वटा लिफ्टिङ प्रविधिका योजना बनिरहेका छन्। बाँकी रहेका बस्तीमा छिट्टै खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ।

बैतडीको मेलौली नगरपालिका, सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा पानीको धारा पुर्‍याउने लक्ष्यसाथ काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ। सिगास गाउँपालिका–३, मैनोलामा एक हजार मिटर लामो लिफ्ट प्रविधिबाट पानी पुगेपछि धारा निर्माण भइरहेको उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो।

मेलौली नगरपालिकाको काँडा, लामालेक र मेलौली बजारका लागि सुर्नया नदीबाट लिफ्ट गरेर पानी तान्ने काम अन्तिम चरणमा पुगेको छ। मेलौलीमा खानेपानी नहुँदा घोडा र खच्चरमा पानी बोकेर खानुपर्ने अवस्था छिटै अन्त्य हुन लागेकोमा खुसी लागेको स्थानीय उपभोक्ता विजयसिंह नायकले बताउनुभयो। उहाँले लिफ्ट प्रविधिबाट पानी तान्ने र वितरण गर्ने ट्याङ्की बनिसकेकाले धारा निर्माण भइरहेको बताउनुभयो।

जलवायु परिवर्तन, जथाभाबी सडक निर्माण र पानीका मुहानमा दुईवटा स्थानीय तह बीच विवादका कारण शतप्रतिशत घरमा खानेपानी पुर्‍याउन असहज भइरहेको डिभिजन खानेपानी कार्यालय बैतडीले जानकारी दिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाबीच खानेपानीको मुहान विवादका कारण सुर्नया गाउँपालिकाको धर्मघर र गोयली गाउँमा खानेपानी पु(याउन नसकिएको डिभिजन खानेपानी कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो। यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ । यहाँ प्रत्येक वर्ष खानेपानीका लागि लाखौँ रुपियाँको बजेट आउने गरे पनि मुहान विवादका कारण बजेट फ्रिज हुने गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार