
उदयपुर : उदयपुरको सदरमुकामबासीका लागि नयाँ योजनाको शिलान्यास गरिएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० मा मुहान रहने आयोजनाको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । त्रियुगा नगरपालिकाका सदरमुकाम आसपासका क्षेत्र चार हजार घरघुरीलाई स्वस्च्छ खानेपानी खुवाउने आयोजनाको लक्ष्य रहेको गाईघाट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिनुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ३० करोड लागतमा वडा नम्बर ११, १२ र १३ का बस्तिमा खानेपानी बिस्तार गर्ने योजनाका साथ निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको उहाँले बताउनुभयो। योजना अन्तर्गत सात लाख लिटरको खानेपानी ट्याकी, टिमेन्ट प्लान्ट, अग्नी नियन्त्रण स्टेसन ५ वटा, कार्यालय भवन, पम्प हाउस लगाएतका संरचना निर्माण हुने अध्यक्ष बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार तीन वटा वडामा एक लाख ५ हजार मिटर खानेपानीको लाईन विस्तार गरिने र तीन हजार ८ सय ८० घर परिवारलाई खानेपानी धारा वितरण गरिनेछ।
कार्यक्रममा मेयर बस्नेतले तोकिएको समयमा गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकामा हाल २५ वटा खानेपानीका योजनाहरु संचालनमा रहेकाले आगामी दुई बर्ष भित्र सबै खानेपानी योजना सम्पन्न गर्ने गरी नगरपालिका अगाडी बढेको बताउनुभयो ।
खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा उपमेयर महेश्वरी राईले जलवायु परिवर्तनका कारण दिनदिनै पानीका स्रोतहरु सुक्दै जाँदा पिउने पानीको अभाव हुन थालेकाले स्थायित्व हुने गरी निर्माण कार्य अघि बढाउन सुझाब दिनुभयो । उहाँले सीमित स्रोत साधनले बढ्दो जनघनत्वलाई ढाक्न सक्ने अवस्था नरहेकाले दीर्घकालिन सोचका साथ योजना बनाउनुपर्ने बताउनुभयो ।


538 पटक हेरिएको 

