
काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्चीको पानी निरन्तर उपलब्ध गराउन नसकिने निष्कर्षका आधारमा उपत्यकावासीलाई बाह्रै महिना खानेपानी व्यवस्थापन गर्न लिफ्टिङ र जलाशययुक्त आयोजनाहरु अघि बढाएको छ । खानेपानी मन्त्रालयले मकवानपुरको सिस्नेरी र भक्तपुरको महादेव खोलालाई मेलम्चीको वैकल्पिक स्रोतका रूपमा नयाँ योजना अघि बढाएको छ ।
बाढीपहिरोका कारण मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न नसकिने र अहिलेको स्रोतले उपत्यकाको माग धान्न कठिन भएपछि नयाँ योजना सुरु गरेको हो । ती आयोजनामध्ये उपत्यकाबाट करिब २१ किमि दूरीमा रहेको सिस्नेरी खोलाबाट बर्खामा दैनिक १४ करोड लिटर पानी लिफ्टिङ गरेर ल्याउने योजनाको परामर्शदाता नियुक्ति गरेर विस्तृत अध्ययन सुरु गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका अनुसार सिस्नेरीको लिफ्टिङ आयोजनाको विस्तृत अध्ययनको जिम्मेवारी बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताका रूपमा नियुक्ति गरिएको छ । बोर्डका सूचना अधिकारी सन्तोष बरालका अनुसार करिब साढे सात करोडको लागतमा परामर्शदाता बीडीएले विस्तृत अध्ययन सुरु गरिसकेको छ । उक्त योजनाअन्तर्गत करिब चार सय मिटर हेडको लिफ्टिङ गरेर ल्याएको पानी ललितपुरको सैंबु वा भैंसेपाटीमा खसालिनेछ ।
सिस्नेरीमा ड्याम बनाएर ल्याउने पानीको लाइनका लागि हाल निर्माण भइरहेको द्रुतमार्गको बाटो प्रयोग गर्ने योजना रहेको छ । बोर्डका इन्जिनियर नवीन तिवारीका अनुसार द्रुतमार्गको बाटो ल्याउँदा मुआब्जा दिनु नपर्ने भएकाले पनि योजना सञ्चालन गर्न सहज हुनेछ । सचिव गेलाले दातृ निकायको सहयोग लिएर भए पनि आयोजना निर्माणलाई तीव्रता दिने बताए ।
जलाशययुक्त खानेपानी आयोजनाको अध्ययन
मेलम्चीको पानी तेस्रो पटक उपत्यकामा वितरण गरिएको छ । तर बाढीपहिरोका कारण २०७७ चैतमा पहिलो पटक वितरण गरिएको पानी पटक–पटक बन्द गरिँदै आएको छ । २०७८ असारको बाढीले मेलम्चीको हेडवर्क्स क्षति गरेपछि बर्खामा पानी सुरुङमा पठाउन मिल्दैन ।
दोस्रो पटक २०७८ चैतमा वितरण गरिएको पानी तीन महिनामा २०७९ जेठमा बन्द गरिएको थियो । बाढीले क्षति गरेको हेडवर्क्सको मर्मत गरेर गत मंसिरमा पुनः पानी सुरुङमा प्रवेश गराइएको थियो । बाढीपहिरोको सम्भावना यथावत् रहेकाले मेलम्चीको पानी नियमित वितरणमा समस्या देखिएको आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही अवस्थामा अहिले पनि बर्खामा पानी बन्द गर्नुपर्छ ।


596 पटक हेरिएको 

