निर्माण सम्पन्न नहुँदै चर्किएको ट्याङ्की ठेकेदार आफैले भत्कायो

  वास खबर सम्वाददाता  903 पटक हेरिएको

खोटाङ : खोटाङको साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ खानेपानी आयोजनाको फेरो सिमेन्ट ट्याङ्क निर्माण सम्पन्न नहुँदै चर्किएपछि ठेकेदार कम्पनी आफैले भत्काएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बिजयखर्क स्थित फिरफिरे ट्यांकी डाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको फेरोसिमेन्ट ट्याङ्क वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनीले भत्काएको हो ।

निर्माण सम्पन्न नहुँदै चर्किएपछि भत्काएर पुनः बनाउनुपर्ने चौतर्फी आवाज उठेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि स्वयंले नयाँ ट्यांकी बनाउने गरी ट्यांकी फोडेको हो ।

लिफ्टिङ आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

लिफ्टिङ आयोजनाका लागि वितरण लाईन तर्फ पाँच वटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्नेछ । पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरण लाईन ट्यांकी आरसिसि बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।

बिजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिने गरी २०७९ साउन ५ गतेदेखि साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको काम सुरु गरिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङ मार्फत भ्याट सहित २९ करोड १३ लाख ९८ हजार ९९० रुपैयाँमा सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ साउन ४ गते सम्ममा आयोजनाको काम सम्पन्न गरी खानेपानी वितरण गरिसक्नुपर्नेछ ।

ठेकेदार कम्पनीले अन्य ठाउँमा समेत कमजोर संरचना बनाएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित पानीले भिजाउने काम नगरिएको स्थानीय बासिन्दा बताउँछन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार