लागत स्टिमेटको २८ प्रतिशत कम लगानीमा बनेको कण्ठीपुर खानेपानी आयोजना

  वास खबर सम्वाददाता  619 पटक हेरिएको

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित कण्ठीपुर खानेपानी आयोजना लागत इस्टिमेट भन्दा २८ प्रतिशत कम लगानीमा सम्पन्न भएको छ। १२ करोड ८४ लाख ७१ हजार ९१६ रुपैयाँ लागत इस्टिमेट रहेको आयोजना नौ करोड १३ लाख २२ हजार २९४ रुपैयाँ अर्थात् कुल लागत स्टिमेटको २८ प्रतिशत कम लगानीमा बनेको संस्थानका महाप्रबन्धक इश्वरप्रसादले बताउनुभयो। उहाँले कम समय र लागतमा गुणस्तरीय कार्य भएको दाबी गर्नुभयो ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जद्वारा निर्मित आयोजनाको हालै खानेपानीमन्त्री अब्दुल खानले उदघाटन गर्नुभयो । खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री खानले स्वच्छ खानेपानी खान पाउनु सबै नेपालीको मौलिक हक भएकाले सम्पूर्ण जनताको घर घरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालले सन् २०३० सम्ममा सम्पूर्ण नागरिकको पहुँचमा स्वच्छ खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको बताउँदै उहाँले सम्पूर्ण नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने कार्यमा सम्बद्ध सबै निकाय आ–आफ्नो स्थानबाट पहल गर्न अनुरोध गर्नुभयो ।

“सरकारी प्रतिबद्धता पूरा गर्ने गरी हामी लागेका छौं, सबै निकायले सन २०३० सम्म सम्पूर्ण नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउने गरी लाग्न म अनुरोध गर्दछु ।” उहाँले भन्नुभयो । खानेपानी मन्त्रालय सम्बद्ध संस्थाहरुले उत्पादन गर्ने पानी गुणस्तरीय पानी भएकाले सम्पूर्ण नागरिकलाई पानीको गुणस्तरीयतामा शंका नगर्न मन्त्री खानले आग्रह गर्नुभयो। “निजी कम्पनीहरूले उत्पादन गरेको पानीभन्दा संस्थानले उपलब्ध गराउने पानी राम्रो भएकोले बिना हिच्किचाहट यो पानी पिउन आग्रह गर्दछु” उहाँले भन्नुभयो ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सबै नेपालीलाई स्वच्छ उपलब्ध गराउन सरकारले ‘एक घर एक धारा’को अवधारणा ल्याएको बताउनुभयो । उहाँले खानेपानीका योजना ल्याइसकेपछि त्यसलाई सम्पन्न गरी सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । त्यसका लागि नेपाल खानेपानी संस्थानको क्षमता वृद्धि लगायत रिक्त रहेका दरबन्दी पूर्ति गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।

आयोजना अन्तर्गत करिब दुई करोडको लागतमा खानेपानी ट्याँकी निर्माण भएको छ भने ६ करोड ३७ लाखको लागतमा एचडीपीई पाइपलाइन विस्तार भएको संस्थानका महाप्रबन्धक इश्वरप्रसादले जानकारी गराउनुभयो । त्यस्तै १२ लाख २२ हजार ३९४ को लागतमा विद्युतीकरण विस्तार, ११ लाख २६ हजार पम्प हाउस निर्माण, १३ लाख ८ हजारको अपरेटर हाउस निर्माण, ११ लाख २२ हजारको कम्पाउण्ड वाल निर्माण र २८ लाख १२ हजारको लागतमा वेल निर्माण लगायत कार्य भएको उहाँले जानकारी दिनुभयो ।

२०७८ असार देखि सुरु भएको आयोजना २०७९ कात्तिक २८ गते सम्पन्न भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका २३ वडा मध्ये १७ वडामा खानेपानी संस्थानद्वारा सेवा प्रदान भइरहेको छ भने दैनिक ९ देखि १० घण्टा पानी आपूर्ति भइरहेको छ । बाँकी ६ वटा वडा मध्ये वडा नम्बर १९ मा आलानगर कण्ठीपुर आयोजना सम्पन्न भई उद्घाटन भएको संस्थानले जनाएको छ ।

उपमहानगरपालिकामा कुल एक लाख ३८ हजार ९५१ जनसंख्या रहेकोमा वडा नम्बर १९ मा जनसंख्याको ६ प्रतिशत अर्थात् ८ हजार ५१७ जनाले उक्त आयोजनाबाट पानी उपभोग गर्न पाउने बताइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार