जंगलभित्र सोलार जडित पानी पोखरी

  वास खबर सम्वाददाता  1313 पटक हेरिएको

बाँके : बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तल लगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी सुकेकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजना अनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो । ‘बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ’ उहाँले भन्नुभयो ‘सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्’

प्रमुख संरक्षण अधिकृत शाहका अनुसार निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोल अनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ ।

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिनुभयो। शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदान समेत बनाउँदै जाने योजना रहेको बताउनुभयो ।

कृत्रिम पोखरीको निर्माणले जमिन चिस्यान भई पुरानो मूलमा पानी पलाउन सक्ने, भूमिगत पानीको रिचार्ज हुने र हरियाली प्रबर्द्वनमा समेत टेवा पुग्ने देखिन्छ ।  निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्न सके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास हुने उहाँले बताउनुभयो । ।

‘यसले मानव र वन्यजन्तु बीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्नेछ’, शाहले भन्नुभयो। वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने बताइएको छ । निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघ लगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जनाएको छ ।

उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । बाघको संख्या अहिले २५ रहेको छ । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार