बृहत धौलिगाड खानेपानी आयोजनाको काममा तीव्रता

दुवै प्याकेजको काम द्रुत गतिमा चल्दै

  वास खबर सम्वाददाता  491 पटक हेरिएको

जुम्ला : जुम्लामा निर्माणाधीन राष्ट्रिय महत्वको बृहत् धौलिघाड खानेपानी आयोजनाले गति लिँदा जुम्ली नागरिक उत्साहित भएका छन् । उक्त आयोजनाको २०६६ सालदेखि निर्माण सुरु भएको थियो । बीचमा बजेट अभावसंँगै नागरिकको निष्क्रियताले आयोजना अलपत्र पर्‍यो ।

करिब साढे दुई दशक समय अस्तव्यस्त बनेको आयोजनाले गति लिँदा यहाँका लाभान्वित समुदाय उत्साहित भएका हुन् । धौलिगाड खानेपानी आयोजनाको पछिल्लो प्रगति तथा भविष्यमा आइपर्ने समस्या समाधानबारे तातोपानी गाउँपालिका–२ मा अन्तरक्रिया गरिएको छ । तत्कालीन संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले गत वर्ष धौलिगाड खानेपानी आयोजना शिलान्यास गर्नुभएको थियो ।

अन्तरक्रियामा सहभागी स्थानीयले धौलिघाड आयोजनाले वर्षौंदेखि खानेपानी अभावका समस्या अन्त्य गर्ने आशा व्यक्त गरे । ‘हामीले धौलिघाड आयोजनाबारे सुनेका मात्र थियौं । वास्तविकता थाहा थिएन ।’ तातोपानी–२ का स्थानीय मुनबहादुर डाँगीले भन्नुभयो, ‘आयोजनाको उद्देश्यबारे बुझ्दा खुसी लाग्यो । विगतमा पानीकै लागि हुने सामाजिक द्वन्द्व पनि अन्त्य हुने भयो । चार हजार मिटर उचाइबाट घरघरमा पानी आउने कुरा आफैमा गौरवको विषय हो । यसलाई निर्धारित समयमै सम्पन्न गर्न नागरिकको भूमिका सकारात्मक हुन जरुरी छ ।’

त्यस्तै आयोजनालाई सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिका आवश्यक रहेको तातोपानी–२ का पूर्ववडाध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो । “विकास चाहने तर सहयोग नगर्ने, आफ्नो एक बित्ता जमिन नछा्ड्ने सरकारी लाभ लिन खोज्ने प्रवृत्ति छ । जसले गर्दा विकास बाधक हामी आफै बन्छौं । राष्ट्रिय महत्वको आयोजना बन्नु नै उत्साहको कुरा हो । छिटो छरितो निर्माण र आयोजनाको दिगोपनामा ध्यान दिन जरुरी छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी स्थानीय धनबहादुर बुढा, नरी बुढा, मानवीरे सार्की र तेजेन्द्र रावल लगायतका स्थानीय बृद्धिजीवीले धौलिगाड आयोजना निर्माण हुने कुराले उत्साहित भएको भन्दै आयोजना सफल बनाउन साथ दिने प्रतिबद्धता जनाउनुभयो । विकास आयोजना प्रति अपनत्व विकास नभएसम्म संरचना दिगो नहुने भएको नागरिकको साथ सहयोग आवश्यक छ । दुवै प्याकेजको काम द्रुत गतिमा निर्माण भइरहेको छ ।

कुल एक अर्ब २६ करोड आठ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको पछिल्लो भौतिक प्रगति सन्तोषजनक रहेको संघीय खानेपानी तथा ढल निकास आयोजनाका प्रतिनिधि चक्रबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार पहिलो प्याकेजको भौतिक प्रगति ९.७५ प्रतिशत भएको छ भने दोस्रो प्याकेजको कामको लक्ष्य ४ प्रतिशत रहेकोमा १७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोस्रो प्याकेजमा पाइपलाइनदेखि धाराको काम ३७ करोड ७० लाख ५ हजार बढी लागतमा भइरहेको आयोजनाका प्रतिनिधि भण्डारीले जानकारी दिनुभयो। तातोपानीका ६ वटा वडा, चन्दननाथका १० वटा वडा र गुठिचौरका ३ वटा वडा गरी जम्मा १९ वडाका ४४ हजार १६३ नागरिक आयोजनाबाट लाभान्वित हुनेछन् भने आठ हजार ६९५ वटा धारा निर्माण हुनेछन् । जसमा तातोपानीका १ देखि ६ नम्बर वडाका २७ सय बढी घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।

संघीय सरकारको लगानीमा दुर्गम हिमाली जिल्लामा राष्ट्रिय महत्वको खानेपानी आयोजना बन्नु आफैमा गौरवको विषय भएको तातोपानी–२ का वडाध्यक्ष चन्द्रमान बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँमा एक घर एक धारा निर्माण गरे पनि स्रोत नहुँदा खानेपानीको समस्या छ । बढ्दो जनसंख्या र जलवायु परिवर्तनले पानीको स्रोत घट्दै जाँदा खानेपानी समस्या चुलिने चिन्ता वडाध्यक्ष बुढाको छ । तर पनि धौलिगाड खानेपानी आयोजनाले खानेपानी क्षेत्रका सबै समस्या अन्त्य गर्ने उहाँको अपेक्षा छ । सागर परियार/कारोबार दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार