मेलम्चीको पानी नआएसम्म उपत्यकाको ६० हजार धारामा खानेपानी वितरण नहुने

मेलम्ची आएपछि एकबर्षमा ७५ करोड महसुल संकलन

  वास खबर सम्वाददाता  624 पटक हेरिएको

काठमाडौ : काठमाडौं उपत्यकाका ६० हजार नयाँ धारामा अबको केही दिन पानी नआउने भएको छ । नयाँ धारा मार्फत पानी वितरण भईरहेको क्षेत्रमा मेलम्चीको पानी नआएसम्म पानी वितरण कार्य रोकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको हेडवर्क्समा केही स्थायी संरचना निर्माण गर्न भन्दै जेठ १५ सम्मका लागि खानेपानी बन्द हुने जनाईसकेको छ ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई.मिलन शाक्यले केयूकेएलका पुराना १ लाख ६० हजार धारामा भने तीन दिन देखि १० दिनको फरकमा खानेपानी उपलब्ध गराईने बताउनुभयो । यद्यपि अहिलेसम्म वितरण तालिका भने सार्वजनिक भईसकेको छैन ।

बार्षिक ७५ करोड रुपैयाँ महसुल संकलन

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले एक वर्षमा थप १० करोड रुपैयाँ खानेपानी महसुल संकलन गरेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी थप भए पछि महसुल संकलन बृद्धि भएको हो । पहिले लिमिटेडले बार्षिक ६५ करोड महसुल संकलन गर्ने गरेकोमा मेलम्ची खानेपानी आयोजनाको पानी थप भएपछि थप १० करोड महसुल संकलन गर्न सफल भएको शाक्यले बताउनुभयो । लिमिटेडले गत बर्षमा ७५ करोड रुपैयाँ महसुल सङ्कलन गरेको छ ।

केयूकेएलले मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त दैनिक १७ करोड लिटर र आफ्नो मौजुदा स्रोतबाट समेत थप गरी पानी वितरण गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त केही पानी भने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले नयाँ पाईप परिक्षणका लागि प्रयोग गर्दै आएको छ ।

मेलम्चीको पानी बर्षातको समयमा समेत वितरण गर्ने उद्देश्यले हाल केही उपकरण जडान तथा बाँधस्थल (हेडवर्क्स) मा निर्माणको काम भईरहेको हो । मौसमले साथ दिएमा केही दिनभित्रै काम सम्पन्न गरी यसपालीको बर्षा याममा बिशेष परिस्थिति बाहेक पानी बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार