काठमाडौ : जनसंख्या बृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तन लगायत कारणले सीमित पानीको स्रोतले मानिसको असिमित आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था छ । पानी पिउनका लागि मात्र नभई विजुली निकाल्न, सिंचाई गर्न, पानी घट्टा चलाउन, जलविहार गर्न, माछा पालन गर्न र अन्य थुप्रै कामका लागि उपयोग गरिन्छ ।
धेरै कामका लागि उपयोग गर्न सकिने पानीलाई आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरेर कहाँको पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत योजना बनाएर कार्यान्वयन गर्दै लैजान सकेमा पानीको सही सदुपयोग हुने मात्र होइन, पानी सँग सम्बन्धित विवाद उत्पन्न हुने सम्भावना पनि कम गराउँछ ।
के हो जल उपयोग गुरुयोजना ?
जल उपयोग गुरुयोजना भनेको जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो ।
यो प्रक्रिया गाउँपालिका तहमा गाउँपालिका तथा नगरपालिका स्तरमा नगरपालिकाको नेतृत्वमा गाउँपालिका तथा नगरपालिका भित्र भएका प्रयोग हुन सक्ने सम्भावित पानीका स्रोतहरुको लेखाजोखा गरिन्छ । ती पानीका मूलहरु अहिले के प्रयोजनका लागि प्रयोग भईरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ? यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिन्छ ।
‘स्थानीय बासिन्दाकै सहभागितामा कुन पानीको मूल, कुन गाउँ र के का लागि प्रयोग गर्न उपयुक्त छ भनेर आम समुदायको सहभागिता र सहमतिमा योजना तर्जुमा गरिन्छ ।’
हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका कार्यक्रम व्यवस्थापक मदनराज भट्ट भन्नुहुन्छ ‘स्थानीय स्तरमा जलस्रोतको प्रभावकारी तथा न्योचित ढंगले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो, यसले पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दीगो प्रयोगको सुनिश्चित गर्दछ ।’ जल उपयोग गुरुयोजना तयार भएपछि गाउँपालिका तथा नगरपालिकाले नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानी सम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गरिन्छ ।
यसरी निर्माण हुन्छ, जल उपयोग गुरुयोजना
जलउपयोग गुरुयोजना एकै पटक निर्माण हुने काम होइन । यो आफ्नो लागि आफैले पानीका स्रोतहरु कसरी उपयोग गर्ने भनी चरणबद्ध तरिकाले बनाईने दस्तावेज हो । शुरुवात देखि कार्यान्वयन तहसम्म पाँच चरण पार गरेपछि मात्र जल उपयोग गुरुयोजना निर्माण तथा कार्यान्वयन हुन्छ ।
१. तयारी चरण : गुरुयोजना निर्माणको शुरुको चरण हो तयारी चरण, यस अन्तर्गत मुख्य तीन वटा क्रियाकलापहरु पार गर्नुपर्छ । तयारी चरणको शुरुमा जल उपयोग गुरुयोजना बनाउने निर्णय गाउँपालिका वा नगरपालिकाबाट गराउनु पर्छ । त्यसपछि जलउपयोग गुरुयोजना तयारीका लागि समझदारी तथा सम्झौता हुन्छ भने तयारी चरणको तेस्रो तथा अन्तिम क्रियाकलापमा सेवा प्रदायक संस्थाको छनौट तथा सम्झौता हुन्छ ।
२.क्षमता अभिवृद्धि चरण : यस चरण अन्तर्गत गाउँपालिका स्तरमा जलउपयोग गुरुयोजना सम्बन्धी प्रारम्भिक अभिमुखीकरण गरिन्छ । त्यसपछि वडा स्तरीय अभिमुखीकरण तथा वडा अध्यक्ष लगायत सबै सदस्यहरुलाई क्रियाशील बनाईन्छ । गाउँपालिका तथा नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (भीवाससीसी/एमवाससीसी) लाई क्रियाशील बनाउने र भीवाससीसी÷एमवाससीसीको क्षमता अभिवृद्धि गर्ने काम पनि यही चरणमा हुन्छ ।
३. सर्वेक्षणको चरण : जल उपयोग गुरुयोजना निर्माणको तेस्रो चरण हो सर्वेक्षण चरण यस चरणमा सामाजिक तथा प्राविधिक अध्ययन गरिन्छ । गाउँपालिका तथा नगरपालिकाको हरेक वडामा रहेका पानीको स्रोत तथा प्राविधिक सर्वेक्षणहरु यस चरणमा गरिन्छ ।

४. योजना तर्जुमाको चरण : यस चरणको शुरुमा वडा स्तरीय योजना तर्जुमा गरिन्छ । फिल्ड सर्भेक्षण तथा वडा स्तरिय योजना तर्जुमाको आधारमा जल उपयोग गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन तयारी हुन्छ । प्रारम्भिक प्रतिवेदन तयार भएपछि गाउँपालिका वा नगरपालिका स्तरीय योजना तर्जुमा गोष्ठी गरिन्छ ।
गोष्ठीमा सबै वडाका योजनाहरु ल्याएर प्राथमिकीकरण गरेपछि गाउँपालिका वा नगरपालिका स्तरीय प्रतिवेदन तयार हुन्छ । यसरी तयार पारेको जल उपयोग गुरुयोजना गाउँ वा नगरपरिषदबाट अनुमोदन गरिन्छ । गाउँपालिका तथा नगरपालिकाबाट अनुमोदन भएपछि जिल्ला स्तरमा प्रचारप्रसार तथा समन्वय कार्याशाला गोष्ठीको आयोजना गरी सबै सरोकारवालाहरु बीच गुरुयोजनाको सम्प्रेषण गरिन्छ ।
५. कार्यान्वयन चरण : तयारी चरण, क्षमता अभिवृद्धि चरण, सर्वेक्षण चरण र योजना तर्जुमा चरण पार गरेपछि अन्त्यमा कार्यान्वयन चरण शुरु हुन्छ । यसमा जल उपयोग गुरुयोजनाले प्राथमिकीकरण गरेका योजनाहरुलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने काम गरिन्छ । यसका लागि गाउँपालिका तथा नगरपालिकाले विभिन्न निकायको खोजी गर्ने काम हुन्छ ।
गाउँपालिका तथा नगरपालिका सँग भएको स्रोतको उपयोग गरी वाह्य स्रोतको आवश्यकता परे खोजी गरेर भएपनि कार्यान्वयन गर्दै लगिन्छ र समय पूरा भएपछि अद्यावधिक गर्ने पुनर्लेखन गर्ने काम समेत गरिन्छ । निर्माण सम्पन्न भएका पूराना योजनाको मर्मत सम्भार, निर्माण तथा अद्यावधिक गर्ने काम पनि यसै चरणमा भईरहन्छ ।

यसरी गरिन्छ प्राथमिकीकरण
कुनै उपलब्ध पानीको स्रोतलाई खानेपानीको लागि प्रयोग गर्ने कि पानी घट्ट चलाउनका लागि, कि सिचाईका लागि ? यसको प्राथमिकीकरण गर्ने विभिन्न तरिका छन् । सरकारले बनाएको जलस्रोत सम्बन्धीका ऐन नियम र नीति नियमको परिधिमा रहेर जलउपयोग गुरुयोजना तयार गरिन्छ । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका कार्यक्रम व्यवस्थापक मदनराज भट्ट भन्नुहुन्छ ‘पानीको उपयोगको मात्र कुरालाई हेर्ने हो भने खानेपानीका लागि पहिलो प्राथमिकता क्रम, दोस्रो सिंचाई र त्यसपछि अन्य उपयोग सम्बन्धी व्यवस्था जलश्रोत नीति २०४९ मा गरिएको छ ।
त्यसैले जल उपयोग गुरुयोजना बनाउँदा पनि सबैभन्दा पहिला गाउँपालिका तथा नगरपालिका भित्र रहेका बासिन्दालाई पुग्दो खानेपानी छ वा छैन त्यो हेर्छौ । सबैलाई पुग्ने र सबैको माग परिपूर्ति हुने खालको योजनालाई पहिलो प्राथमिकता दिन्छौं ।’
उहाँका अनुसार कम लागतमा बढी जनसंख्या लाभान्वित हुने आयोजनालाई पनि बढी प्राथमिकता दिइन्छ । अर्को प्राथमिकताको क्षेत्र हो लाभान्वित वर्ग । विपन्न वर्ग, पछाडि पारिएका वा महिला बढी लाभान्वित हुन्छन् भने पनि लैंगिक तथा सामाजिक समावेशीकरणका आधारमा उक्त आयोजना बढी प्राथमिकतामा पर्न सक्छ ।
जलउपयोग गुरुयोजना बनाउँदा आयोजना निर्माण भइसके पछिको दीगोपना पनि हेरिन्छ । भविश्यमा मर्मत सम्भारको काम पनि स्थानीय समुदायले नै गर्न सकिने आयोजनालाई पनि बढी प्राथमिकता दिइन्छ । खानेपानी पछि मात्र पानीसँग सम्बन्धित अन्य प्रयोग जस्तै : सिंचाई, पानी घट्ट, विजुली उत्पादन जस्ता कामलाई क्रमशः प्राथमिकीकरण गर्दै लगिन्छ ।
हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले काम गरिरहेका जिल्लाहरु अछाम, दैलेख, जाजरकोट लगायतका जिल्लामा गाउँपालिका तथा नगरपालिका स्तरको जल उपयोग गुरुयोजना निर्माण गरेर कार्यान्वयन गरिरहेको छ ।


1523 पटक हेरिएको 

