ललितपुरमा अझै ३ हजार ७ सय ११ घरमा चर्पी बनाउन बाँकी

ललितपुर ६ चैत्र । ललितपुरका ३ हजार ७ सय ११ घरले अझै चर्पी बनाएका छैनन् । जम्मा ६१ हजार ७ सय १५ घरमध्ये अहिलेसम्म ५८ हजार ४ घरमा मात्र चर्पी बनेको राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले जनाएको छ ।

चर्पी बनाउन ढिलाइ भएपछि सन् २०१२ को अन्त्यमै खुल्ला दिसामुक्त गर्ने लक्ष्य राखेको ललितपुरले लक्ष्य तोकेको पाँच बर्ष वितिसक्दा पनि घोषणा गर्न सकेको छैन ।

सन् २०११ मा सरसफाइ गुरुयोजना जारी गर्ने बेला नै ललितपुरको ८४.९ प्रतिशत घरमा चर्पी थियो । त्यसको एक बर्ष भित्रमा सबै नागरिकको घरमा चर्पी बनाई चितवन, कास्की सँगै ललितपुरलाई पनि खुल्ला दिसामुक्त गर्ने लक्ष्य राखेको थियो ।

पुरानो संरचना अनुसार ललितपुरका १९ गाउँ विकास समिति मध्ये १२ वटा र ५ नगरपालिका मध्ये एक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।

सुकुम्बासी समस्या, जग्गाको अभाव, सचेतनाको कमी र ग्रामीण इलाका बढी भएकाले चर्पी बनाउन समस्या भएको ललितपुरमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी बताउँछन् ।

शुरु शुरुमा अनुदान दिएर चर्पी बनाउँदा पनि समस्या आएको गोटिखेलका अमर सैजुले बताउनुभयो । ‘शुरुमा अनुदान दिएपछि पछि बनाउनेहरुले पनि अनुदान माग्न थाले, अनुदान पाइदैन भनेपछि दिए बनाउने नत्र नबनाउने भनेर बार्गेनिङ गर्न थाले, यसले पनि समयमै चर्पी बनाउन समस्या थपियो’ सैजुले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार