रौतहट : हिमाली वा पहाडी भेगमा बनाइने चर्पी भन्दा फरक बनावट देखिन्छ तराईमा बन्ने चर्पीमा । चर्पी बनाउनका लागि पनि पहाड र तराईमा फरक फरक स्रोत साधन प्रयोग गरिएको हुन्छ ।
तराईमा बन्ने चर्पीमा भुँइ र ढोकाको उचाइ कम्तीमा डेढ देखि दुई तीन फिट सम्मको हुन्छ । रौतहटको हर्दिया, पल्टुवा तथा गरुढाबैरिया लगायतका ठाउँमा भुँइबाट डेढ फिट गारो उठाएपछि मात्र ढोका राखिएका चर्पीहरु देख्न सकिन्छ । बर्षातमा डुबान हुने भएकाले डुबान हुँदा समेत चर्पीमा जान सकोस् भन्ने हेतुले अग्लो ठाउँमा ढोका राखिएको गरुढाबैरिया ७ का पल्टु यादवले बताउनुभयो । आफूहरुले डुबानको समस्या पटक पटक झेल्दै आएको र भविश्यमा हुन सक्ने समस्यालाई ध्यान दिएर अहिले नै अग्लो चर्पी बनाएको बताउनुभयो ।
चर्पीलाई डुबानबाट बचाउन चर्पी बनाउँदा नै ध्यान दिनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि प्राविधिक सहयोग गरिरहेको छ । रौतहटका डिभिजन प्रमुख अनिल केसरीका अनुसार रौतहटमा वकैया र वाग्मती नदीमा अग्लो बाँध लगाएपछि डुबानको समस्या हटेपनि कहीं कतै डुबान हुन सक्ने डरले उपभोक्ता आफैले डुबानबाट जोगाउने खालका चर्पी बनाउने गरेका छन् ।
‘पहिले पहिले डुबानको समस्या व्यहोरेर पनि हुन सक्छ, उहाँहरु आफैले जुक्ति लगाउनु भएको छ, अग्लो चर्पी बनाएपछि बृद्धबृद्धा र केटाकेटीलाई चर्पीमा प्रवेश गर्न गाह्रो हुने भएकाले हामीले त्यस्तो चर्पीमा सिंढी लगाउन भनेका छौं’ सिनियर डिभिज्नल इन्जिनियर केसरीले भन्नुभयो ।
डुबानको बेला चर्पी पनि डुब्दा खानेपानीको स्रोत समेत प्रदुषित हुने भएकाले चर्पीलाई डुबानबाट जोगाउँदा खानेपानी पनि प्रदुषित हुन नपाउने इन्जिनियर केसरीले बताउनुभयो ।