विनोद धौलागिरि, विर्तामोड (झापा)
समृद्ध जीवनका लागि पानीलाई बचाउन र धर्ती सफा राख्नका लागि बालबालिकाहरुले अभिभावकहरुसँग अनुरोध गरेका छन् ।
“चर्पी बनाउनभएन भने जमिन सफा हुँदैन, फोहर जमिनले पानीलाई पनि फोहर बनाउँछ”, बैराती आधारभूत विद्यालय गौरादहका विद्यार्थी विकास ताजपुरियाले विद्यालयमा उपस्थित अभिभावकहरुलाई अनुरोध गर्नुभयो, “त्यसैले, घरमा चर्पी बनाएर हामीलाई दिसा गर्ने ठाउँ बनाइदिनुस् । अब हामी बालबालिकाले खुल्लामा दिसा गर्दैनौं ।”

२६ औं विश्व पानी दिवसको अवसर पारेर विद्यालयमा रहेको लालीगुराँस बाल क्लबले चर्पी नहुने घरमा अभिभावकहरुलाई समेत विद्यालयमा भेला पा¥यो । “बालबालिका र अभिभावकलाई सँगै राखेर छलफल गरेमामात्र यो विषय समुदायको साझा विषय बन्न सक्ने भएकोले”, सरसफाइ फोकल शिक्षक गुञ्जा ताजपुरियाले भन्नुभयो, “विद्यार्थी र अभिभावकलाई सँगै राखेर चर्पी, सरसफाइ र पानीको सुरक्षाको बारेमा छलफल गर्नुका साथै चर्पीका लागि बालबालिकाले अपिल गरेका हुन् ।”
विद्यार्थीको निम्तो मान्न विद्यालयमा आएकी अभिभावक जगदम्वा राजवंशीले नानीहरुले आफूहरुको आँखा खोलिदिएको बताउनुभयो । “घरमा चर्पी नभए पनि चलिरहेकै छ भनेर आलटाल गरेका थियौं”, उहाँले भन्नुभयो, “आज सबैका सामु नानी बाबुहरुले हाम्रो आँखा खोलिदिए । अब पानी र जमिन दुबैलाई सफा राख्न घरमा चर्पी बनाउछौं ।”
बालबालिकाहरुको प्रयासले आफूहरुलाई समेत झक्झक्याएको विद्यालयका प्रधानाध्यापक पहाड सिं राजवंशीले बताउनुभयो । बालबालिकाको अनुरोधलाई मान्दै विद्यालयको शौचालय मर्मतसम्भार गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

झापा जिल्लाको शरणाामतीमा रहेको रामजानकी बाल क्लबले समेत आज अभिभावकहरुलाई चर्पी बनाउन र पानीको सुरक्षाका लागि सरसफाइ राख्नुपर्नेमा जोड दिए । “हामी खुल्लामा दिसा गर्न जाँदा लाज लाग्छ”, अप्सना खातुनले आमा सोहागी बेगमलाई अनुरोध गर्नुभयो, “अरु केही माग्दिनँ, मेरो इज्जत बचाउनका लागि पनि घरमा चर्पी बनाइदिनुस् ।”
छोरा कृष्ण गणेशको अनुरोधपछि आमा इन्दिरा गणेशले घरमा चर्पी बनाउने र घर वरिपरी सफा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दिगो सामाजिक परिवर्तनका लागि बालबालिकालाई भविष्यका कर्णधारको रुपमामात्र नभै वर्तमानका साझेदारको रुपमा लिनुपर्ने गाउँपालिकाकी महिला सदस्य लक्ष्मी गणेशले बताउनुभयो ।

प्रदूषित पिउने पानीबाट पीडित कचनकवल गाउँपालिकाका बासिन्दाहरुले पानीको सुरक्षाका बारेमा छलफल गर्नुभयो । “हाम्रोमा खानेपानी योजना पनि सञ्चालनमा छैन, डिप बोरिङ पनि छैन”, कचनकवल–७ का वडाध्यक्ष भरत राजवंशीले भन्नुभयो, “कलबाट रातो पानी आउँछ, फिल्टर नगरीकन कपडा धुन पनि मिल्दैन ।”
स्वास्थ्यकर्मी विष्णुप्रसाद राजवंशीले प्रदूषित र अशुद्ध पानीबाट ६० प्रतिशतसम्म रोगहरु लाग्ने भएकोले पानीको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
गौरीगञ्ज गाउँपालिकामा टोल सरसफाइ समितिका पदाधिकारीहरुले सरसफाइ प्रवद्र्धन योजना बनाउँदै पानी दिवस मनाए । “खोलामा दिसा गरुञ्जेल पानी सफा रहँदैन । त्यसैले हामी गाउँलाई कसरी सफा राख्ने भन्नेमा नै केन्द्रित भयौं”, सरसफाइ अभियानकर्ता ज्ञानु राजवंशीले भन्नुभयो, “पानीको महत्व र पानीको शुद्धीकरणको बारेमा समेत छलफल भयो ।”

अर्जुनधारा नगरपालिकामा पानी दिवसकै अवसरमा वडा खुल्ला दिसामुक्त घोषणा गर्नुका साथै पानीको संरक्षण र सोका लागि वातावरण जोगाउने विषयमा छलफल भयो ।
कार्यक्रमको सहजीकरण ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका साझेदार संस्थाहरुले गरेका थिए।
पिउने पानीकै अवस्था नाजुक
९ हजार ६६ घरधुरी रहेको कचनकवल गाउँपालिकाको बनियानीमा मात्र खानेपानी आयोजनामार्फत ओभरहेड टंकी निर्माण गरिएको छ । यो सञ्चालनमा आइसकेको छैन । २ हजार ३ सय ३३ घरधुरी रहेको पथरियामा एउटा ओभरहेड टंकी निर्माण भए पनि पानी वितरण थालनी भएको छैन ।
“साविक केचना गाविसमा समेत टंकी निर्माणको क्रममा भए पनि कहिले सञ्चालन हुन्छ, अत्तोपत्तो छैन”, स्वास्थ्यकर्मी राजवंशीले भन्नुभयो, “बनियानीमा बनेको टंकीबाट समेत पानीको वितरण थालनी भएको छैन । अहिल गाउँपालिकाभरि माटोको घैंटोबाट पानी छानेर प्रयोग भैरहेको छ ।”

नेपाल सरकारको सरसफाइ गुरुयोजनाले सन् २०१७ को अन्तसम्ममा सबै घरधुरीमा आधारभूत तहको पिउने पानी र आधारभूत सरसफाइ सुविधा (सुरक्षित चर्पी) को प्रवन्ध गर्ने लक्ष्य लिए पनि १ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापा जिल्लामा ८४ प्रतिशत घरधुरीमा मात्र पिउने पानीको सुविधा रहेको छ ।
“नेपाल सरकारले तोकेको आधारभूत गुणस्तर मापदण्ड पूरा गरेको कभरेज भने यसभन्दा कम छ”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख इञ्जिनियर सीताराम काफ्ले भन्नुहुन्छ, “दक्षिणी क्षेत्रमा पानीको पहुँच भए पनि सिधै पिउनयोग्य छैन ।”
झापा जिल्लामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तत्वावधानमा २ सय ४१ खानेपानी आयोजना निर्माण गरिएको भए पनि यी सबै सञ्चालनमा छैनन् । ५८ आयोजना निर्माणाधीन छन् भने सञ्चालन गरिएका आयोजनाहरु समेत मर्मत सम्भारको अभावमा बन्द छन् । “पर्याप्त बजेट नआउँदा चाहेर पनि आयोजना पूरा गर्न सकिएको छैन”, काफ्ले भन्नुहुन्छ, “थोरै पैसाले एक दशकसम्म पनि आयोजना पूरा हुँदैन । बनाउँदै जाँदा बिग्रदै जान्छ ।”
१५ हजार घरधुरी चर्पीविहिन
झापाले सरसफाइको राष्ट्रिय लक्ष्यलाई समेत भेट्न सकेको छैन । देशकै सरसफाइ कभरेज ९५ प्रतिशत पुुगिसक्दा झापाको सरसफाइ कभरेज ९४ प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । झापालाई यही चैत्र महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको भए पनि अझै १५ हजार घरधुरीमा शौचालय निर्माण गरिसक्न बाँकी छ । “अभियानले तीव्रता लिएको छ, अहिले करिब ८ हजार घरधुरीमा शौचालय निर्माणाधीन छन्”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्र न्यौपाने भन्छन्, “बाँकी घरधुरीमा समेत चैत्र महिनाभित्रै शौचालय निर्माण गराइसक्ने लक्ष्य लिइएको छ ।”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सम्पूर्ण स्थानीय तहले अगुवाइ गरेर झापालाई खुल्ला दिसामुक्त गरी आउँदो वर्ष पूर्ण सरसफाइ अभियानमा अगाडि बढाउने बताए । आफै चर्पी बनाउन नसक्ने अति विपन्न घरधुरीको हकमा सम्वन्धित स्थानीय तहले नै आवश्यक श्रोतको व्यवस्थान गर्ने समेत उनले जानकारी दिए ।


1070 पटक हेरिएको 

