यस्तो पो हुनुपर्छ त, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका

बर्दिया : “पूर्ण सरसफाइ हाम्रो अभियान स्वास्थ्य, समृद्धि र सान, गेरुवा गाउँपालिकाको प्रतिबद्धता दिगोपनमा सधै ध्यान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आगामी २०७५ चैत्र गाउँपालिकालाई पूर्ण सरसफाइउन्मुख गाउँपालिका बनाउने लक्ष्यका साथ गेरुवाका बासिन्दारु पूर्ण सरसफाइ अभियानमा लागि परेका छन् ।

ग्लोबल स्यानिटेसन फण्ड/यु.एन. ह्याविटाट सँगको सहयोगमा आई.डि.एस नेपाल/मायुस बर्दियाले २०७४ भदौ देखि बर्दिया जिल्लामा गेरुवा र बढैयातालका गरी साविकका ६ वटा गाउँ विकास समितिलाई लक्षित गरी पूर्ण सरसफाइ अभियान सञ्चालन गरेपछि दुवै गाउँपालिकामा पूर्ण सरसफाइ नमुना समुदाय तयार भईरहेका छन् ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सिकाईलाई बिस्तार गर्न, समुदायलाई हौशला थप्न, गुणस्तरलाई मापन गर्दै सुधारात्मक प्रयास गर्न आवश्यक सरसल्लाह दिने उद्देश्यले पूर्ण सरसफाइ उन्मुख समुदायको भ्रमण हालै भ्रमण समेत गरेका छन् ।

गेरुवा गाउँपालिका वडा नं १ साविक पाताभार गाविस वडा नं ६ मा पर्ने जनकनगर उत्तरपूर्वा सरसफाइ नमुना समुदायमा पुगेका जिल्लाका अतिथिहरुलाई थारु संस्कृति अनुसार गीत नाँच प्रस्तुत गरी स्वागत गेटमा फूल र अबिर सहित स्वागत गरेका थिए ।

३० घरपरिवार भएको यस समुदाय ग्लोबल स्यानिटेसन फण्ड/यु.एन. ह्याविटाट सँगको सहयोगमा आई.डि.एस नेपाल/मायुस बर्दियाले पूर्ण सरसफाइ अभियान सञ्चालन गरेपछि पूर्ण सरसफाइमा नमुना टोलको रुपमा विकास भई रहेको छ ।

पूर्ण सरसफाइका धेरै सूचकहरु पुरा भईसकेको यस समुदायमा सुरक्षित पानीको प्रयोग सम्बन्धी सूचक पुरा गर्ने प्रयास भई रहेको नमुना प्रगति टोल उत्तरपूर्वाका अध्यक्ष दुसरी चोधरीले बताउनुभयो । समुदाय सँगको अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनकपुर उत्तरपूर्वा सरसफाइ नमुना समुदायले आफ्नो समुदायलाई पूर्ण सरसफाइ उन्मुख बनाउदै यसलाई माइती, मावली, ससुराली, छिमेकी गाउँ र नगरपालिकामा फैलाउनु पर्ने बताउनुभयो ।

त्यसैगरी बेसका सिभिल इन्जिनियर मनोज चौधरीले बाँसलाई बगिरहेको पानीमा १५ दिन राखेर (सिजनिङ गरेर) प्रयोगमा ल्याउदा घाम र किराले असर नगर्ने र बलियो हुने बिषयमा जानकारी गराउदै सरसफाइ र स्वच्छताका संरचनाको समूचित प्रयोग र सरसफाइमा समुदायले निरन्तर ध्यान दिनुपर्ने सुझाब दिनु भयो ।

 

महिनावारी हुँदाको स्वच्छता र कपडाको प्याड बनाउने तालिम लिएकी रेखा चौधरीले यु.एन. ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीलाई भेटेपछि खुशी हुँदै आफूले तालिम लिएपछि वडामा र पूर्ण सरसफाइ नमुना समुदायमा तालिम सञ्चालन गरेको जानकारी गराउदै कपडाका प्याडहरु समेत प्रदर्शन गर्नुभयो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, बर्दियाले यु.एन ह्याविटाटको सहयोगमा आई.डि.एस. नेपाल र मायुस बर्दियाले सञ्चालन गरिरहेको ग्लोबल स्यानिटेसन फण्डको सहयोगमा सञ्चालित खुल्लादिसामुक्त पछिको पूर्ण सरसफाइ सहयोग कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न, समुदाय र स्थानीय सरोकारवाला निकायलाई उत्प्रेरणा जगाउने उद्देश्यका साथ लोहागड, बिन्द्रा, पहाडीपुर, जनकपुर उत्तरपूर्वा र पटवारीपुर सरसफाइ नमुना समुदायको अनुगमन तथा उत्प्रेरणा भ्रमण गरेको हो ।

उत्तरपुर्वासँगै जोडिएको पटवारीपुर प्रवेश गर्दा स्वागत गेटमा फूल अक्षता लिएर परम्परागत थारु भेषभुषामा सजिएका महिलाहरु र पुरुषहरुले हर्ष विभोर हुँदै जिल्लाबाट अनुगमन तथा उत्प्रेरणाका लागि आएको टोलीलाई स्वागत गरेका थिए ।

सजिसजाउ फूल राखिएको टाउकोमा बोक्ने ढकियालाई अतिथिहरुले पनि पालैपालो टाउकोमा राखेर फोटो खिचाए, ट्युवेलको तर फ्रिजमा राखिएको जस्तो चिसो पानी पिएर गर्मीमा राहत महसुस गरे ।

५७ घरपरिवार भएको पटवारीपुरबासीको तर्फबाट सरसफाइ नमुना टोल पटवारीपुरका अध्यक्ष तथा वड्घरले पूर्ण सरसफाइ सम्बन्धी भैरहेको प्रगति तथा समस्याका बिषयमा जानकारी गराउदै सुझाब र सल्लाहका लागि जिल्लाबाट आएको टोलीसँग आग्रह गरेपछि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बीर बहादुर धामीले सरसफाइलाई आचरणको रुपमा विकास गरी दीगोपन दिदै पूर्ण सरसफाइका आधारभूत मुख्य सूचकहरुलाई मध्यनजर गरी अगाडि बढिरहन सुझाबदिनुभयो ।

गेरुवा ५, बिन्द्रामा एक्कासी पुगेको अनुगमन भ्रमण टोलीलाई अध्यक्ष सकुनी थारु र सचिव जनक चौधरीले समुदायमा भईरहेको कामको बिषयमा जानकारी गराउनु भएको थियो ।

शुरुमा ५९ घरबाट शुरु गरिएको यस समुदायमा पछि १०१ थपिए पछि समितिलाई केही कठिनाई आई परे पनि हाल १२० भन्दा बढी घरमा पूर्ण सरसफाइका धेरै सूचकहरु पुरा भई सकेका छन् । सुआहाराका वास अफिसर गोविन्द पौडेलले भ्रमण टोलीको तर्फबाट बोल्दै पूर्ण सरसफाइका सबै सूचक हासिल गरेको प्रमाणीकरण गरि दीगोपनमा लाग्नुपर्ने सुझाब दिनु भयो ।


भ्रमणमा सम्बन्धित वडाका अध्यक्ष, वडा सदस्यहरु, नमुना टोलका समिति र समुदायका व्यक्तिहरु सहितको सहभागितामा भ्रमण कतै एकमुष्ट त कतै दुई समूहमा विभाजित भई घरदैलो गरेका थिए । घरदैलो पश्चात अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सबै स्थानहरुमा सम्बन्धित सरसफाइ नमुना समितिका अध्यक्षको अध्यक्षतामा, प्रशासकीय अधिकृत अर्जुन सुवेदीको प्रमुख आतिथ्यतामा एवं आई.डि.एस. नेपालका कार्यक्रम अधिकृत मायाराम चौधरीको सञ्चालनमा सम्पन्न गरिएको थियो ।

समग्रमा सबल पक्षहरु :

  •   पूर्ण सरसफाइका घरायसी ५ सूचकहरु मध्ये सुरक्षित पानी बाहेकका सूचक प्राप्तिको अबस्था राम्रो छ । 
  •  महिलाहरुले समेत सरसफाइको नेतृत्व गरिरहेका छन् ।
  • समुदायमा मेलमिलापमा वृद्धि भएको छ ।
  • धेरै घरहरुमा गोबर ग्याँस जडित शौचालयहरुको प्रयोग भईरहेकोले दिसाको लेदो व्यवस्थापनको समस्या नभएको, साथै खाना पकाउन इन्धन प्राप्त हुने । 
  • लोहागढ, पहाडीपुर र बिन्द्रामा पक्की फोहोर मलाई बनेका छन् भने जनकनगर उत्तरपूर्वा र पटवारीपुरमा बाँसबाट बनाइएका फोहोर मलाई निर्माण गरिएका छन् ।
  • ट्युवेलमा प्लेटफर्मका साथै भाडा माझ्ने जुठेल्ना समेत बनेका छन् ।
  • भाडा सुकाउने चाङ्गको प्रयोग सबै जसो घरमा राम्रो तरिकाले भई रहेको छ । 
  • कपडाको प्याड बनाएर प्रयोग गर्ने थालनी भई सकेको छ । 
  • उत्तरपूर्वा र पटवारीपुरमा सामुदायिक भवनलाई सरसफाइ बैठक घरको रुपमा विकास गरिएको छ ।
  • आवश्यक सूचनामूलक, चेतावनीमूलक बोर्डहरु, सन्देश लेखन गरिएको छ । 
  • समुदाय निरन्तर रुपमा सरसफाइमा लागि रहेका छन् ।

सुधारात्मक पक्षहरु :

  • वायो स्याण्ड फिल्टर प्रवद्र्धन कार्य शुरुवात भई केही समुदायमा राखि सकेको र सबैमा विस्तार गर्नुपर्ने ।
  • केही ट्युवेलको प्लेटफर्म पक्की बनाउन तथा पानीको निकाशा तथा करेसाबारी प्रवद्र्धनमा जोड दिनुपर्ने ।
  •  साना बच्चा भएका घरमा अनिवार्य बेबी पटको प्रयोग भएको सुनिश्चित गर्नुपर्ने ।
  • दाउरा प्रयोग हुने घरमा परम्परागत चुल्होको बदलामा सुधारिएको चुल्हो निर्माणमा उत्प्रेरणा जगाउनु पर्ने ।
  • गोबर ग्याँस जडित केही चर्पीका प्यानहरुको बिशेष सरसफाइ गर्नुपर्ने ।
  • कुहिने फोहोरलाई मल बनाउने गरेको भए तापनि नकुहिने प्लाष्टिक, टीन, रबरजन्य फोहोर व्यवस्थापन अझै पनि चुनौतीको रुपमा रहेको हुँदा यस सम्बन्धमा वडा, गाउँपालिकाले बिशेष पहल गर्नुपर्ने । 
  • बंगुर, कुखुरा, कुकुर लगायतका घरेलु पशुपन्छीको दिसा व्यवस्थापनमा समेत लाग्नुपर्ने
  • अन्य सुझाबहरु  
  • सरसफाइलाई आय आर्जनसँग जोड्न सके समृद्ध समाजनिर्माण गर्न सकिने । यसका लागि सम्भाव्यता अध्ययन गरी होम स्टे सञ्चालन, थारु संस्कृतिको प्रवद्र्धन गरी थारु परिकार भएका होटल तथा रेष्टुराँ सञ्चालन, अर्गानिक तरकारी खेती, बाँस तथा प्लाष्टिकजन्य फोहोरबाट सामग्रीहरु बनाउने आदि कार्य गर्न वडा तथा गाउँपालिकाले आवश्यक समन्वय तथा सहयोग गर्नुपर्ने ।
  • पिसाबलाई मलको रुपमा प्रयोग गर्ने पर्यावरणीय सरसफाइ (इकोसान) पद्धतिको अनुसरण र बिस्तारमा जोड दिनुपर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार