सरसफाइकर्मी थारुद्वारा ५ वर्षको कमाई अस्पताललाई दान


बुटवल  : बुटवल  उपमहानगरपालिका वडा नं १४ मनहरापुरकी चैनकुमारी थारू गौतमबुद्ध सामुदायिक मुटु अस्पतालकी सफाईकर्मी हुन्। गौतमबुद्ध मुटु अस्पतालको सरसफाई गर्नु उनको दैनिकी हो।

अस्पतालका अनुसार स्थापनाकालदेखि नै कार्यरत उनलाई अस्पतालले उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृतसमेत गरिसकेको छ।

कामप्रति इमान्दार, लगनशील र अनुशासित चैनकुमारीको पछिल्लो निर्णयले अस्पतालका कर्मचारी र सञ्चालक मात्र होईन यस क्षेत्रका सबै दंग परेका छन्।

उनले अस्पताल निर्माणका लागि भन्दै आफूले अहिलेसम्म कमाएको १ लाख रकम हस्तान्तरण गरेकी छन्।

अस्पतालमा एक लाखदेखि २५ लाख रूपैयासम्म सहयोग गरेर बिभिन्न श्रेणीका ७ सय १० सदस्यको बिचमा चैनकुमारी थारूको एकलाखले माथ गरेको छ। उनको यो सहयोगले ‘धन कुम्ल्याएर ऐस आराम र मोजमस्ती गर्नेलाई धन भन्दा ठूलो सम्पत्ति मन हो’ भन्ने पाठसमेत पढाएको छ।

चैनकुमारीको निर्णयले अस्पताल सञ्चालक समिति फुरूङ्ग मात्र होईन गर्वले शिर उँचो बनाएको प्रतिक्रिया दिएको छ।

चैनकुमारीको चाहना थियो, अस्पतालले बनाउने भवनमा आफूले गरेको सहयोगको ईट्टा थपियोस्।

चैनकुमारी थारू बुधबार दिउँसो अचानक अध्यक्षको कार्यकक्षमा पुगिन् र अध्यक्ष एजाज आलमलाई एक लाख रूपैया नगद थमाईन्। अध्यक्ष आलम मात्र होईन उनीसँगै रहेका कार्यसमिति सदस्य तेजकुमार पाठकसमेत उनको यो निर्णयबाट चकित भए।

आलमका अनुसार चैनकुमारीले आफू पनि अस्पतालको सेवा कार्यमा सहयोगी बन्छु भन्दै सदस्य बन्ने ईच्छा ब्यक्त गरेपछि नाई भन्न सकेनन्।

‘उनको यो महान कार्यले मेरो आँशु थामिएन नतमस्तक भएँ, म अवाक् भएँ गर्वले आशु खस्यो,’ अध्यक्ष आलमले सेतोपाटीसँग भने, ‘उनले दिएको त्यो रकम कसरी लिन्न भनूँ? लिन्न भन्दा उनको भावनामा ठेस लाग्ने, लिउँ भने कसरी लिउँ उनको आर्थिक अवस्था कमजोर छ।’

चैन कुमारीले दिएको एक लाख उनले २०७० सालदेखि बचत गरेको सम्पूर्ण रकम हो।

मनहरापुरमा रहेको घरमा उनको ५ जनाको परिवार छ। २ छोराकी आमा चैन कुमारीलाई श्रीमानले त साथ दिएनन् दिएनन् आफैंले जन्म दिएका छोराहरुले समेत हेरेनन्।

विगत ८/१० वर्षदेखि बुटवलको कालिकानगरमा अर्काको घरमा भाडामा बस्दै आएकी ४७ वर्षिय चैनकुमारीले वर्षौसम्म अर्काको घरमा भाडा माँझेर गुजारा चलाइन्।

विद्यालय नटेकेकी चैनकुमारीले आफ्नो नाम मात्र लेख्न सक्छिन्। अस्पताल स्थापनासँगै निम्न श्रेणीको पदमा (सफाईकर्मीको रूपमा) काम गर्न थालिन्।

अस्पतालमा काम सुरू गर्दा उनको तलब मासिक ५ हजार ५ सय थियो। अहिले १३ हजार ५ सय रूपैया पुगेको छ।

अहिले घरभाडा र बिजुली पानी गरेर २ हजार ८ सय रूपैया खर्च आउँछ । खाना खर्चसमेत गर्दा ८ हजार मासिक खर्च हुन्छ।

‘मेरो पीडा भनि साध्य छैन, कति दिन भोकै बसेँ, दमकी दीर्घरोगी छु नियमित औषधी खाईरहेकी छु, बिरामी पर्दा छोराहरूले समेत हेरेनन्। अहिले अस्पतालले उपचार गरिदिएको छ,’ उनले भनिन्।

‘मैले सूरुदेखि नै पैसा जम्मा गरेर अस्पताललाई दिन्छु भनेर सोचेकी थिएँ एक लाख जम्मा हुनासाथ ल्याएर दिएँ, पैसा दिन पाउँदा साह्रै खुसी लाग्यो, कति दिनसम्म काम गर्न सक्छु यही गर्छु,’ उनले भनिन्।

अस्पतालमै काम गरेर जम्मा गरेको पैसा समुदायको सेवामा लगाएकी उनले यो रकम जम्मा गर्न धेरै दिन पटुकी कसेर भोकै बसेकी छन्।

‘मैले अस्पतालमा आउने धेरै आमा बावुको अवस्था देखेँ, पैसा खर्च भयो भनेर अस्पतालबाट डिस्चार्ज गरेर लगेको देखेकी छु त्यसैले पनि अस्पताल राम्रो होस् भनेर सहयोग गरेकी हुँ, अस्पताल राम्रो भयो भने मेरो लागि सबैभन्दा खुसिको कुरा त्यही हुनेछ,’ उनले सेतोपाटीसँग भनिन्।

केही वर्षअघि अस्पतालमै कार्यरत सुरक्षा गार्डले अस्पतालका बिरामीलाई सहयोग पुगोस् भनेर ह्विल चियर हस्तान्तरण गरेका थिए।

यसअघि पनि कतिपय बिरामी र बिरामीका आफन्तले समेत उपचारकै क्रममा अस्पतालले गरेको सत्कर्ममा सहभागी बन्ने भन्दै सदस्य बन्न रकम बुझाउने गरेको अध्यक्ष अलाम बताउँछन्।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संस्थाका सदस्यको मात्र होईन आम सर्वसाधारणको मन जित्न सफल भएको यो घटनाले पुष्टि गरेको छ।

सेतोपाटीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार