जैविक (छिट्टै कुहिने) प्याड अब हाम्रै आँगनमा

  विनोद शर्मा, भरतपुर,  818 पटक हेरिएको

नुर्बुलिङ मावि हेलम्बुकी शिक्षिका प्रिती लामाले एकैपटक १५ प्याकेट जैविक सेनिटरी प्याड किन्नुभयो । मर्यादित महिनावारी व्यबस्थापन सम्बन्धी अवलोकन भ्रमणमा मितेरी जैविक प्याड उद्योग शिवटोल चितवन पुग्नुभएकी लामाले आफु र विद्यालयका लागि भनेर प्याडको जगेडा गर्नुभएको हो ।

‘रासायनिक पदार्थ नराखिकन बनाइएको सेनिटरी प्याड भएकोले स्वास्थ्यमा नकारात्मक असर नपर्ने अनि ६ महिनाभित्रै कुहिएर माटो बन्न थाल्ने भएकोले व्यबस्थापन गर्न पनि सहज देखेपछि आफु र विद्यार्थीका लागि लैजान लागेकी हुँ ।’ शिक्षिका लामा भन्नुहुन्छ, ‘विद्यालय समयमा महिनावारी भएका छात्रालाई उपलब्ध गराउनुका साथै उनीहरुलाई जैविक प्याडका बारेमा बुझाउन पनि सहज हुने भयो । एक प्याकेटको ७० रुपैंयाँ भनेको सस्तो हो । बजारमा अरु सेनिटरी प्याड किनेको मुल्यमैं जैविक प्याड पाइन्छ भने किन प्रयोग नगर्ने ?’


बेला बेला हुने विद्यार्थीको शैक्षिक भ्रमण समेत यस्तै उद्योग तथा सरसफाइ र मर्यादित महिनावारी व्यबस्थापनमा अब्बल देखिएका विद्यालयमा गराउनु पर्ने उहाँको अनुभव छ । उद्योगको अवलोकनपछि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका संस्थापक नवराज सापकोटाले संस्थालाई नैं मर्यादित महिनावारीमैत्री बनाउन प्रतिवद्धता गर्नुभयो ।

‘हामी कारितास स्वीटजरल्याण्ड र हेल्भेटाससँगको साझेदारीमा सिन्धुपाल्चोकमा २० वटा विद्यालयमा सघन रुपमा मर्यादित महिनावारी व्यबस्थापनमा काम गरिरहेका छौं । सबै विद्यालय महिनावारी मैत्री बन्ने चरणमा छन् । अब संस्थाको कार्यालयलाई पनि महिनावारीमैत्री बनाउनु छ ।’ सापकोटाले भन्नुभयो, ‘महिला शौचालयमा प्याड संकलनका लागि डस्टवीन र जैविक प्याड राख्छौं । यो भ्रमणले संस्थाका महिला कर्मचारी प्रतिको हाम्रो दायित्वलाई उजागर गरिदिएको छ ।’


भरतपुर महानगरपालिका ७ शिवटोलमा रहेको मितेरी जैविक प्याड उद्योगमा जैविक प्याडका बारेमा बुझ्न र किन्न आउने मान्छेको सँख्या बढ्न थालेको छ । प्रयोगशाला परीक्षणबाट जैविक प्याड प्रयोगयोग्य रहेको प्रमाणीत भैसकेको छ । राधा पौडेल फाउण्डेशन र न्यायका लागि सक्रिय महिला मञ्चको सहकार्यमा नेपालमैं पहिलो पटक जैविक प्याड उत्पादन भइरहेको छ ।

गएको कात्तिक अन्तिम साताबाट परीक्षण उत्पादन सुरु गरेको उद्योगले व्यबसायिक उत्पादनसमेत थालेको उद्योगकी अध्यक्ष सावित्री भण्डारीले जानकारी दिनुभयो । ‘भारतको आकार इनोभेसन प्रा.लि.बाट जैविक प्याड उत्पादनका लागि आवश्यक मेसिन औजार र कच्चापदार्थ ल्याएर उत्पादन सुरु गरेका छौं ।

जैविक प्याड उत्पादनका लागि मेसिन र कच्चापदार्थ खरिदका लागि प्रारम्भिक लगानी ३० लाख रुपैंयाँ लागेको छ ।’ उहाँले भन्नुभयो, ‘७ जना दिदी वहिनीले स्वयंसेवकका रुपमा काम गरिरहनु भएको छ । काम गर्ने जनशक्ति नयाँ भएकोले एक दिनमा मेसिनको उत्पादन क्षमता २ हजार ४ सय पिस भए पनि अहिले हामीले औसतमा ५ सय पिस मात्रै उत्पादन गर्न सकेका छौं । छिट्टै पूर्ण क्षमतामा उत्पादन गरेर बजारमा पठाउने योजनामा छौं ।’


के हो जैविक प्याड ?


भर्जिन पाइन वुड पल्प सिट अर्थात एक प्रकारको सल्लोको बोक्रालाई प्रशोधन गरी कपास बनाएर जैविक प्याड निर्माण गरिन्छ । हानिकारक जेल तथा पोलिमरको प्रयोग नहुने भएकाले जैविक प्याड महिलाको स्वास्थ्यका लागि पनि लाभदायक रहने राधा पौडेल फाउण्डेशनकी संस्थापक राधा पौडेल बताउनुहुन्छ । ‘बजारमा पाइने अरु प्याडले वातावरणलाई प्रदुषित गराइरहेका छन् । ती प्याड पूर्ण रुपमा सडेर कुहिन कम्तिमा २ सय देखि एक हजार वर्षसम्म लाग्ने विभिन्न अध्ययनले नै प्रमाणित गरीसकेका छन् ।’

मर्यादित महिनावारी अभियन्ता पौडेल भन्नुहुन्छ, ‘सल्लोको बोक्रा र जैविक प्लास्टिकबाट रासायनिक पदार्थ नमिसाइकन बन्ने भएकोले जैविक प्याड वातावरण मैत्री हुन्छ । यसको प्रयोग पछि खाल्डोमा पुरेदेखि एक सय २० दिनदेखि एक सय ८० दिन भित्र कुहिइसक्छ । अरु प्याड ६ घण्टाभन्दा बढी प्रयोग गर्न मिल्दैन भने रासायनिक पदार्थ नमिसाइएका कारण जैविक प्याडलाई १२ घण्टासम्म प्रयोग गर्नु पर्यो भने पनि रगत सोस्नुका साथै साइड इफेक्ट हुँदैन ।’


यसको मुल्य :


एक प्याकेट जैविक प्याडको मुल्य ७० रुपैंयाँ कायम गरिएको सुपरभाइजर मोती कंडेलले जानकारी दिनुभयो । स्वदेशमैं उपलब्ध कच्चापदार्थ प्रयोग गरेर जैविक प्याड उत्पादनका लागि प्रयास गरिरहेको र त्यो सम्भव भए मुल्य समेत समायोजन हुन सक्ने उहाँको भनाइ छ । ‘हामीले ७ वटा प्याड सहितको एक प्याकेटको मुल्य ७० रुपैंयाँ कायम गरेका छौं ।

प्याडका बारेमा चासो राख्नुहुने र उद्योगमा आउनुहुनेले मात्रै लैजानु भएको छ हामीले बजारमा पठाइसकेका छैनौं ।’ सुपरभाइजर कंडेलले भन्नुभयो, ‘कच्चापदार्थ पनि देशबाहिरबाटै ल्याउनु परेका कारण उपभोक्तालाई कम मुल्यमा दिन सकिएको छैन । केराको बोट र पातलाई पनि प्रशोधन गरेर जैविक प्याड बनाउन सकिने रहेछ । हामी त्यसको लागि सहकार्य गर्न खोजिरहेका छौं । सरकार वा कुनै संस्था वा व्यक्ति साझेदार गर्न तत्पर भएमा दीर्घकालिन तथा जित जितको अवस्था श्रृजना गर्न सकिनेछ ।’


जैविक प्याड निर्माण प्रक्रिया :


प्याड उत्पादनका लागि ५ तहको प्रक्रिया पुरा गर्नुपर्छ । भर्जिन पाइन वुड पल्प सिट अर्थात एक प्रकारको सल्लोको बोक्राबाट बनाइएको पाता प्रयोग गरी जैविक सेनिटरी प्याड बनाइन्छ । सुरुमा पाइन वुड पल्प सिटलाई च्यातेर मसिनो आकारमा टुक्राइन्छ । त्यसपछि पल्भराइजिङ मेसिनमा हाली कपास निकालिन्छ ।

कपासलाई बाल्टीमा भरेपछि त्यसको तौल लिने काम हुन्छ । एउटा जैविक प्याड बनाउनका लागि ६ दशमलव ५ देखि ६ दशमलव ७ ग्रामसम्म कपास प्रयोग गरीन्छ । त्यो तौलको कपासलाई सुरुमा फिमेल डाइ मेसिनमा मिलाएर राखिन्छ । यसरी राख्दा बीच भागमा धेरै कपास पर्ने गरी मिलाउनुपर्ने हुन्छ ।

महिनावारीको समयमा बगेको रगत शोस्नका लागि प्याडको बीचको भाग बाक्लो बनाइन्छ । त्यसपछि मेल डाइ मेसिनले प्रेस गरी आकार दिइन्छ । त्यसपछि प्रयोग गर्न सहजताका लागि वायो प्लाष्टिक तह राख्ने काम गरिन्छ । रिलिज पेपर टाँस्ने जस्ता कार्य गरिन्छ । यी सबै कार्य गर्दा हातको प्रयोग हुने भएकाले त्यसपछि स्टेरिलाइजेशन अर्थात जीवाणु निर्मलीकरणको लागि प्रक्रिया सुरु हुन्छ । त्यसपछि लेभलिङ र प्याकेजिङका कार्य हातमा पञ्जा लगाएर गर्नुपर्ने हुन्छ । यसरी तयार गरीएको जैविक प्याड उत्पादन मितिले एक वर्षसम्म प्रयोग गर्न सकिने अभियन्ता राधा पौडेल बताउनुहुन्छ ।


जैविक प्याडको उत्पादन किन ?


पौडेलले राधा पौडेल फाउण्डेशन मार्फत नेपालमै पहिलो पटक सन् २०१४ मा पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादनको सुरुआत गर्नु भएको थियो । जुम्ला र कालिकोटमा यो प्रभावकारी पनि भयो । ‘सुगम क्षेत्रमा पैसा तिरेर सजिलै बजारमा उपलब्ध हुने सेनिटरी प्याडको प्रयोगलाई महिलाहरुले रुचाए ।

पुनः प्रयोग गर्न सकिने कपडाको प्याड धुन र सुकाउन झन्झट मान्ने गरेका कारण कम प्रयोग भएको देखियो ।’ उहाँ भन्नुहुन्छ, ‘सहज उपलब्ध भएका कारण महिलाहरुले रासायनिक पदार्थ मिसाएर बनाएको प्याड प्रयोग गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्न नदिनका लागि नैपालमै जैविक प्याड उत्पादनको सोच बनाएकी हुँ । पुनः प्रयोग गर्न सकिने कपडाको प्याडको उत्पादन पनि जारी नैं छ ।’ अनुसन्धानले बजारमा उपलब्ध भएका विभिन्न कम्पनीका प्याडमा केमिकलका साथै प्लाष्टिकको प्रयोग हुने हुँदा क्यान्सर पनि हुन सक्ने सम्भावना रहने देखाएको छ ।


‘हरेक दिन एक चौथाइ महिला महिनावारी हुन्छन् । जीवनमा एक महिलाले आफ्नो जीवनको औसत आयुको झण्डै ७ वर्ष महिनावारी भएर बितेको हुन्छ । त्यस अवधिमा अहिले बजारमा भएको नकुहिने प्याड प्रयोग गर्ने हो भने डेढ क्विन्टल प्याड प्रयोग गरिन्छ ।’ अभियन्ता पौडेल थप्नुहुन्छ, ‘रासायनिक पदार्थ र प्लास्टिक मिसाएर बनाएको हुँदा ती प्याड कुहिन पनि सक्दैनन् र महिलाको स्वास्थ्यमा पनि असर गर्छ ।

बिकल्प हुँदा हुँदै किन नजाने भनेर प्रयाु गरेका हौं । सरकारले पनि सबै कुराको परीक्षण गर्न सक्दैन वा भ्याउँदैन । हामीले सरकार, निजी क्षेत्र तथा अन्य संस्थालाई एउटा रोल मोडल बनाएर देखाएका छौं । इच्छाशक्ति भएमा जो कोहीले पनि गर्न सक्छन् भन्ने उदाहरण हो यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार