![]()
पाल्पा : रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाकी गृहिणी पुष्पा घर्तीमगरलाई अघिल्लो हिउँदसम्म मध्यरातमै कुवा, खोला र खोल्सीमा पानी खोज्दै जानुपर्ने बाध्यता थियो । मध्यरातमा उठेर घरदेखि आधा घण्टा टाढा ओरालै हिँडेर पानी ल्याउनुपर्ने दुःखका दिन अब सकिएका छन् । अहिले बलौजाका घरघरमा बालमैत्रीसहितका धारा जडान भएका छन् ।
लिफ्टिङ खानेपानी आयोजना आएपछि अहिले गाउँलेका दुःख हटेका हुन् । ‘लिफ्टिङ खानेपानी योजनाका लागि दुःख गरियो,’ उनले भनिन्, ‘अहिले भने घरघरमा धारा जोडिएका छन् ।’ कुवाबाट कटौराले उभाएर गाग्रीमा पानी भरेर डोकोमा बोक्नुपर्ने बाध्यता अहिले हटेको उनले बताइन् । उज्यालो हुँदा दुई गाग्री पानी बोकिसक्ने बेलौजाकी लक्ष्मी सारु मगरले अहिले राहतको महसुस गरेको बताइन् । वर्षायामका तीनदेखि पाँच महिना नजिकमा मूल भए पनि हिउँदमा भने धेरै समस्या थियो । ४५ घरका बासिन्दालाई ओरालो उकालो गर्दै पानी बोक्नुपर्ने बाध्यता थियो । ‘अहिले बालमैत्रीसहितका धारा घरघरमै जडान भएका छन्,’ उनले भनिन्, ‘जसले गर्दा बिहान ५र६ बजेसम्म आराम गर्न पाइएको छ ।’ अब बालबालिका, गृहिणी, बूढाबूढी सबै पानी खोज्दै भौंतारिनु नपर्ने उनले बताइन् ।
बेलौजाका ४५ घरपरिवारको वर्षौंदेखिको खानेपानी समस्या हटेको वडाध्यक्ष उमानसिंह सारुले बताए । खानेपानी नपुग्दा गाउँमा पशुपालन गर्न समस्या थियो । तरकारी खेती, करेसाबारी केही पनि हुन्थेन । ‘पानीकै कारण बालकदेखि वृद्धसम्मले समस्या बेहोर्नुपरेको थियो,’ उनले भने, ‘अब भने यो समस्याबाट मुक्ति पाइएको छ ।’
अहिले जतिबेला पनि धारा खोल्दा पानी आउने गृहिणी विन्दमाया थापा मगरले बताइन् । मिटर जडान भएकाले गाउँले आफैंले पानी नियन्त्रण गर्छन् । ‘एक घर एक धारा’अन्तर्गत संघ, प्रदेश र स्थानीय सरकारका साथै स्थानीयको लगानीमा धारादी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो । ‘भाँडा माझेको, कपडा धोएको पानी प्रयोग गरेर करेसाबारीमा संकलन गरेका छौं,’ उनले भनिन्, ‘खानेपानीका साथै कपडा धुन, नुहाउन तथा अरू कामका लागि पानीको तनाव लिनुपरेको छैन ।’
४७ लाख १४ हजार रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको हो । रम्भा गाउँपालिकाको हुँगी, फोक्सिङकोट, पीपलडाँडा, हुमीन, ताहुँमा पनि खानेपानी योजना अन्तिम चरणमा छन् । अधिकांश योजना पूरा भइसकेका छन् । विगतका अधुरा योजनालाई प्रदेश सरकारले बजेट विनियोजन गरिदिएपछि योजना सम्पन्न हुने क्रममा रहेको प्रदेश सभा सदस्य नारायण आचार्यले बताए ।
योजना सम्पन्न गर्न खानेपानी उपभोक्ताबाट ४ लाख ५९ हजारको श्रमदान, उपभोक्ता समितिको नगद १ लाख ९७ हजार, रम्भा गाउँपालिकाको ८ लाख, बुटवल पावर कम्पनीको विद्युत् सामग्री तथा ढुवानीका लागि ३ लाख २० हजार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पटक–पटक गरी २८ लाख ३२ हजार रुपैयाँ सहयोग प्राप्त भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष मनबहादुर सारुले बताए । ‘बालमैत्री गाउँपालिका घोषणा भएकाले खानेपानीका धारामा पनि बालमैत्री धारा थप भएको हो,’ उनले भने, यसबाट बालबालिका पनि खुसी देखिएका छन् ।’ साभार माधव अर्याल कान्तिपुर दैनिक


1048 पटक हेरिएको 

