तिला नदी गाउँमा उक्लिएपछि रोजगारीको लागि भारत जानेहरु गाउँमै रोकिए

जुम्ला : आकाशेपानीको भरमा खेती गरिरहेका तिला गाउँपालिका–२ का हरिलाल रावतले केही वर्ष खडेरीका कारण जग्गा नै बाँझो राख्नुभयो । खडेरी परेको पर्‍यै हुनाले बाली लगाए पनि उब्जनी भएन । त्यसैले २र३ वर्ष त जग्गा बाँझो नै राख्नुभयो । तिला नदी तल र गाउँ माथि हुँदा सिँचाइ र खानेपानीको लामो समय ठूलो अभाव झेल्नुपर्‍यो ।

उहाँका छिमेकी धनबहादुर रावत झन् सिँचाइ समस्या नहुँदा आफ्नो ७ रोपनी जग्गा बाँझो राखेर जीविकोपार्जनका लागि झण्डै ५ वर्ष भारत भासिनुभयो । ‘सिँचाइ नहुँदा आफ्नो उत्पादनले खान नपुग्ने, परिवार पाल्नै समस्या भएपछि भारतमा मजदुरी गर्न पनि गइयो,’ उहाँले भन्नुभयो ‘कुनै बेला गाउँ तलको तिला नदीको पानी हेरेर चित्त बुझाउनुपर्ने बाध्यता थियो ।’

लिप्ट सिँचाइ योजना मार्फत गाउँमा पानी पुगेपछि उहाँहरु अहिले भने दंग हुनुुहुन्छ । गाउँमा खानेपानीको अभाव भएकाले सिँचाइकै पानीलाई स्थानीयले शुद्धीकरण गरेर पिउन थालेका छन् । अहिले लामो समयदेखि बाँझो रहेका तिला–२ लिही र लर्मी गाउॅका जग्गाहरू हरियालीमा परिणत भएका छन् । ‘न अब सिँचाइको समस्या रह्यो न खानेपानीको,’ धनबहादुरले भन्नुभयो ‘सबैले पाखोबारीमा विभिन्न तरकारीसँगै स्याउ र ओखर रोप्ने तयारी थालेका छौं ।’ सार्वजनिक जग्गामा धुपी, सल्लो र देवदारका बिरुवा रोपण गरेर हरियाली बनाउने स्थानीयको योजना छ ।

लिप्ट गरेर तिला नदीको पानी ३ सय ७० मिटरको उचाइमा लगिएको हो । जसका लागि एक लाख लिटरको ठूलो रिजर्भ ट्यांकी बनाइएको छ । ३०र३० हजार लिटरका ४ वटा ट्यांकी बनाइएको छ । ट्यांकीमा जम्मा भएको पानीलाई पाइप मार्फत किसानहरूको खेतहरूमा पुर्‍याइएको सहयोगी निकाय पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार लिप्टबाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा खस्ने गरेको छ । जसका लागि १ हजार ३ सय २० मिटर जीआइ पाइप र ४ हजार मिटर एचडी पाइप जडान गरिएको उहाँले जानकारी दिनुभयो । योजनाबाट ३ सय ३८ घरधुरी लाभान्वित भएका छन् भने ३२ हेक्टर जमिन सिञ्चित भएको छ । ‘स्थानीयले घरघरमा प्लास्टिक टनेलको प्रयोग गरी हरियो तरकारी उत्पादन गर्न थालेका छन्,’ उहाँले भन्नुभयो ‘अन्तर खेती प्रणालीको माध्यमबाट उत्पादकत्व बढाउन प्रयास सुरु गरिएको छ ।’ ईकान्तिपुर डट कममा यो खबर प्रकाशित भएको छ ।

उहाँका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सिँचाइ योजना निर्माण भएको हो । लिप्ट गरेर गाउॅभन्दा माथि पनि पानी तानिएकोले आगलागीजन्य प्रकोपका घटना न्यूनीकरणमा सहयोग मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार