डोजरले खानेपानीको पाइप काटेपछि मुहान धाउन बाध्य

  वास खबर सम्वाददाता  449 पटक हेरिएको

सल्यान : जिल्लाको खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिँदा शारदा नगरपालिका ९ आराका स्थानीय घर नजिकै धाँरा भए पनि खानेपानीको लागि एक महिनादेखि मुहान, जरुवा तथा खोला धाउन बाध्य भएका छन् ।

निर्माण कम्पनीले काटिएको पाइप मर्मत नगरिदिएको र स्थानीयले मर्मत गरे पनि सडककै कारण जमिनमुनि नगाडी त्यत्तिकै छाड्दा गुड्ने गाडीले दैनिक फुटाउने गर्दा स्थानीय खानेपानीका लागि मुहान, जरुवा तथा खोला धाउन बाध्य भएका हुन् ।

दैनिक जसो मर्मत गरे पनि गुड्ने गाडीले पाइप फोडिदिँदा अहिले धारामा आउने पानी सडकमा बग्दै आएको छ । जसका कारण आराका ३० घर प्रभावित भएका छन् । घर नजिकै धारा भए पनि खानेपानीका लागि स्थानीयले विभिन्न किसिमका समस्या भोग्दै आएका छन् ।

सडक निर्माण कम्पनीको डोजरले काटिदिएको पाइप मर्मतमा आनाकानी गर्दै आएपछि आफ्नो क्षमताले भ्याएसम्म मर्मत गरे पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा खानेपानीका लागि समस्या भएको स्थानीय वर्ष ६० का भीमबहादुर बुढाथोकीले बताए । सम्बन्धित निकायलाई जानकारी गराए पनि बेखबरजस्तै रहेको उनले जानकारी दिए ।

उनका अनुसार खानेपानी कार्यालयले केही वर्षअघि नौ लाख रुपैयाँ खर्च गरी दुई किलोमिटर टाढाबाट पानी ल्याई योजना सम्पन्न गरेको थियो । उक्त योजनाबाट बस्तीमा ६/७ घरलाई एक भन्दै ११ वटा धारा निर्माण गरेको थियो, जसबाट झन्डै ८० घर लाभान्वित भएका थिए । ‘डोजरले पाइप काटेपछि माथिल्लो बस्तीमा पानी आइरहेको छ । तल्लो बस्तीका चार धारामा पानी आउन छाडेको छ । पानी नआउँदा झन्डै तीन दर्जन परिवार प्रभावित भएका छौं,’ उनले भने ।

बिजुलीको पोल र घरका कारण सडक चौडा गराउन नसकेको र चौडा गराएपछि मात्र पाइप मर्मत गरेर जमीनमा गाडी दिने भनेकाले आफूहरू समस्यामा परेको वर्ष ५५ का स्थानीय गोकर्ण सेजवालले बताए । उनले बिजुलीको पोल सार्न तथा खानेपानीको पाइप मर्मत गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

‘हामीले सामान्य मर्मत गर्दै आएका छौं । पाँचरछ मिनेट पानी चल्न नपाउँदै गुड्ने सानारठूला गाडीले फोडिदिन्छन्,’ उनले भने, ‘गाडी नचलाऊ भन्न सकिँदैन । के गर्नु, धेरै गाह्रो भएको छ । अहिले हाम्रो दैनिकी पाइप मर्मत गर्नमै बितेको छ । जबसम्म झन्डै आधा मिटर खाल्डो खनेर पाइप गाडिँदैन तबसम्म घर नजिकै धाँरामा पानी भर्न पाउने सम्भावना देखिँदैन ।’ सडक निर्माणकै क्रममा जमिनमुनि गाडेका पाइप निकाल्दा सडक छेउछाउमा खुला अवस्थामा रहेको उनको भनाइ छ ।

पुराना भएका मुहान धेरै सुकिसकेका र भएका दुईरचारवटामा पनि पानी कम भएकाले लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको स्थानीय महिला निर्मला बुढाथोकीले बताइन् । ‘घर नजिकै धारामा चौबिसै घण्टा पानी आउने गर्थ्यो धेरै, सजिलो थियो । करिब एक महिनायता अनिदो उठेर टर्च बालेर मुहान दौडनुपर्छ,’ उनले भनिन्, ‘हिजोआज चिसो धेरै बढेकाले बिहानै निस्किन समस्या हुने गर्छ । केही ढिला भए पानी पाउन मुस्किल हुन्छ । खोलाको ल्याउनुपर्छ ।’ अहिले नुहाउन तथा कपडा धुनु परेमा खोलै जानुपर्ने मात्र नभई अन्य सरसफाइमा पनि गाह्रो भएको उनको भनाइ छ ।

यता सडक निर्माण कम्पनीमा कार्यरत एक कर्मचारीले भने विद्युत्ले पोल सारिदिए तथा स्थानीयले सडकमा परेको घर भत्काउन दिए दुईरचार दिनभित्रै स्थानीयमा देखिएको खानेपानीको समस्या समाधान हुने बताएका छन् । उनले स्थानीयको घरभन्दा बिजुलीको पोलले समस्यामा पारेको जानकारी गराए । यो खबर कान्तिपुरबाट साभार गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार