
काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र नयाँ पाइलाइनबाट वितरण गर्दा चुहावट नभएको पाइएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौ उपत्यकामा विछ्याईका पाइप मार्फत वितरण गरेको क्षेत्रमा चुहावटको समस्या नदेखिएको हो ।
काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा समेत तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले जनाएको छ ।
निर्देशनालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उपभोक्ताहरूबाट आएको जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकाङ्श पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण/मर्मत, विद्युत लाइन र टेलिफोनका तार भूमिगत गर्ने लगायतका कार्य हुँदा क्षति पुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइन मध्ये अधिकाङ्शको मर्मत कार्य सम्पन्न भइसकेको छ ।’
निर्देशनालयले खानेपानीका पाइप लाइनमा क्षति पुग्ने गरी कुनै काम नगर्न/नगराउन समेत सबै निकायहरूको ध्यानाकर्षण गराएको छ । निर्देशनालयबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलो चरणमा बिच्छ्याइएका १ हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइन मध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण गर्ने कार्य सम्पन्न भएको पनि जनाएको छ ।
निर्देशनालयले काठमाडौंका सिनामङ्गल, कोटेश्वर, नरेफाँट, पुरानो बानेश्वर, बत्तीसपुतली, रातोपुल, ज्ञानेश्वर, हाँडीगाऊँ लगायतका क्षेत्र र ललितपुरका ग्वार्को, मङ्गलबजार, बालकुमारी, सुन्धारा, बगलामुखी, कृष्णमन्दिर, कुपण्डोल, पुल्चोक, मानभवन, लगनखेल लगायत अन्य क्षेत्रमा खानेपानीका नयाँ पाइपलाइनको परीक्षण गर्ने कार्यलाई तीब्रता दिइएको छ ।
निर्देशनालयले तेस्रो पक्ष लगायतबाट विगतमा विभिन्न कारणले खानेपानीका नयाँ पाइपलाइनमा क्षति भएको तर जानकारी नपाएका स्थानहरूमा नयाँ पाइप लाइनको परीक्षण गर्दा खानेपानी चुहावट भई सडकमा बग्नसक्ने सम्भावना भएको र त्यस्तो देखिएमा आयोजना कार्यान्वयन निर्देशनालयलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।


1172 पटक हेरिएको 

