पार्कोटे–टटलेटार खानेपानी आयोजनाको काम अन्तिम चरणमा

  वास खबर सम्वाददाता  208 पटक हेरिएको

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं २ स्थित टटलेटारमा सञ्चालित पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा सुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजनाको काम लगभग सकिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार १ सय ७३ मिटर डीप बोरिङ गरिएको छ । त्यसको लागि मेसिन घर, ४० हजार लिटर क्षमताको रिजर्भ्वायर ट्याङ्क र निर्माण गरिएको छ । खानेपानी आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।

विद्युत् आपूर्तिका लागि नेपाल विद्युत्त प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मर राखिएको छ । लाइन विस्तारका लागि प्राविधिक स्टेटमेन्ट तयार गरिएको स्थानीय उपभोक्ता दीपेन्द्र पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार थप बजेट व्यवस्थापनका लागि नमोबुद्ध नगरपालिकालाई अनुरोध गरिएको छ ।

नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अवलोकन गर्दै बाँकी रहेको काम पूरा गर्न नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आयोजना सम्पन्न गर्नुभन्दा पनि त्यसको दिगोपन प्रमुख विषय रहेको बताउँदै दीर्घकालीन सञ्चालन गर्ने योजना बनाउन अनुरोध गर्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष पौडेलले नगर संरक्षक बन्ने अपेक्षा गरेको बताउनुभयो। उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घर लगायतका संरचना बनाउनका लागि थप बजेट आवश्यक भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार