
तनहुँ : तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-४ काफलस्वराका बासिन्दा घर आँगनमै खानेपानी उपलब्ध भएपछि खुसीले गदगद भएका छन् । काफलस्वरा लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न भएर घर आँगनमै पानीको उपलब्ध भएपछि खुसीले सीमा नाघेको हो । खानेपानी परियोजनाको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले शनिबार उदघाटन गर्नुभयो ।
गाउँपालिकाको ४ लाख २६ हजार ४ सय ४६ रूपैयाँ, डब्लु.डब्लु.एफ. को ६२ लाख ६३ हजार १ सय ६१ रूपैयाँ अनुदान र उपभोक्ता समितिको ९५ हजार १ सय एकसट्ठी रुपैयाँ गरी ६७ लाख ५२ हजार ४ सय ६९ रूपैयाँ लागतमा सम्पन्न खानेपानी परियोजनाबाट ४१ घरपरिवार लाभान्वित भएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष गुरूङले आफू निर्वाचित ८ महिनाको दौरानमा देवघाट गाउँपालिकाले प्रस्ताव गरी निर्माण सम्पन्न भएको सबैभन्दा पहिलो कार्यक्रमको उद्घाटन गर्न पाउदा खुसी व्यक्त गर्नुभयो । उहाँले डब्लुडब्ल एफ नेपाल,रिसर्च सेन्टर,डब्लुडब्लु एन नेपाल लगायत संस्थाहरुको सहयोगमा खानेपानीको योजना सम्पन्न भई समुदायलाई खानेपानी वितरण गर्न खुसी लागेको बताउनुभयो ।
उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिका धेरै विकट ठाउँहरू रहेकाले खानेपानीको समस्या समाधानका लागि आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने बताउनुभयो । काफलस्वरामा खानेपानी पुगे सँगै अब यहाँका बासिन्दाहरुले आयस्तर बृद्धि गर्न उत्पादनमूलक कार्यमा जोड दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा डब्लुडब्लु एफ नेपालका राजेन्द्र सुवालले काफलस्वरामा पालिकासँग सहकार्य गरी लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उद्घाटन समारोहमा रोशनी कार्कीले डब्लुडब्लुएन नेपालले विगत ८ वर्षदेखि विभिन्न ठाउँहरूमा खानेपानी तथा सरसफाइ विषयमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले देवघाट गाउँपालिकाको सहकार्यमा आगामी दिनमा पनि थप कार्यक्रमहरु गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो । डब्लुडब्लु एन नेपालले चितवन लगायत विभिन्न जिल्लामा खानेपानीको काम गरिसकेको छ । हाल इच्छाकामना गाउँपालिकामा विभिन्न परियोजनहरु सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा डब्लुडब्लुएन जिल्ला वास संयोजक यज्ञराज जोशीले विगतमा चितवन तनहुँ धादिङ बाग्लुङ लगायत जिल्लामा खानेपानी र सरसफाइ सम्बन्धी कामहरु सम्पन्न गर्दाको अनुभव सुनाउँदै देवघाटमा पहिलो पटक खानेपानी परियोजना सम्पन्न गर्न पाउँदा खुसी लागेको बताउनुभयो । गत असार महिनामा गाउँपालिका सँग सम्झौता गरेको परियोजना करिब ६ महिनामै सम्पन्न गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।


637 पटक हेरिएको 

