
काठमाडौ : खानेपानीमन्त्री अब्दुल खानले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – १ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षण गर्नुभएको छ । मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठ लगायतको टोलीले मेलम्ची खानेपानीको मुहान स्थलको निरीक्षण गरिएको हो ।
मन्त्री खानलाई मेलम्चीको खानेपानीको पछिल्लो अवस्थाबारे खानेपानी सचिव मणिराम गेलाल र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असारमा आएको बाढीले पुर्याएको क्षति र आयोजनालाई नियमित संचालनको लागि गर्नुपर्ने कामहरुका बिषयमा समेत बिस्तृत जानकारी गराउनुभयो।

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निार्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो ।
उहाँले मेलम्ची खानेपानी विकास समिति खारेजीको घोषणाले कर्मचारीको तलव, मर्मत र महत्वपूर्ण निर्णय गर्न समेत समस्या भएको जानकारी गराउनुभयो ।
कार्यकारी निर्देशक श्रेष्ठले मेलम्ची खानेपानीको वर्तमान अवस्था दर्शाए पछि खानेपानीमन्त्री खानले आयोजनालाई नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुराबारे आबश्यक छलफल गरी फास्ट ट्रयाकमा काम गरिने बताउनुभयो । उहाँले बाह्रै महिना मेलम्चीको पानी काठमाडौबासीलाई खुवाउने कार्यमा आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खानले मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नीतिगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले आर्थिक बर्ष २०७९/०८० को बजेट बक्तव्य मार्फत विकास ऐन अन्तर्गत गठन भएका मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको घोषणा गरेको थियो ।



1195 पटक हेरिएको 

