काठमाडौ : मेलम्चीको पानी चक्रपथ बाहिरको क्षेत्रमा पनि वितरण गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक पर्ने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ । दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथ बाहिरको मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भागमा पाइप लाइन बिच्छ्याउने कार्य भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक ई. राजेन्द्र सापकोटाले बताउनुभयो ।
सोमबार पिआईडीको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजना निर्देशक सापकोटाले करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको बताउनुभयो । ‘बाँकी पाइपलाइन आगामी आर्थिक बर्ष भित्र बिछ्याई परिक्षण कार्य शुरु गर्ने लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यस्तै चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैसेपाटी, बागडोल, सुर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचाटार लगायतका स्थानमा करिब १ हजार ६ सय ५० किलोमिटर पाइपलाइनको सर्भेक्षण तथा डिजाइनको कार्य भईरहेको बताउनुभयो ।
दोश्रो काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्न सहमति
भक्तपुर, मध्यपुर, किर्तिपुर, पेप्सीकोला, गोकर्ण र बौद्ध लगायत क्षेत्रमा दोश्रो काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत करिब ७ सय ७० किलोमिटर पाइप विच्छ्याईनेछ । यसबाट त्यस क्षेत्रका ९३ हजार ३ सय घरधुरी लाभान्वित हुनेछन् । एशियाली विकास बैंकको प्रस्तावित ऋण सहयोगमा दोश्रो काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्न सहमति भईसकेको छ ।
नेपाल सरकार र एशियाली विकास बैंक बीच ऋण सम्झौता हुनासाथ पाईप लाइन बिच्छ्याउन खरिद सम्बन्धी बोलपत्र आव्हान गरिने आयोजना निर्देशक सापकोटाले बताउनुभयो ।
पहिलो चरणमा एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा काठमाडौं उपत्यकाको चक्रपथ भित्रका अधिकांश क्षेत्रहरुमा १ हजार १० किलोमिटर भन्दा बढी नयाँ खानेपानी पाइपलाइन बिच्छ्याइ सकिएको छ ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २ लाख ४५ हजार सेवाग्राहीलाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । काठमाडौ उपत्यकामा दैनिक ४७ करोड लिटर खानेपानीको माग रहेको केयूकेएलले जनाएको छ ।


799 पटक हेरिएको 

