
बागलुङ : बागलुङ बजारलाई लक्षित गरी सञ्चालन गरिएको लिफ्ट खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुई वर्षमा सम्पन्न हुनुपर्ने योजना करिब चार वर्षपछि सम्पन्न हुने अवस्थामा पुगेको हो।
विगत चार वर्षदेखि निर्माणाधीन बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पुर्याउने लक्ष्यका साथ काम अघि बढाएको दाबी गरेको छ। हालसम्म भौतिक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी कनकाई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले जानकारी दिनुभयो। बागलुङ नगरपालिका–३, काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म पानी पुगेसँगै वैशाखभित्रै उपभोक्ताको धारासम्म शुद्ध खानेपानी आउने आशा जगाएको हो।
खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएको छ। कुनै समस्या नभए चैतभित्रै ट्याङ्कीमा पानी पुर्याउने लक्ष्यका साथ काम अघि बढाएको इन्जिनियर अधिकारीको भनाइ छ। आयोजना निर्माणका लागि २०७५ साल असार ३१ गते ठेकेदार कम्पनी ‘कनकाइ जयमाता जेभी’सँग सम्झौता भएको थियो। सम्झौताअनुसार योजना २०७७ साल असार ३१ गते सम्पन्न हुनुपर्ने हो।
यद्यपि कोरोना महामारीलगायतका अन्य प्राविधिक समस्याले समयमै काम सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनीले जवाफ दिँदै आएको छ। प्रशोधन ट्याङ्कीमा पानी पुगेकाले धेरै काम बाँकी नरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो। करिब ३२ करोड २५ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न हुन लागेको उक्त योजनाका लागि पानी लिफ्टिङमा प्रयोग हुने ६३० केभीएको ट्रान्सफरर्मर जडान गरी मोटर सञ्चालन गरिएको छ। गोरखापत्र अनलाइनले यो खबर छापेको छ ।
आयोजनाबाट बजार क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुनेछन्। काठेखोलाको पानी ‘लिफ्ट’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३, रातामाटा पुर्याइनेछ। काठेखोलादेखि सात सय मिटरमाथि रातामाटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ।


589 पटक हेरिएको 

