बेलायत सरकारद्वारा स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड अनुदान सहयोग

आगामी छ वर्ष भित्र परियोजना कार्यान्वयन हुने

  वास खबर सम्वाददाता  478 पटक हेरिएको

काठमाडौ : बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’ का लागि द्विपक्षीय सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नुभयो । आगामी छ वर्ष भित्र सो परियोजना कार्यान्वयन हुनेछ ।

अर्थ सचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गर्नुभयो। पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रम मार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताउनुभयो । भौतिक पूर्वाधारको विकास पछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र बेलायत बीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयन सँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार