रामेछाप : रामेछापको सीमा भएर बग्ने लिखु नदीमा पानी सुकाएर लिखु–३ जलविद्युत् आयोजनाले सुरुङमा हालेपछि स्थानीयले पानीको समस्या भोग्न थालेका छन् । ‘घरायसी प्रयोजनका लागि पानी नै नदिई लगेका छन्’ स्थानीय सुमित्रा राई सुनुवार भन्छिन् ‘पोकली खोलाको पानीको भरमा किसानको कुलो चल्न छोडेको छ ।’ किसानले कुलोमा पानी नचढेपछि मेसिन लगाएर कोशीको पानी तानेर कुलोमा हाल्न बाध्य भएको उनले बताइन् ।
जलविद्युत् आयोजनाले कृषि, वातावरण र जलचरका लागि नदीमा कम्तिमा पनि १० प्रतिशत पानी छोडेर मात्र अरु पानी लैजान पाउने व्यवस्था रहेको तर आयोजनाले उक्त नियमानुसार नदीमा पानी नछोडेको गुनासो लिखु तामाकोशी गाउँपालिका २ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले गरेका छन् । ‘हामी गइहाल्यौं भने पानी खोलेको जस्तो गर्छ अन्यथा थोपो पानी छोड्दैन’ पौडेलले भने ‘जति पटक भन्दा पनि लागेको छैन ।’
आयोजनाको पावर हाउस क्षेत्रमा पर्ने रातामाटासम्म लिखुबाट कुलो मार्फत पानी पुग्दै आएको उनले दाबी गरे । ‘कुनैबेला कम वा कुनै बेला बढी होला तर किसानको आवश्यकता पूरा हुने गरी पानी छोडेका छौं’ उनले भने ‘यति नै पानी छोड्यौं भनेर नाप्ने त गरिएको छैन ।’ किसानलाई नै समस्या हुने गरी आयोजनाले पनि आफ्नो व्यवसाय गर्न नसक्ने उनले बताए । समय समयमा जनप्रतिनिधिहरुलाई अनुगमनका लागि आग्रह गर्ने गरिएको उनले बताए ।
२८.१ मेगावाट क्षमताको लिखु– ३ जलविद्युत आयोजनाले पानीकै अभावमा हाल ८ मेगावाट मात्र विद्युत् उप्पादन गर्दै आएको छ । ‘यो सुक्खा समयमा पानी नपरेकोले पनि नदी सानो छ’ तिमिल्सिनाले भने ‘त्यसमाथि यसै वर्षदेखि हामीले विद्युत् उत्पादन गर्न थालेकोले किसानले पहिलेजस्तो पानी नदेख्दा अभावजस्तो महसुस गरेको हुनुपर्छ ।’