
म्याग्दी : एक दशकदेखि मुहान सुनिश्चितता भएका म्याग्दीका दुई ठूला खानेपानी आयोजना अघि बढ्न सकेका छैनन् । भगवती, पिप्ले खानेपानी आयोजना र घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत अघि बढाइने ३७ करोड लागत भएको बृहत् भगवती पिप्ले खानेपानी आयोजना र ४५ करोड लागत रहेको बृहत् घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन प्रक्रियामा ढिलाइ भएका छन् ।
एक दशकदेखि दुई आयोजनाको डीपीआर बन्ने तर कार्यान्वयन हुन नसकेको अवस्था थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी डीपीआर तयार भएका बृहत् घोप्टेखोला खानेपानी आयोजना चालू आवको वैशाख अन्तिमसम्म ठेक्का प्रक्रियाअघि बढ्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदीले बताए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको मातहतमा आइसकेपछि डीपीआरअनुसार अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता गरेको छ । पालिकाबाट कुल लागतको १० प्रतिशत बजेट उपलब्ध गराउने प्रतिबद्धता आइसकेपछि एक हप्ताभित्र फिल्ड भेरिफिकेसनको काम सकेर बहुवर्षीय योजनाको रूपमा स्वीकृत गराएर कार्यान्वयनका लागि चालू आवको वैशाखमा ठेक्का प्रक्रिया अघि बढाइने आयोजनाका इन्जिनियर सुवेदीले जानकारी दिए ।
“डिजाइनको काम सकिएको छ । फिल्डको भेरिफिकेसन रिपोर्टअनुसार प्रदेशभर स्थानीय तहबाट भएको लागत घटाएर फाइनल लागत तयार गरेर वैशाखको अन्तिम हप्ता ठेक्का प्रक्रियामा अघि बढाइने छ ।” आयोजनाको कुल लागत रकमको १० प्रतिशत रकम उपभोक्ताले उपलब्ध गराउने ऐनमा व्यवस्था छ । सोअनुसार रकम उपलब्ध गराउने सुनिश्चित नभएपछि आयोजना कार्यान्वयनमा ढिलाइ भएको इन्जिनियर सुवेदीले बताए ।
अहिले बेनी नगरपालिकाले र रघुगंगा गाउँपालिकाले जनश्रमदानको १० प्रतिशत रकम उपलब्ध गराउने प्रतिबद्धता पत्र उपलब्ध भइसकेपछि स्रोत सुनिश्चिता भएको छ । फिल्ड भेरिफिकेसन सकेपछि संघीय खानेपानी कार्यालयबाट आयोजनालाई बहुवर्षीय योजनामा स्वीकृत गराएर ठेक्का प्रक्रिया चालू आवको वैशाखको अन्तिमसम्म गर्ने योजनासहित आयोजनाको काम इन्जिनियर तयारी गरिरहेका छन् । आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकार र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम उपलब्ध गराउनुपर्छ ।
ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्नसक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान रकमको सुनिश्चितता स्थानीय तहमार्फत् उपलब्ध भएपछि दुई खानेपानी आयोजनालाई कार्यालयले अघि बढाएको इन्जिनियर सुवेदीले बताए । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने कालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्यांकीसम्म पानी ल्याउन मुख्य पाइपलाइन रहने छ ।
यो आयोजना निर्माणका जनश्रमदानसहित ४३ करोड लागत अनुमान छ । यो योजना सम्पन्न भएमा भगवती र पिप्लेका १३ हजार ९१५ जना संख्या लाभान्वित हुने आयोजनाका सबइन्जिनियर विषन भण्डारीले जानकारी दिए । यो आयोजनालाई करिब २० वर्षपछि पनि १९ हजार जनसंख्यालाई खानेपानी सुविधा पुर्याउने लक्ष्यअनुसार डीपीआर तयार भएको छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ पाखापानीको कालीबराह खोलाको मुहानबाट पाइपलाइन मार्फत् ल्याइएको पानीलाई पाखापानीकै शीरमा रहने ट्यांकीबाट वितरण पाइपमार्फत् पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । यो खबर कारोबार दैनिकले प्रकाशन गरेको छ । आयोजना सम्पन्न गर्न ४५ करोड लागत अनुमान रहेको छ । योजना सम्पन्न भएपछि ११ हजार ९१५ जनसंख्याई लाभान्वित हुनेछन् ।


892 पटक हेरिएको 

