
सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइपलाइनमा भएको टुटफुट मर्मत गर्ने बिषयमा सम्बन्धित पक्षले आलटाल गरेपछि बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गाउँपालिकाको न्यायिक समिति गुहारेको छ । क्षति पुर्याएको पाइपलाइनको मर्मत गरिदिने बिषयमा कसैले चासो नदिएपछि खानेपानी उपभोक्ता संस्थाले सरोकारवाला पक्षसँग छलफल गराई समाधानको उपाय खोज्न न्यायिक समिति समक्ष अनुरोध गरेको हो ।
यही चैत्र १ गते बराहताल गाउँपालिका ८ को ओदालताल कृषि सडक निर्माण गर्ने क्रममा बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी पाईप टुटफुट भएको थियो । त्यस लगत्तै खानेपानी उपभोक्ता संस्थाले प्रहरी चौकी बड्डीचौरमा समन्वयकारी भूमिका निर्वाह गराईदिन निवेदन दिएको थियो ।
खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि तत्काल मर्मत सम्भार गरी सुचारु गराईदिनु पर्नेमा उल्टै उपभोक्ता संस्थाले नै मर्मत सम्भार गरी खानेपानी सुचारु गर्नुपर्छ जस्ता गैरजिम्मेवार भनाइ आईरहेको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन बुचा मगरले बताउनुभयो । जसले बिगारेको हो, उसैलाई खानेपानी मर्मत गरी सुचारु गर्न निर्देशन दिनुपर्नेमा वडा कार्यालयले समेत क्षति पुर्याउने पक्षलाई उन्मुक्ति दिए पछि गाउँपालिकाको न्यायिक समितिमा जानु परेको अध्यक्ष मगरको भनाइ छ ।

बराहताल गाउँपालिका वडा नं. ८ को कार्यालयले बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई खानेपानी पाइप मर्मत गरिदिन पत्राचार गरिसकेको छ । वडा कार्यालयले लेखेको पत्रमा भनिएको ‘सडक निर्माण गर्ने क्रममा पाइप काटिएकोमा सडक निर्माण कन्स्ट्रक्सनले क्षति भए भन्दा बढी पाइप उपलब्ध गराएकोमा त्यहाँका बासिन्दहरुले बारम्बार पाइपलाइन मर्मत गरिदिन आग्रह गर्दा पनि तहाँ संस्थाले खानेपानी पाइप मर्मत गरी खानेपानी उपलब्ध गराउने कार्यमा ढिलासुस्ती गरेकाले बेलचौर टोलमा खानेपानीको अभाव भएको भन्ने जनगुनासो आएको हुनाले तुरुन्त प्राविधिक टोली खटाई खानेपानी पाईप मर्मत गरी खानेपानी उपलब्ध गराईदिनका लागि अनुरोध छ ।’
वडा कार्यालयले खानेपानी उपभोक्ता संस्थालाई तुरुन्त खानेपानी उपलब्ध गराउन अनुरोध गरेपनि खानेपानी उपभोक्ता संस्था भने क्षति गराउने पक्षबाटै मर्मत हुनुपर्ने अडानमा छ । ‘वडा कार्यालयले यही कुरा क्षति गराउने पक्षलाई भनुन्, जसले क्षति पुर्याएको हो, मर्मत सम्भार गर्ने दायित्व पनि उसैको हुन्छ ।’ अध्यक्ष मगरले भन्नुभयो ‘क्षति अरुले गराउने, मर्मत सम्भार गरी खानेपानी सुचारु हामीले गर्नुपर्ने ? यो पनि मिल्दो कुरा हुन्छ ?’
बाढी, पहिरो, आगलागी जस्ता प्रकोपका कारण खानेपानीको पाइपलाइनमा क्षति पुग्न गई खानेपानी अवरुद्ध भएमा त्यसको मर्मत गरी तुरुन्त खानेपानी सञ्चालन गर्ने जिम्मा आफूहरुको हुने उहाँको भनाइ छ ।
‘हामी यो बिषयलाई गाउँपालिकाको न्यायिक समितिबाटै निरुपण होस् भन्ने चाहन्छौं । यहाँबाट पनि पार लागेन भने उपभोक्ताको खानेपानी उपभोग गर्न पाउने हकको रक्षा गर्न जहाँ जानुपर्छ हामी त्यहाँ सम्म जानेछौं ।’ उहाँले भन्नुभयो ।
बेलचौरका उपभोक्ता यही चैत्र १ गते देखि खानेपानी सेवाबाट बञ्चित छन् । बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १२ सय बढी घरपरिवारलाई स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ ।
जसले नोक्सान पुर्यायो, उसैले व्यहोर्नुपर्ने
खानेपानी तथा सरसफाइ ऐन २०७९ ले समेत खानेपानी वा सरसफाइ संरचनामा हानी नोक्सानी पुर्याए सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने उल्लेख छ । यदि त्यसो नगरेमा मुद्दा हेर्ने अधिकारीले उचित रकम क्षतिपूर्ति बापत भराई दिन सक्ने व्यवस्था छ ।
ऐनको दफा ४३ को उपदफा (२) मा भनिएको छ ‘कसैले खानेपानी वा सरसफाइ आयोजना वा सेवा प्रणाली र त्यसको संरचनामा कुनै पनि प्रकारले हानी नोक्सानी वा क्षति पुर्याएमा मुद्दा हेर्ने अधिकारीले उचित रकम क्षतिपूर्ति बापत भराई दिन सक्ने’ उल्लेख छ ।


1750 पटक हेरिएको 

