जाजरकोटमा ४७ वटा खानेपानीका योजना निर्माण हुँदै

अघिल्ला वर्षका अधुरा योजना पनि पूरा हुने

  वास खबर सम्वाददाता  483 पटक हेरिएको

जाजरकोट : जाजरकोटका सात वटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानी योजना निर्माण भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारको विनियोजित रकमबाट खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका क्षेत्रमा उक्त योजना निर्माण भइरहेका हुन् ।

६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो। त्यस्तै अघिल्लो वर्ष अधुरा रहेका १२ वटा सिँचाइ योजना समेत यसै आर्थिक वर्षमा पूरा हुन लागेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै १७ वटा अघिल्ला वर्षका अधुरा योजना पनि यसै आर्थिक वर्षमा पूरा हुन लागेको कार्यालय प्रमुख शाहीले बताउनुभयो । अघिल्लो वर्षको अधुरा योजना पूरा भएमा अधिकांश ठाउँमा सिँचाइ तथा खानेपानीको सुविधा पुग्ने उहाँको भनाइ छ । यो आर्थिक वर्षमा समेत तत्कालीन जलस्रोत तथा ऊर्जा विकास मन्त्रीले सम्भाव्यता अध्ययनका लागि भन्दै मन्त्रीस्तरीय निर्णय गरी प्रत्येक पालिकाबाट एक सय भन्दा बढी योजना पठाउनुभएको थियो ।

उक्त योजनाको अहिले सम्भाव्यता अध्ययन गरी आउँदो बजेटमा समेट्न लागिएको छ । केही योजना पालिकाले समेत आफैं निर्माण गरिरहेका छन् । भेरी बेसिन सिँचाइका योजना समेत सम्भाव्यता अध्ययनकै अवस्थामा रहेको बताइएको छ । ४० भन्दा बढी संघीय सरकारबाट प्राप्त योजना समेत जाजरकोटमा चालू अवस्थामा छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा अब महत्व र दीर्घकालीन समस्या टार्ने खालका योजनाको काम भइरहेको बताउनुभयो।

समय फेरिँदै जाँदा हाम्रा आवश्यकता समेत बदलिँदै गएको भन्दै मन्त्री बस्नेतले जिल्लाको विकासका लागि पहिलो सर्त खानेपानी, सिँचाइ र सडक भएको बताउनुभयो । भेरी किनारमा विद्युतको सहायताले पानी तानेर सिँचाइ गर्ने योजना रहेको र केही ठाउँमा त्यो कामको सुरुवात भइसकेको उहाँको दाबी छ । कारोबार दैनिकको सहयोगमा ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार