एउटै जिल्लाका ४ लिफ्टिङ खानेपानी आयोजना अलपत्र

योजना अलपत्र पर्दा झन्डै २ हजार परिवार प्रभावित

  वास खबर सम्वाददाता  545 पटक हेरिएको

सल्यान : संघीय र प्रदेश सरकारको अनुदानबाट छत्रेश्वरी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ४ लिफ्ट खानेपानी योजना २ वर्षदेखि अलपत्र परेका छन् । निर्माण कम्पनीले विभिन्न बहाना बनाइ समयमै काम नगर्दा छत्रेश्वरी–३ स्थित ज्यामिरे, ७ नम्बर वडाको पन्नेताल, कालीमाटी–१ कोटस्थित कोट बयाले र बन्गाडकुपिण्डे स्थित सल्लीबजार लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन् ।

दुवै सरकारको संयुक्त रूपमा ३ वटा आयोजनाका लागि ३/३ करोड र कोट बयाले खानेपानी योजनाको लागि १ करोड रुपैयाँ विनियोजन गरेका छन् । छत्रेश्वरी गाउँपालिकाका २ योजनाको लागि २०७६ मा टेन्डर गरिएको थियो । जस अनुसार प्राकृतिक/निसान जेभीले योजना काम गर्ने जिम्मेवारी पाएको थियो । केही काम उपभोक्ता समिति मार्फत पनि भइरहेको छ । तर मुस्किलले आधा काम पनि भएको छैन । अन्य २ योजनामा झन्डै ६०/६० प्रतिशत काम सकिएको छ ।

खानेपानी योजनाहरू अलपत्र पर्दा झन्डै २ हजार परिवार प्रभावित भएका छन् । ज्यामिरे लिफ्ट खानेपानी योजनाको काम समयमै सम्पन्न नहुँदा टुनीबोट, सिमपानी, कोट, रावतगाउँ, मुसिटाकुरी र ज्यामिरेका ४ सय घरपरिवार प्रभावित भएको र एक गाग्री पानीका लागि डेढ घन्टा हिँडेर विभिन्न मुहान चाहर्नुपर्ने बाध्यता भएको वडाध्यक्ष तीर्थराज दाहालले बताउनुभयो ।

ठेकेदारले समयमै काम सम्पन्न नगरी त्यत्तिकै छाड्दा निर्माण गरिएका संरचना पनि जीर्ण बन्दै गएको उहाँको भनाइ छ । ‘खडेरीका कारण गर्मी चढेपछि गाउँ नजिकैका पानीका मुहान सुक्दै गएका छन्,’ उहाँले भन्नुभयो ‘अहिले एक गाग्री पानी भर्न पनि स्थानीयलाई लाइन बस्नुपर्ने बाध्यता छ ।’

पन्नेताल लिफ्ट खानेपानी योजना विभिन्न बहाना बनाउँदै ठेकेदारले काम नगरेपछि करिब ७ सय परिवारले लामो समयदेखि सास्ती व्यहोरिरहेको स्थानीय कमल टेकबहादुर विष्टले बताउनुभयो । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उहाँले भन्नुभयो ‘वर्षौंदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उहाँले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताउनुभयो ।

डाँडामा भएको बस्तीका कारण २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको कोट बयालेकी कमला ओलीले गुनासो गर्नुभयो । वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न विभिन्न सास्ती भोग्दै आएको उहाँको भनाइ छ । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौ, उहाँले भन्नुभयो ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ उहाँका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालन गर्न पनि समस्या भएको उहाँले बताउनुभयो । स्थानीय अगुवा कमल विकले उनले वर्षामा बाहेक अन्य ६ महिना खानेपानीको समस्या भोग्नुपरेको बताउनुभयो। खानेपानी समस्याका कारण अधिकांशका शौचालय प्रयोगविहीन भएका छन् ।

छत्रेस्वरी गाउँपालिका–३ र ७ मा कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीका सञ्चालक डिल्ली केसीले आगामी असार भित्रै दुई योजना सम्पन्न गरी हस्तान्तरण गर्ने दाबी गर्नुभयो । खानेपानी तथा ऊर्जा विकास कार्यालयका प्रमुख पदमराज देवकोटाले सल्लीबजारको लिफ्ट खानेपानी योजना पाइपलाइन कहाँबाट खन्ने भन्नेबारे विवाद हुँदा रोकिएको बताउनुभयो । उहाँका अनुसार ‘पाइपलाइन विस्तारको लागि सहमतिको प्रयास भइरहेको छ । सहमति भए यो महिनाभित्रै योजना सम्पन्न हुन्छ,’ उहाँले दाबी गर्नुभयो । कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार