आयोजना सम्पन्न नहुँदै खानेपानी संरचना जीर्ण

५० करोड बजेट आवश्यक पर्नेमा चालु वर्ष पौने १३ करोड मात्रै

  वास खबर सम्वाददाता/पर्वत :  464 पटक हेरिएको

♦ दुई वर्षमा सक्ने गरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शंकरपोखरी खानेपानी आयोजनाको लागत स्टिमेट १८ करोड रुपैयाँको छ । उक्त योजनाका लागि बर्सेनि १८ देखि २० लाखका दरले बजेट प्राप्त हुन्छ ।

♦ तीन वर्षमा सक्ने गरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण भइसकेको छ । वहाकी र शालिग्रामका साढे दुई सय घरधुरीलाई एक वर्षमा घरघरै धारा पुर्‍याउने लक्ष्य सहित सुरु गरिएको आयोजना अपूरो छ । यो आयोजनालाई चालु वर्ष १० लाख मात्रै बजेट छ ।

♦ २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रेतिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण भइसकेको छ । उक्त योजनाका लागि चालु वर्ष १८ लाख मात्रै बजेट प्राप्त भएको छ ।

♦ २०७१ मा ८ करोड लागत अनुमान गरी सुरु भएको लुङ्खु खानेपानी आयोजना बजेट अभावले अलपत्र छ ।

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले हुवासमा सुरु गरेको हुवास छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । झन्डै ८ हजार स्थानीयलाई घरघरै धारा पुर्‍याउने लक्ष्य सहित सुरु आयोजनाको डेढ दशक बित्यो । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय कुश्माका इन्जिनियर शिवशंकर शाहका अनुसार हाल जिल्लाभर ३ करोडदेखि २० करोड लागत स्टिमेटका ७६ खानेपानी आयोजना छन् ।

ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेट अनुसार करिब ३ अर्ब पुग्छ । तर, मन्त्रालयबाट आउने बजेट बर्सेनि ५ प्रतिशत भन्दा बढ्न सकेको छैन । सबै आयोजना आव २०७५/७६ मा सम्पन्न हुनुपर्ने हो । आयोजनाको लागत स्टिमेट अनुसार काम हुन बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु वर्ष पौने १३ करोड मात्रै अख्तियारी आएको शाहले बताउनुभयो । ‘यो वर्ष आवश्यक बजेटको ५ प्रतिशत बजेट पनि छैन, हामीले सबै काम द्रुत गतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइनमै छन् । बजेटै नभएपछि काम अघि कसरी बढ्ने ।’ उहाँले भन्नुभयो । बजेट अभावका कारण फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता दिन समेत नसकिएको उहाँले बताउनुभयो ।

सञ्चालित अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मत सम्भार कोषमा एक प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सकेका छन् । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मत सम्भार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ताले पानीको आसैआसमा पुस्ता बित्ने भन्दै निराश व्यक्त गरेका छन् । कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार