गाउँभरिको खानेपानी समस्याको मुक्तिदाता बन्यो भूपू गोर्खा सैनिक परिवार

  वास खबर सम्बाददाता  337 पटक हेरिएको


तनहुँ : तनहुँको भानु नगरपालिका स्थित सिमलचौरको ३४ घरले खानेपानीको समस्याबाट मुक्ति पाएको सामाजिक कथा सँग स्वर्गीय जगत बहादुर आले मगरको नाम पनि सँगै जोडिएर आउँछ । उहाँका पनातिनीहरु भन्छन् ‘हाम्रा बराजु गोर्खा सैनिकमा भर्ती नभएको भए खानेपानीका लागि गाउँ भरिका मानिसहरु डोको नै बोकिरहेका हुन्थ्यौं । तर अहिले त पानीको मूल नै घरभित्रै पसे जस्तै लाग्छ ।’

पुस्तौं पुस्ता देखि खानेपानी समस्याबाट गुज्रिदै आएका सिमलचौरबासी भन्छन् ‘हाम्रा लागि स्वर्गीय जगतबहादुर आले मुक्तिदाता नै हुनुहुन्छ ।’

सिमलचौरको खानेपानी समस्याको समाधान सँग पूर्व गोर्खा सैनिक जगत बहादुर आलेको परिवारको अभिन्न सम्बन्ध छ । जगतबहादुरले दोस्रो विश्व युद्धका बेला सन् १९४० नोभेम्बर देखि १९४६ मे सम्म गोर्खा सैनिकमा सेवा गर्नुभएको थियो ।

बेलायत सरकारले आफ्ना भुपू गोर्खा सैनिकका परिवारको लागि गोर्खा वेल्फेयर ट्रष्ट मार्फत स्वास्थ्य, औषधोपचार, निवृत्तिभरण तथा अन्य सेवा सुविधाका सवालमा समेत हेरबिचार गर्दै आएको छ । भुपू गोर्खा सैनिक जगत बहादुरको केही बर्ष पहिले नै देहान्त भए पनि उहाँकी धर्मपत्नी दिर्घमाया आले मगर गाउँमै हुनुहुन्छ। आफ्ना भूतपूर्व गोर्खा सैनिकको परिवारको अवस्थाबारे बुझ्दै जाने क्रममा केही समय पहिले गोर्खा वेल्फेयर ट्रष्टका कर्मचारीहरु सिमलचौर स्थित दिर्घमाया आले मगरको घरमा पुग्नुभयो ।


गोर्खा वेल्फेयर ट्रष्टका सामाजिक विकास अधिकृत पिताम्बर थापा भन्नुहुन्छ ‘वेल्फेयरका कर्मचारीहरुसँग दिर्घमाया आमाले गाउँमा खानेपानीको समस्या भएको र गाउँले सबैलाई खानेपानी उपलब्ध गराउन पाए पूण्य मिल्थ्यो भन्ने कुरा गर्नुभएछ ।’

भूपू गोर्खा सैनिकको परिवारले खानेपानीको माग गरेपछि नै सिमलचौरमा खानेपानी योजनाको सर्भेक्षण, डिजाइन स्टिमेट लगायतको काम भएको वेल्फेयरका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रतिक गुरुङले बताउनुभयो ।

सिमलचौरमा भूपू गोर्खा सैनिकको परिवार नभएको भए गोर्खा वेल्फेयर ट्रष्ट पनि नआउने र खानेपानीको समस्या पनि समाधान नहुने उपभोक्ता समितिकी सचिव बबिता आलेको दाबी छ । वेल्फेयरले खानेपानी योजना बनाउने भएपछि कसैले खानेपानीको मुहानको संरचना निर्माण गर्न र कसैले रिजर्भ्वायर ट्याङ्क निर्माण गर्न जग्गा दान गरेको उहाँले बताउनुभयो।

केही समय अघि उक्त खानेपानीको अनुगमन गर्न पुग्नु भएका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रतिक गुरुङले समेत एक जना भुपू गोर्खा सैनिकको परिवारका कारण सिँगो गाउँलेले नै सुरक्षित पानी पिउन पाउनु संस्थाका लागि पनि गौरवको बिषय भएको बताउनु भएको थियो ।

हेर्नुहोस् यो भिडियो :

मूलको पानी आँगनमै

उही मुहान, पिउने मानिस पनि उही । तर पहिले पानी लिन डोको बोकेर जानुपर्थ्यो, अहिले धारा खोले पुग्छ । अर्थात पहिले मानिस धाउथे, अहिले मुहान नै घर आँगनमा आईपुगेको छ । खानेपानी बोकेरै आधा जीवन कटाएका आमाहरु भन्नुहुन्छ ‘बाबु अहिले त खानेपानीको मूल नै आँगनमा आए जस्तै लाग्छ ।’


हुन पनि पहिले खानेपानी बोक्न घरभन्दा तलतिर रहेको मूहानमा जानुपर्थ्यो । जाँदा सीधै ओरालो, आउँदा फेरि सीधै उकालो । खानेपानीका लागि चरम दुःख खेपेका सिमलचौरबासी भन्छन् ‘त्यो बेला पानीको दुःख थियो, अहिले त केहीको पनि दुःख छैन ।’

सिमलचौर बस्ती भन्दा तलतिर रहेको दुईवटा मूलको पानीलाई जम्मा पारेर ८२ मिटरको भर्टिकल हाईटमा लिफ्टिङ गरेपछि बस्ती भन्दा तलको पानी डाँडामा उक्लिएको हो । त्यहाँ बनेको ७ हजार लिटरको रिजर्भ्वायर ट्याङ्कमा पानी जम्मा गरेर गाउँभरि बिछ्याएको २२ सय ७ मिटर पाइपलाइन बाट धारा धारामा पठाए पछि पानीको मूल आँगनमै आईपुगे जस्तो भएको हो ।

दिगोपनाको योजना

सिमलचौर खानेपानी योजना मात्रै नभई गोर्खा वेल्फेयर ट्रष्टले निर्माण गर्ने हरेक योजनाहरुको दिगोपनाको दृष्टिकोणबाट विश्लेषण गरिएको हुन्छ । दिगोपनाका पर्याप्त आधारहरु भएमा मात्र त्यस्ता योजनाहरु छनौट गरिन्छ ।

गोर्खा वेल्फेयर ट्रष्टका प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीका अनुसार यो योजनामा बिजुली नभएको बेला पनि जेनेरेटरबाट पानी आपूर्ति गर्न सकिने गरी निर्माण गरिएको छ ।


सिमलचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रेशम बहादुर मगरले खानेपानीको मर्मत सम्भारका लागि कोष स्थापना गरिएको बताउनुभयो । ‘हाम्रो मर्मत सम्भार कोषमा २ लाख भन्दा बढी रकम मौज्दात छ’ उहाँले भन्नुभयो ‘ट्रष्ट मार्फत खानेपानीको मर्मत सम्भार कार्यकर्तालाई तालिम प्रदान गरी निपूण बनाएकाले सामान्य खालको मर्मत सम्भार गर्ने जनशक्ति पनि उपभोक्ता समितिसँगै भएकाले दिगो हुनेमा हामी विश्वस्त छौं ।’


उपभोक्ता समितिकी सचिव बबिता आले खानेपानीको योजना पार्न भूपू सैनिक परिवारको योगदान अहं भए पनि हरेक घरपरिवारको उत्तिकै श्रम परेको बताउनुहुन्छ । ‘परिश्रमको फल मीठो हुन्छ भन्थ्यो, हो रहेछ, हामीले धेरै दुःख गर्‍यौं, तर अहिले घरआँगनमा सेतो धारा ठडिएको छ। जत्ति बेला खोल्यो त्यत्ति नै बेला पानी झर्छ’ हाम्रो पसिनासँग जोडिएको हुनाले हामी ढुक्क छौ, यो खानेपानी पुस्तौं पुस्तासम्म दिगो रहनेछ।’

सिमलचौर खानेपानी तथा सरसफाइ योजनाको अनुमानित लागत ३८ लाख ६६ हजार ३०१ रुपैयाँ मध्ये २९ लाख ९७ हजार १८३ रुपैयाँ गोर्खा वेल्फेयर ट्रष्ट र ८ लाख ५९ हजार ११८ रुपैयाँ उपभोक्ताको श्रमदान हुने अनुमान गरिए पनि वास्तविक लगानी ३० लाख २० हजार ४४९ रुपैयाँ भएको छ । ती मध्ये गोर्खा वेल्फेयर ट्रष्टको २३ लाख ३७ हजार ६३९ रुपैयाँ अनुदान र उपभोक्ताले ६ लाख ८२ हजार ८ सय बराबरको श्रमदान गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार