
सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको डेढ महिना भयो। घरछेउमा भएको डिप बोरिङमा पानी आउन छाडेपछि उनको छटपटी बढेको हो।
चुरे सिरानको यो बस्तीका जनता पहिला पानीका लागि काकाकुल बनेका थिएनन्। हरेक बस्तीमा पानीको स्रोत इनार थियो। इनारमा प्रशस्त पानी पलाउँथ्यो। राम भन्छन्, ‘यस भेगमा चुरे र चुरे संरक्षित क्षेत्रमा दोहन बेलगाम बनेपछि पानीको सतह तलतल जान थालेको छ। इनारहरू त सुकी सके। पछिल्लो समय डिप बोरिङमा पनि पानी आउन छाडेकाे छ। यस भेगमा चुरे र संरक्षित क्षेत्रमा दोहनको गति यस्तै रहे खानेपानी संकट विकराल बन्ने निश्चित छ।’ यहाँका १५० घर प्यास मेट्न नकिकका गाउँटोल धाउन बाध्य छन्।
धनगढीमाई नगरपालिकाका स्थानीय खानेपानीको चर्को संकट निम्तिनुको मूल कारण अनियन्त्रित रूपमा चुरे र चुरे संरक्षित क्षेत्रको दोहनलाई ठान्छन्। बस्तीको दक्षिण, पूर्व र उत्तर तीनैतिर जथाभावी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी, अनियन्त्रित खोलानदी दोहन र चट्टान फोडेर ढुंगा उत्खननका कारण खानेपानी स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेको राम बताउँछन्।
इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, भोर्लेनी, खजनपुरियाटोल, खुट्टी, मड्यान, सर्रे लगायत टोलवासी पिरोलिएका छन्। महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन्। त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन्।
‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’ महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर पानीको आवश्यकता पूरा गरे पनि अहिले त्यो इनारसमेत सुक्न थालिसकेको छ।’
पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलियाकी शर्मिला यादवले भनिन्, ‘खानेपानी अभावले साह्रै दुःख भोग्नुपरेको छ। पानीको मूल सुकाउने गरी भइरहेको उत्खनन धन्दा बन्द गराइदिनुस्।’
महुलिया बस्तीमा ५५ घरधुरी यादव, २ घर महतो, २ घर राम र १ घर सोनार गरी ६० घरधुरीको बसोबास छ।
मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँज्न थालेको छ। चारनाथ खोला र कमला नदीको उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोलीका कमल महतोले बताए। ‘कल घन्टौं चलाउँदा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी तथा ढल निकास विभागले बनाइदिएको इनार छ तर दुई वर्ष भयो पानी आउन छाडेको छ।
वीरगन्ज महानगरपालिका–१२ मुरली पोखरी टोलका पंकज कुमार मिश्र आफ्नो जीवनकालमा वीरगन्जमा यसरी खानेपानीको हाहाकार भएको अनुभव पहिलो पटक गरेको बताउँछन्। ‘हुन त यो समस्या पहिला पनि देखिएको हो,’ उनले भने, ‘तर यस वर्ष अत्यधिक समस्या भयो।’
उनको परिवारका १२ जनाको दैनिकी पानी अभावमा कष्टकर बनेको छ। नुहाउन, खाना पकाउनसमेत पानीको अभाव छ। वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये २८ वटा वडाका चापकल लगायत पानीका स्रोत सुकेका छन्। जसबाट करिब अढाइ लाख जनता प्रभावित भएका छन्।
२०७८ सालको जनगणनाअनुसार वीरगन्ज महानगरपालिकाको जनसंख्या दुई लाख ७२ हजार छ। तर यहाँ करिब तीन लाख मानिस बसोबास गर्छन्। महानगरपालिकाका इन्जिनियर राकेश साहका अनुसार महानगरका घरघरमा चापाकल राखी मोटर लगाएर पानी तान्ने चलन छ। अहिले सुख्खायाममा चापाकलबाट पानी आउन छाडेपछि स्थानीय काकाकुल बन्नु स्वाभाविकै हो । अहिले ट्यांकरबाट पानी वितरण गरिँदैछ तर यो तत्कालीन प्यास मेट्न मात्र भएको उनले बताए। दीर्घकालीन समाधान त पाइपलाइनमार्फत पानी घरघर पुर्याउनु नै भएको उनले बताए।
वीरगन्ज बजारमा मात्र नभई ग्रामीण भेगमा पनि यो समस्या देखिएको छ। घरघरमा जोडिएका अधिकांश चापाकल सुकेका छन्। चापाकलमा सहजै पानी आउँछ भनेर खानेपानी संस्थानको धारा जडान नगरेका महानगरवासीको भिड अहिले खानेपानी संस्थान वीरगन्ज शाखामा देखिन्छ। सिरहा, धनुषा, पर्साको वीरगन्ज मात्र होइन, चुरेसँग जोडिएका मधेसका जिल्लामा शुद्ध पानीको समस्या छ। चुरे मूल भएका नदीहरूमा पानी सुकेपछि मधेसका दक्षिणी क्षेत्रका गाउँबस्तीमा पनि खानेपानीको समस्या देखिएको छ।
वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दालाई वर्षमा चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ । उनीहरू वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ।
खानेपानी मन्त्री प्रदीप यादव भन्छन्, ुवीरगन्जमा खानेपानीको समस्या सामाधानका लागि बोरिङ जडान कार्यलाई तीव्रता दिइएको छ। तर दीर्घकालीन सामाधानका लागि त पानीको मूल चुरेमै उपचार गर्नुपर्छ । चुरे र संरक्षित क्षेत्रमा भैरहेको अनियन्त्रित दोहन नियन्त्रण नभए मधेसमा पानी संकट बढ्ने खतरा छ।ु
वीरगन्जल गायतका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको अग्रसरतामा प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र वीरगन्जमा खानेपानी आपूर्तिका लागि पठाइएको छ।
मुख्यमन्त्री सिंहले खानेपानी समस्या समाधानका लागि सरकार सक्रिय भएको बताएका छन्। ५ हजार लिटर क्षमता रहेका ८ वटा वारुणयन्त्रले एक पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिरहेको उनले बताए। यी वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापनमा नेपाली सेनाले परिचालन गरिरहेको छ।
यसअघि प्रदेश सरकारले डिभिजन वन कार्यालयका तीन वटा ट्यांकर खानेपानी आपूर्तिका लागि प्रयोगमा ल्याइसकेको छ । यसैगरी खानेपानी समस्या रहेका क्षेत्रमा नेपाली सेनाले पनि ७ वटा ट्यांकर र एउटा वारुणयन्त्रमार्फत उपलब्ध गराइरहेको जनाइएको छ। नागरिक न्यूजबाट साभार गरिएको।


449 पटक हेरिएको 

