बाढीले क्षति पुर्‍याएको पाइप अस्थायी मर्मत पछि वागमतीमा खानेपानी सेवा सुचारु

  वास खबर सम्बाददाता  230 पटक हेरिएको


सर्लाही ः शनिबार राती हरिवन खोलामा आएको बाढीले बगाएको खानेपानीको मुख्य पाइपलाइनको अस्थायी मर्मत पछि वागमती नगरपालिका – १ को वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी सेवा सञ्चालन गर्न थालेको छ ।

वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सोमबार बिहान देखि बेलुकीसम्म अस्थायी रुपमा मर्मत गरेपछि खानेपानी सञ्चालनमा ल्याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष बसन्त भट्टराईले जानकारी दिनुभयो।

सर्लाहीको हरिवन नगरपालिका र वागमती नगरपालिकाको सिमाना भएर बग्ने हरिवन खोलामा आएको बाढीले पाइपलाइनमा क्षति पुर्‍याएपछि १ हजार ३ सय ५० घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका थिए ।

अध्यक्ष भट्टराईका अनुसार हरिवन खहरे खोला क्रस गरेर खानेपानीको मुख्य पाइप लगिएको थियो । पाइपलाइनलाई सपोर्ट गर्न खोलाको बीचमा ठड्याएको पिलर नै बाढीले लडाएर करिब ७० मिटर मुख्य पाइपलाइनमा क्षति पुगेपछि खानेपानी अवरुद्ध भएको थियो ।

‘हामीले खानेपानी उपभोक्ता समिति र उपभोक्ताहरु समेतको प्रयासबाट तत्कालका लागि अस्थायी तरिकाले खानेपानी वितरण गर्न त सफल भएका छौं, तर यो दिर्घकालीन उपाय होइन, दिगो रुपमा बनाउनका लागि जिआई पाइपलाई क्रसिङ गरेरै लैजानु पर्ने हुन्छ’ उहाँले भन्नुभयो।

अध्यक्ष भट्टराईका अनुसार खोलामा पुनः बाढी आएमा अस्थायी पाइप बगाउन सक्ने सम्भावना भएकाले तत्काल नै दिगो समाधानको खोजी गर्नुपर्नेछ । बृहत खानेपानी तथा उपभोक्ता सरसफाइ उपभोक्ता समितिले बागमती नगरपालिका–१ स्थित आदर्श चोकदेखि उत्तरतर्फ रहेको ओभरहेड ट्यांकी मार्फत बागमती नगरपालिकाको वडा नं. १, २ र ३ का करिब २ हजार ३ सय घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार