धनकुटामा धमिलो पानीको बाध्यता अन्त्य: तमोरको किनारमा घरघरमा धारा

  वास खबर सम्बाददाता  163 पटक हेरिएको

धनकुटा : कुनै समय धनकुटा नगरपालिका–९ छिम्सुवाका बासिन्दा तमोर नदीको धमिलो पानी पिउन बाध्य थिए। गाउँ आसपासका प्राकृतिक मुहानहरू सुक्दै गएपछि यहाँ खानेपानीको चरम समस्या सिर्जना भएको थियो। बर्खामा तमोर नदी धमिलो बग्थ्यो, हिउँदमा पानी केही सङ्लो भए पनि मसिना बालुवाका कणहरू मिसिएकै कारण पिउन योग्य रहँदैनथ्यो। विकल्प नभएकाले स्थानीय त्यही धमिलो पानी पिउन विवश थिए।

तर अहिले दुई वर्षअघिदेखि निर्माणाधीन मूलघाट–छिम्सुवा खानेपानी तथा सरसफाइ योजना अन्तिम चरणमा पुगेपछि स्थानीयलाई धमिलो पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ। वडा नं। ९ का सदस्य सुवर्ण कार्कीका अनुसार अब गाउँमा धाराबाट स्वच्छ पानी प्रवाह हुन थालेको छ।

उक्त योजनाका अध्यक्ष टेकबहादुर भण्डारीका भनाइमा साँगुरीगढी गाउँपालिका–६, सिस्ने अलैंचीबारीको मुहानबाट करिब १२ किलोमिटर टाढासम्म पाइप मार्फत पानी ल्याइएको हो। कोशी राजमार्गको घण्टेदेखि मूलघाटसम्म पाइप बिछ्याइएको र तमोर नदीको पक्की पुल हुँदै उच्च स्थानमा पानी संकलन ट्यांकी निर्माण गरिएको छ। त्यहाँबाट संकलित पानी अहिले छिम्सुवाका करिब ४५ घरधुरीमा वितरण भइरहेको छ। मूलघाट आसपासका झन्डै १०५ घरधुरी समेत यस योजनाबाट लाभान्वित भएका छन्।

३ करोड ३३ लाख रुपैयाँ लागतको यस योजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटा र उपभोक्ताको लागत साझेदारी रहेको छ। “जहाँ समस्या, त्यहीँ समाधानको बाटो खोज्न सकिँदो रहेछ,” अध्यक्ष भण्डारीले भन्नुभयो “खानेपानीको गम्भीर समस्या भएकाले हामीले निरन्तर पहल गर्‍यौं र अब गाउँमा धाराबाट पानी बग्न थालेको छ।” उहाँका अनुसार योजना पूर्ण रूपमा सम्पन्न नभए पनि घरघरमा पानी वितरण सुरु भइसकेको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख सन्तोषकुमार दासका अनुसार सीमित स्रोतसाधनका बीचमा पनि यो योजना सफलतापूर्वक सम्पन्न भएको हो। “त्यहाँको समस्या अत्यन्त गम्भीर थियो,” उहाँले भन्नुभयो “योजना सम्पन्न भएपछि स्थानीयवासीहरू अत्यन्त सहज भएका छन्।”

तमोर किनारको बस्ती छिम्सुवामा अहिले खुशीको वातावरण छ। ज्येष्ठ नागरिक फूलमाया कार्की भन्नुहुन्छ, “पहिले नदीबाट घण्टौं हिँडेर पानी ल्याउनुपर्थ्यो, अब आफ्नै घरको धारा खोल्दा पानी आउँछ।” उहाँले केही वर्षअघि तमोर नदीमा पानी लिन जाँदा एक महिलाको मृत्यु भएको घटना समेत सम्झिनुभयो।

भण्डारीका अनुसार परियोजना सञ्चालन सहज थिएन। “मूहान भएको ठाउँ टाढा र दुर्गम भएकाले खर्चिलो पनि भयो,” उहाँले भन्नुभयो “तर स्थानीयको सहयोग र श्रमदानले सबै कठिनाइ पार गर्न सकियो।”

वर्षौंको समस्या अन्त्य भएपछि अब छिम्सुवाका बासिन्दा उत्साहित छन्। घरघरमा स्वच्छ पानीको सुविधा पुग्दा यहाँको दैनिकी सहज र सुरक्षित बनेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार