
हेटौंडा : पाँच धुर अर्थात करिब साढे दुई आना क्षेत्रफल भित्रै घर, शौचालय, बाथरुम र धारा पनि त्यही निर्माण गरिएको छ । यो एउटा घरको कुरा मात्र होइन, बस्तीमा रहेका करिब १९ सय घरको अवस्था लगभग उस्तै छ ।
चर्पी, पानीको स्रोत भन्दा कम्तिमा ५० फिट (१५ मिटर) टाढा हुनुपर्छ । तर सिमलटारमा सीमित जग्गाका कारण कतिपय घरको शौचालय र हातेपम्प टाँसिए जस्तै गरी बनाएका छन् ।
कुरा हो हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ सिमलटारको । ‘सीमित परिधि भित्र घर सहित सबै संरचना निर्माण गर्नुपर्ने अवस्था कसरी आयो त ?’ हामीले सिमलटार टोल विकास संस्थाका कार्यसमिति सदस्य जोसन सिंह योञ्जनलाई सोध्यौं । ‘पहिले शहरी योजना बनाएर बसाएको बस्ती होइन । यो सरकारी जग्गा हो । शहरी योजना बन्नु भन्दा पहिले मानव बस्ती बस्यो । करिब २०५२/०५३ साल तिर देखि आएर यहाँ बस्ती बसालेको बताईन्छ । सुरुमा बस्नेले जे गरे, त्यसपछि आएकाहरुले पनि त्यसरी नै स–सानो ठाउँ ओगटेर बस्न थाले’ उहाँले भन्नुभयो ।

सानो एरियामा घर, शौचालय, खानेपानीको लागि हाते पम्प अटाउनुपर्दा खानेपानी र सरसफाइको अवस्था अस्तव्यस्त भएको छ । जोशन भन्नुहुन्छ ‘टाउन प्लानिङ भएको भए खानेपानी सेवा प्रदायक संस्थाले सुरक्षित खानेपानी प्रदान गर्नुहुन्थ्यो, त्यस बापत हामीले बील तिर्नुपर्थ्यो । तर त्यसो नभएकाले चलन चल्तीमा जसरी सर्वसुलभ तरिकाले खान पाइन्छ त्यसरी नै कल गाडेर खानेपानी पिउँदै आएका छौै ।’
खानेपानीको कल र शौचालय पनि सँगसँगै हुँदा दुषित पानी पिउनु परेको सिमलटार टोल विकास संस्थाका अर्का कार्यसमिति सदस्य शारदा शर्माले बताउनुभयो । ‘भूमिगत पानी प्रदुषणको तह यत्तिसम्म भएको छ कि, पानी नै खाँदा पनि नाला नै गन्हाउँछ’ उहाँले भन्नुभयो।

कलधाराबाट पिईरहेका पानी अहिलेसम्म परिक्षण नभएको र शुद्धिकरण समेत नगरिएकाले प्रदुषित भएको हुनसक्ने जोशनले बताउनुभयो । ‘सेप्टिक ट्याङ्की र हातेपम्पको दुरी कति पनि फरक छैन, पानी प्रदुषण नहुने त कुरै भएन’ उहाँ भन्नुहुन्छ ‘त्यो पानीले गर्दा भविश्यमा रोग निम्तिन सक्छ होला जस्तो लाग्छ ।’
चर्पी, पानीको स्रोत भन्दा कम्तिमा ५० फिट (१५ मिटर) टाढा हुनुपर्छ । तर सिमलटारमा सीमित जग्गाका कारण कतिपय घरको शौचालय र हातेपम्प टाँसिए जस्तै गरी बनाएका छन् ।
सिमलटारको हरेक जसो घरमा सेप्टिक ट्याङ्की भनेर बनाएको संरचना पनि रिङ हालेर बनाएको खाल्डो मात्र छ । त्यसको फेदमा ढलान गरिएको पनि छैन । बनाएको बर्षौ भैसक्दा पनि खाल्डो नभरिए पछि जमिनमुनि खानेपानीमै मिसिएको हुनसक्ने शारदाको आंकलन छ । ‘बर्षेनी झाडापखालाले बिरामी हुन्छन्, दिसाको रस मिसिएको पानी पिएरै त होला ? कहिले त टाइफाइड र हैजा फैलिन्छ कि भन्ने डर लाग्छ’ उहाँले भन्नुभयो ।
हेटौंडा उपमहानगरपालिकामा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । सिमलटारबासीको जनस्वास्थ्यको रक्षा गर्न सबैभन्दा पहिले सिमलटार बस्तीको प्रत्येक घरमा खानेपानी धारा जडान हुनुपर्ने जोशनको माग छ । ‘यो बस्तीमा बसोबास गर्नेहरु कसैको आयश्रोत कम हुनसक्छ । कसैको धेरै पनि हुन सक्छ, यसलाई मध्यनजर गरी सबैलाई किफायती हुने गरी प्रत्येक घरलाई सुरक्षित खानेपानी उपलब्ध गराउनुुपर्छ ।’
सरसफाइको सवालमा पनि नगरपालिका वा कुनै पनि संघसंस्थाले सिमलटार बस्तीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको देखिदैन । शौचालयमा कस्तो खालको सेप्टिक ट्याङक हुनुपर्ने, शौचालय र हाते पम्पको दुरी कति हुनुपर्ने ? सुरक्षित सरसफाइका लागि के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘मानिसहरु आफ्नो स्वास्थ्य प्रति सदैव सजग हुन चेतना चाहिन्छ, चेतना अभिवृद्धिका लागि कार्यक्रम चाहिन्छ । अहिलेसम्म कुनै कार्यक्रम सञ्चालन नभएर पनि यस्तो अवस्था आएको हो’ उहाँले भन्नुभयो ।

सिमलटारमा उत्सर्जन भएको ठोस फोहोरमैला संकलनका लागि महिनामा दुई पटक उपमहानगरपालिकाको गाडी आउँछ । घर घरबाट संकलित फोहोर त्यही गाडीमा पठाउने गरिएको छ भने शौचालयको खाल्डो भरिएको खण्डमा पनि उपमहानगरपालिकाले नै गाडी पठाउने गरिएको शारदाले बताउनुभयो ।
उपमहानगरपालिकाले सिमलटारको खानेपानीको परिक्षण गरी तत्काल खानेपानीको सुधार र सेप्टिक ट्याङ्कीलाई स्तरीय बनाउने काममा ढिलाई गर्नु हुन्न । जत्तिसुकै असल उद्देश्यले गरिएको भए पनि बेला बिते पछि गरिएको कार्यक्रम ‘लगन पछिको पोते’ जस्तै हुने भएकाले उपमहानगरपालिकाले विज्ञ टोली खटाएर त्यहाँको अवस्था विश्लेषण गरी सुरक्षित खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तदारुकता देखाउनुपर्छ ।
नगरव्यापी समावेशी सरसफाइ अवधारणाको अवलम्बनबाट मात्र सबै तह र तप्काका नागरिकसम्म सुरक्षित सरसफाइ सेवाको पहुँच पुर्याउन सकिने हुँदा हेटौंडा उपमहानगरपालिकाले यो कदम चाल्न जत्ति ढिलाई गरिन्छ, त्यत्ति नै जनस्वास्थ्य जोखिममा पर्ने सरसफाइ विज्ञहरुको तर्क छ।


272 पटक हेरिएको 

