
पोखरा : पोखराको जिरो किलोमिटरबाट पोखरा बाग्लुङ राजमार्ग तर्फ अगाडि बढ्दा २.३ किलोमिटर पार गरे बाग्लुङ बसपार्क आउँछ। बसपार्कमा रहेको सार्वजनिक शौचालयको रेखदेख विगत ८ बर्षदेखि आशिका केसीले गर्दै आउनु भएको छ ।
हेपाहा व्यवहार गर्ने, दिसापिसाब गरेको शुल्क समेत नतिरी हिड्ने र गाली गर्ने मानिसहरु प्रति उहाँको कुनै गुनासो छैन । आशिका भन्नुहुन्छ ‘मलाई मेरो पेशा प्रति गर्व छ । काम सानो वा ठूलो हुँदैन । काम काम नै हो ।’
सहकारी संस्थाले सञ्चालन गर्दै आएको सार्वजनिक शौचालयमा आशिका कर्मचारीको रुपमा काम गर्नुहुन्छ। शौचालयको सरसफाइ गर्ने, प्रयोगकर्तासँग सेवा शुल्क संकलन गर्ने र सहकारीमा रकम जम्मा गर्ने उहाँको जिम्मेवारी भित्र पर्छ ।
सात बर्षसम्म एउटै स्थानमा काम गर्दा उहाँले धेरै मानिसहरु सँग साक्षात्कार गर्नु भएको छ। मानिसको आनीबानी र व्यवहारलाई नजिकबाट नियाल्नु भएको छ। बसपार्क र पर्यटकीय स्थल पनि भएकाले शौचालय प्रयोगकर्ता पनि पूर्व देखि पश्चिम सम्मका रङ्गी विरङ्गी मानिस आउने उहाँको अनुभव छ ।
‘शौचालय प्रयोग गरेर फोहोर बनाई राख्ने, शौचालयमै लागु औषध प्रयोग गर्ने र शौचालय प्रयोग गरेर पनि शुल्क तिर्न नमान्ने मानिसहरु आउँछन्’ आशिका भन्नुहुन्छ ‘कोही चाहिं शुल्क तिरेपछि सफा गर्ने काम शौचालय सञ्चालककै हो भन्ने मानसिकता भएको र कोही शौचालयको सामान तोडफोड गर्ने खालका पनि आउँछन् ।’

जस्तोसुकै शौचालय प्रयोगकर्ता आए पनि आशिका हाँसी हाँसी सेवा दिनुहुन्छ । किनकि उहाँ आफ्नो पेशा प्रति जिम्मेवार र खुसी हुनुहुन्छ । शौचालय फोहोर हुँदा विभिन्न संक्रामक रोगहरु फैलिने सम्भावना प्रति उहाँ सजग हुनुहुन्छ । त्यसैले पनि शौचालयलाई सधैं सफा राख्नुहुन्छ । आशिका भन्नुहुन्छ ‘मलाई फोहोर गरेको मन पर्दैन । गन्ध आउने गरी राख्न पनि मन लाग्दैन । शौचालय फोहोर भयो कि त तत्काल सफा गर्न सुरु गरिहाल्छु।’
यी बाहेक शौचालय सरसफाइ गर्ने उहाँको नियमित तालिका छ । राती बन्द गर्ने बेला सफा गरे पछि बिहान १० बजे एक पटक सफा गर्ने र दिउँसो २/३ बजे पुनः सफा गर्ने गरिएको उहाँले बताउनुभयो।’
शौचालय सफा गर्ने कामलाई समाजले हेयको दृष्टिले हेर्ने गरेको उहाँको अनुभव छ । हेपाहा व्यवहार गर्ने, दिसापिसाब गरेको शुल्क समेत नतिरी हिड्ने र गाली गर्ने मानिसहरु प्रति उहाँको कुनै गुनासो छैन । आशिका भन्नुहुन्छ ‘मलाई मेरो पेशा प्रति गर्व छ । काम सानो वा ठूलो हुँदैन । काम काम नै हो ।’

आफ्नो काममा आफू सन्तुष्ट रहन सके दुनियाँलाई खुसी पार्न आवश्यक नरहेको उहाँको तर्क छ । ‘मेरो काम मलाई राम्रो लाग्छ । अरुले त नराम्रै भन्छन् । तँ गतिली होइन पनि भन्छन् । हरेक मानिसहरुले बचन दिन्छन् । गाली गर्छन् । दिसापिसाब गरेपछि पैसा लाग्छ भन्दा पनि झगडै गर्न खोज्छन् मान्छेहरु तर मलाई केही जस्तो लाग्दैन । आफ्नो दायित्व पूरा गरेरै छोड्छु’ उहाँले भन्नुभयो।
उहाँले सरसफाइ पेशाबाटै जीविकोपार्जन र बालबालिकाको शिक्षामा लगानी गर्दै आउनु भएको छ । जीवनयापन गर्न सहज बनाएको र वातावरण संरक्षणमा टेवा पुर्याएको आफ्नो पेशा आफूलाई महान लाग्ने उहाँको भनाइ छ ।
‘सरसफाइको काम मलाई धेरै ठूलो र महान जस्तो लाग्छ । किनकि मैले अरुलाई सुविधा दिएको छु । मैले शौचालय सफा राखेको छु र यहाँ आउने मानिसहरुले प्रयोग गर्न पाउनु भएको छ’ आशिका भन्नुहुन्छ ‘यहाँ प्रशस्त पानीको व्यवस्था गरेको छु । साबुन राखिदिएको छु । मैले शौचालय सफा नराखेको भए वरिपरि दुर्गन्ध फैलिन्थ्यो होला, मानिसहरुलाई शौचालयबाट पनि रोग सर्थ्यो होला ? त्यसैले मलाई मेरो काम प्रति गर्व छ ।’

शौचालय सरसफाइको दौरानमा कहिलेकाहीं असल बानी व्यवहार भएका मानिसहरु सँग पनि भेट हुँदो रहेछ । जसले उहाँलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । आशिका भन्नुहुन्छ ‘कति सफा शौचालय, तपाईलाई धन्यबाद भन्ने मानिसहरु पनि भेट्ने गर्छु, त्यत्तिबेला मेरो कामको सही मूल्याङ्कन भएको महसुस हुन्छ र खुसी हुन्छु ।’
सहकारीले उहाँलाई बस्ने कोठा, बत्ती र पानी उपलब्ध गराएको छ । यसबापत कुनै शुल्क तिर्नुपर्दैन । सहकारीले दिने सेवा सुविधासँग पूर्ण सन्तुष्ट हुनुहुन्छ । यद्यपि स्वास्थ्य बीमा गराई दिए हुन्थ्यो भन्ने उहाँको चाहना छ ।
‘बिरामी भैहाल्यो भने के पैसाले उपचार गर्नु भन्ने पीर लाग्छ । सहकारीले स्वास्थ्य बीमा मात्र गराईदिएमा कत्ति ढुक्क हुन्थें।’ आशिकाले सहकारी सँग गरेको अपेक्षा बारे बताउनुभयो ।


262 पटक हेरिएको 

