अस्थायी सेप्टिक ट्याङ्कीको स्थायी हैरानी, स्वास्थ्यप्रति सधैं बेइमानी

  वास खबर संवाददाता  201 पटक हेरिएको

पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोला बस्ती

म पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोलामा बस्छु । यो बस्तीमा सरकार र माओबादी द्धन्द्धका बेला विभिन्न जिल्लाबाट विस्थापित भएर आएका मानिसहरु मात्र छौं । हामी यहाँ बस्न थालेको करिब २५ बर्ष पुग्नै लाग्यो ।

यो अव्यस्थित बस्ती हो । त्यसैले यहाँ केही पनि व्यवस्थित छैन । व्यबस्थित बसोबास नभएपछि सबै कुरा लथालिङ्ग हुने रहेछ । अब कुरा गरौं शौचालयको । घर नै अस्थायी किसिमका भएपछि सेप्टिक ट्याङकी स्थायी हुने कुरै भएन । यहाँका धेरै जसोको घरमा काम चलाउ अस्थायी प्रकृतिको शौचालय मात्र छ । अर्थात व्यवस्थित शौचालय छैन ।

शौचालयको सेप्टिक ट्याङ्की पनि सानो सानो खाल्डो बनाएर यसो गुजारो चल्ने बाटो मात्र बनाएको हो । अब त्यो सानो खाल्डो त कहिले कति बेला भरिन्छ भन्ने थाहा हुँदैन ।
जुन ठाउँमा पाइप राखेर हामीले ढल निकास गरेर अरु पानीहरु पठाएको छौं । शौचालय भरिएर निस्केको पानी त्यहीबाट जान्छ कि भन्ने स्थितिको छ । त्यसैले अव्यस्थित शौचालयका कारण दुर्गन्ध फैलिन्छ कि भन्ने सधैं तनाव र डरमै हुन्छौं ।

कसै कसैको अलि ठूलो खाल्डो पनि छ भने सेप्टिक ट्याङ्कीको भुँई ढलान पनि गरिएको छैन । त्यसले गर्दा उहाँहरुको भरिएको छैन, तर सानोवाला सेप्टिक ट्याङ्की चाहिं भरिन थालेको छ ।

घरमै टाँसेर बनाएको शौचालय, जसको भेन्ट पाइप शौचालय भन्दा अग्लो छैन।

सेप्टिक ट्याङ्की दिसापिसाबले भन्दा पनि पानीले बढी भरिने हो । शौचालयमा हामीले दिसापिसाब नगरेपनि त्यो छिरुवा पानीले पनि अव्यवस्थित सेफ्टिक ट्याङ्की भरिएर पानी टिलपिल टिलपिल भएको अवस्था हुन्छ । किनकि यो बगर ठाउँ हो । छिरुवा पानी आईसकेपछि त पानी प्रयोग गरेर शौचालय सफा गर्न पनि डर लाग्छ । यसै पनि भरिएर आईरहेको हुन्छ भने झनै शौचालयमा बढी पानी प्रयोग गर्ने वित्तिकै भरिएर प्रयोग नै गर्न नमिल्ने होला कि भन्ने डर हुन्छ ।

हाम्रो समुदायमा फोहोरपानी निकासको अवस्था पनि उस्तै छ । लुगा धोएको, नुहाएको, भाँडा धोएको, बाथरुमको फोहोरपानी र किचनको पानीलाई यसो भाँडा माझेको ठाउँबाट कुलेसो बनाएर बारीतिर जताततै पठाएका छौं । शोकपिट बनाउने क्षमता नहुने र नभ्याउनेको यस्तै स्थितिबाट चलिरहेको छ । जस्ले गर्दा दुर्गन्धित हुन्छ । फोहोरपानी जमेकाले होला लामखुट्टे, कीरा फट्याङ्ग्राले पनि सताईरहन्छ ।

बर्षातमा त यो बस्ती जलमग्न नै हुन्छ । पानी सोस्ने ठाउँ पनि हुँदैन । गत साल यहाँका केही व्यक्तिहरुलाई डेङ्गु पनि लागेको थियो । ज्वरो आउने, झाडापखाला लाग्ने त भैरहन्छ यो बस्तीका मानिसहरुमा ।

दुर्गा आमा समूहका उपाध्यक्ष कमला माया परियार

मलाई लाग्छ, हाम्रो जीवन असुरक्षित छ । किनकि सरसफाइ सँगै हाम्रो पिउने पानी सुरक्षित छैन । हामीले बनाएको सेप्टिक ट्याङ्क सुरक्षित रहेनछ भन्ने कुरा पनि हामीले सेप्टिक ट्याङ्की सम्बन्धीको तालिममा भाग लिए पछि थाहा पायौं । व्यवस्थित र सुरक्षित सेप्टिक ट्याङ्क बनाउने हो भने हामी विभिन्न रोगहरुबाट पनि मुक्त हुन सक्दा रहेछौं ।

हाम्रो स्वास्थ्यलाई ध्यान दिने हो भने यो बस्तीका हरेक शौचालयलाई सुरक्षित बनाउनुपर्छ । यसका लागि सबैले अभियानकै रुपमा शौचालय र सेप्टिक ट्याङ्क सुधारको काम गर्नुपर्छ । वडा कार्यालय वा महानगरपालिकाको कार्यालयको अनुदान तथा स्थानीय बासिन्दाको पनि लागत सहभागितामा यो काम गराउन सकिन्छ भन्ने मलाई लाग्छ ।

नमिलेको संरचना, शौचालय प्रवेश गर्ने ठाउँमै बनाएको खानेपानीको धारा।

यस्तै पिउने पानी पनि सुरक्षित हुनुपर्छ । यसका लागि पानीको मुहान देखि चुहान सम्मकै संरचना बदल्नुपर्छ । हाम्रो खानेपानीको मुहान पनि असुक्षित छ भने वितरण ट्याङ्की र पाइपहरु पनि ठाउँ ठाउँमा चुहिन्छन् । यसले गर्दा पनि खानेपानी प्रदुषित भईरहेको छ । यस सम्बन्धमा व्यापक जनचेतना जगाउने र खानेपानीका संरचनाहरु सुधारको विकल्प छैन ।

सुँगुरको खोर सँगै टाँसिएको छानो बिनाको शौचालय

(दुर्गा आमा समूहका उपाध्यक्ष कमला माया परियारसँग गरिएको कुराकानीमा आधारित)

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार