सिंजा गाउँपालिकाको हरेक घरमा सुरक्षित पानी, खानेपानीमा २६ प्रतिशत लगानी

  वास खबर संवाददाता  186 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको ऐतिहासिक सिंजा गाउँपालिकाका बासिन्दा अब पानीका लागि टाढासम्म धारा खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। संघीय सरकारको अनुदान र फिनल्यान्ड सरकार तथा युरोपियन युनियनको सहकार्यमा गाउँपालिकाका १ हजार ६४ घरधुरीमा सुरक्षित खानेपानी पुगेपछि दशकौँदेखि पानी अभावमा पिडित बस्तीहरूमा सहजता आएको छ।

गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, खानेपानी अभावले दैनिक जीवन कठिन बनेका गाउँहरूमा अहिले राहतको अनुभूति भइरहेको छ। “नराकोटदेखि भुलीगाउँसम्मका बस्तीमा अब स्वच्छ पानीको सहज पहुँच पुगेको छ,” अध्यक्ष धितालले भन्नुभयो “खानेपानी हाम्रो विकासको पहिलो आधार बनेको छ।”

विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक स्थानमा स्वच्छ पानी उपलब्ध भएपछि सरसफाइ र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको गाउँपालिकाको दाबी छ। अध्यक्ष धितालका शब्दमा, “अब सिंजाका बासिन्दा पानीका लागि घण्टौँ टाढा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्। हाम्रो लक्ष्य हरेक घरमा दिगो र स्वच्छ खानेपानी पुर्‍याउने हो।”

सिंजामा निर्माण भएकाखानेपानी आयोजना

 

क्रम संख्या  आयोजना / स्थान  निर्माण भएका धाराको संख्या
डिग्रा जाँच खानेपानी आयोजना (वडा नं. १) २१४
विष्टबाडा आयोजना ८५
नराकोट गाउँ आयोजना १५२
फुङ्ग्रगाउँ (लापा परियोजना) ११९
गाडापानी गाउँ (प्रदेश सरकारको सहयोग) ५८
सुस्वा परियोजना ४३६

परियोजना मार्फत बनेका धाराहरू

लिहीगाउँ  ६४
फार्सेवाडा  १३०
गोरागाउँ  १८८
रुघागाउँ  ५४
जोडुगाउँ  ११०
चुलेलगाउँ  ८८
धापा         २७
भुलीगाउँ  २२

खानेपानी र सरसफाइ क्षेत्रमा गरेको लगानी र उपलब्धिलाई सुस्वा परियोजनाले उच्च मूल्याङ्कन गरेको छ। हालै कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित मूल्याङ्कन कार्यक्रममा प्रदेशका २८ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाले पहिलो स्थान हासिल गरेको हो।

सुस्वा परियोजना संयोजक मञ्जु थापाका अनुसार सिंजाले खानेपानी क्षेत्रमा आफ्नो कुल बजेटको २६ प्रतिशत लगानी गरेको छ, जुन कर्णालीकै उत्कृष्ट उदाहरण हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार