
जुम्ला: जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभरिका उपभोक्ता समितिलाई तालिम दिएको छ । वार्षिक विनियोजित योजनाको प्रभावकारी कार्यान्वयन तथा पुँजीगत खर्च गर्ने क्षमता र गुणस्तरीय विकासका लागि उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको हो ।
जिल्लाका आठ पालिका मध्ये पहिलो पालिकाका रुपमा असारे विकासलाई निरुत्साहित गर्दै बैशाख मसान्तमै योजनाको अन्तिम भुक्तानी दिने अभियान चलाएको तातोपानीले हरेक वर्ष उपभोक्ता समितिलाई तालिम दिएर योजना कार्यान्वयन प्रभावकारी बनाउने बताउँदै आएको छ ।
अधिकांश पालिकामा योजनाको बजेट घटेको, समयमै कार्यदेश नपाएको, प्राविधिक सल्लाह नपाए, भुक्तानीमा कठिनाइ भएको लगायतका गुनासा आउने गरेका छन् । यी गुनासालाई सम्बोधन गर्न तथा चालु आव २०८२र०८३ मा सञ्चालन हुने आयोजना प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता विकास तालिम कार्य सम्पन्न भएको तातोपानी गाउँपालिका योजना शाखा प्रमुख ओमबहादुर चन्दले बताउनुभयो।
उहाँका अनुसार पालिकाका वडा–१ देखि ८ सम्मका १३८ भन्दा बढी योजनाका निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्ष सहित गरी १६० जना भन्दा बढीलाई तालिम दिइएको हो । तालिममा योजना सम्झौता, कार्यान्वयन र भुक्तानी प्रक्रिया, भुक्तानी गर्दा बजेट घट्नुका कारण, सरल भुक्तानी प्रक्रिया डिजाइन स्टमेट अनुसार काम गर्र्नुपर्ने, निर्माण प्रक्रिया र प्राविधिक विषय सहयोग लगायतका विषयमा उपभोक्ता समितिलाई सहजीकरण गरिएकोछ ।
आयोजनाको दिगो व्यवस्थापन र मर्मतबारे कार्ययोजना बनाई कार्यान्वयन गर्नु र बैशाख मसान्तभित्रै आयोजना निर्माण सम्पन्न गरी अन्तिम भुक्तानी लिन समेत अनुरोध गरिएको योजना शाखा प्रमुख चन्दले जानकारी दिनुभयो। सिमेन्टको बाहेक अन्य काम हिउँदमा समेत गर्न आग्रह गरिएको करोबार दैनिकले प्रकाशन गरेको छ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले योजना कार्यान्वयन तथा दिगोपन र बजेट खर्च शतप्रतिशत गर्न उपभोक्ता समिति र समुदाय सचेत हुनुपर्ने बताउनुभयो। पुँजीगत बजेट शतप्रतिशत कार्यान्वयन गर्न पालिकाले हरसम्भव प्रयास थालेको उहाँको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले उपभोक्ता समिति सचेत भएर स्टेमट अनुसार काम गरी वैशाखमै अन्तिम भुक्तानी लिँदा पुँजीगत खर्चमा उल्लेख्य वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।


184 पटक हेरिएको 

