- सर्वज्ञ श्रेष्ठ
सिरहा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत इन्द्रदेव यादवले भन्नुभएको कुरा अहिले पनि मेरो मानसपटलमा ताजै छ । ‘सिरहा नगरपालिकाको वडा नं. ९ लाई सरसफाइयुक्त बनाएको भोलिपल्ट हामी सिरहा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सक्छौं ।’
उहाँको भनाइमा ९ नम्बर वडा सरसफाइमा सबैभन्दा पछाडि थियो । हामीले गरेको बेसलाइन सर्वेले पनि सिरहाको वडा नं. ९ सरसफाइमा सबैभन्दा कमजोर देखायो । सिरहा ९ मा सिमान्तकृत तथा गरिबीको रेखामुनि रहेका वर्गको बाहुल्य रहेकाले सरसफाइमा पछाडि परेको हामीले अध्ययनको क्रममा भेट्टायौं ।
त्यसपछि हामीले त्यही सिमान्तकृत वर्गहरुको बसोबास रहेको क्षेत्रलाई छनौट गर्यौं । सिरहाका तत्कालीन गाउँ विकास समितिहरु मिर्चैया, गोलबजार र कर्जन्हामा हामीले खानेपानी, सरसफाइ र स्वच्छता अधिकार सुनिश्चितता परियोजना सञ्चालन गर्यौं । जहाँ सरसफाइमा सबैभन्दा कम पहुँच थियो । सिमान्तकृत बर्गहरुको बाहुल्य थियो । त्यहाँ हामीले दलित महिला समूहहरु बनाएर उहाँहरुको चेतना स्तर बढाउने काम गर्यौं र उनीहरुको नसुनिएको आवाजलाई निर्णायक र नीति बनाउने तहमा पुर्याउन संवाहकको काम गर्यौं ।
हामीले सिरहामा खानेपानी, सरसफाइ र स्वच्छता अधिकार सुनिश्चितता परियोजना सञ्चालनका लागि दलित महिला संघ (फेडो), खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) सँग साझेदारी गर्यौं ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँग वाटर एड नेपालले धेरै बर्ष अगाडि देखि सहकार्य गर्दै आएको थियो । सो दौरानमा सिरहा जिल्लामा सरसफाइ गुरुयोजना २०६८ ले निर्दिष्ट गरे बमोजिम विभिन्न तहका खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिको गठन गर्न पनि वाटर एड नेपाल र नेवाले नै अग्रणी भूमिका खेलेको हो ।
फेडोले साबिकको करजनहा, बडहरामाल, गौताडी, चन्द्रअयोध्यापुर र सिरहा नगरपालिकाको वडा नं. ३, ५, ६ र ९, मिर्चैया नगरपालिकाको ३ र १० तथा गोलबजार नगरपालिकाको ७ र ८ नम्बर वडामा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले सिरहाको विभिन्न गाउँ विकास समिति र नगरपालिकाका ४८ सामुदायिक विद्यालयमा छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालयको आवश्यकता लगायतको विषयमा पैरवी गरेको थियो ।
यस्तै सिरहाको करजनहा गाविस, मिर्चैया नगरपालिकाको राधोपुर, सीतापुर, फुलवारिया, महेशपुर, रामनगर मिर्चैया र गोलबजारको चन्द्रलालपुरमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले सुरक्षित खानेपानी उपलब्धताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो यस्तै शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले भने सिरहा नगरपालिकाको वडा नं. ३, ५, ६ र ९ मा टोल विकास संस्थाहरु मार्फत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलाप सञ्चालन गरेको थियो ।
खानेपानी, सरसफाइ र स्वच्छता अधिकार सुनिश्चितता परियोजना, समुदायको माग र अधिकारमा आधारित परियोजना थियो । पहिले उहाँहरुसँग बैठक बस्ने, सहकार्य गर्ने र आवश्यकताको पहिचान गरी त्यो समस्या समाधान गर्ने निकाय कुन हो ? कसरी आफ्नो अधिकारको खोजी गर्ने र परिपूर्ति गर्ने भन्ने विषयमा बढी वकालत गरिन्थ्यो ।
यस परियोजनामा हामीले मुख्य गरी पछाडि पारिएका वा सिमान्तकृत वर्गको नसुनिएका आवाजलाई योजना निर्माणको तहमा पुरयाउन संवाहकको रुपमा काम गर्यौं । यस परियोजना अन्तर्गत पहिले त उहाँहरुलाई जानकारी गराउने, चेतनाको तह बढाउने र उहाँहरुको चेतनाको स्तर बढेपछि उहाँहरुलाई नै केही काम गर्न लगाउने देखि लिएर अधिकारमा आधारित अवधारणाहरुलाई अगाडि सार्दै गयौं ।
हामीले अधिकार प्राप्त गर्नुपर्नेहरुको अधिकारको सवालमा मात्र कुरा गरेनौं, सँगसँगै हामीले दायित्व निर्वाहका लागि सरकारी नेतृत्वमा रहेका सरकारी पदाधिकारीहरुका लागि उत्तरदायित्व र क्षमता अभिबृद्धिका विषयमा पनि काम गर्यौं ।
यसरी एकातिर अधिकार प्राप्त गर्ने दृष्टिकोणबाट र अर्कोतिर उत्तरदायित्व निर्वाह गर्ने पक्षलाई पनि समन्वय र सहकार्यको बाटोमा ढाल्यौं ।
यस परियोजना मार्फत जानकारी मात्र होइन, सूचना प्राप्ति र अधिकारको खोजी गर्न सही बाटो पनि निर्देश गर्यौंै । उहाँहरुले कहाँ कहाँ गएर आफ्नो अधिकारको लागि लड्नुपर्छ, कहाँ कहाँ गएर आफ्नो अधिकार सुनिश्चित गर्न सकिन्छ ? कसरी संगठित हुने र कुन ठाउँमा पुगेर अधिकार प्राप्त गर्न सकिन्छ भन्ने पाटो समेत उजागर गर्यौं ।
यसैको फलस्वरुप अहिले सिरहाका सिमान्तकृत समुदायले नगरपालिकामा लक्षित वर्गका लागि विनियोजन हुने रकमको खोजी गर्न थालेका छन् । लक्षित वर्गका लागि विनियोजन हुने रकमबाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न थालेका छन् ।
यसका साथै कार्यक्रम सञ्चालनको तीन बर्षको अवधिमा सिरहामा खानेपानीको दिगो व्यवस्थापन सम्बन्धी ६५६ जनाको क्षमता अभिबृद्धि, ३ हजार ६२२ जनालाई खानेपानी, सरसफाइ र स्वच्छता अधिकारका बिषयमा अनुशिक्षण प्रदान गरियो भने ४० दलित महिला समूह मार्फत ६२२ जना महिलाको नेतृत्व विकास गरियो । यस्तै विभिन्न खानेपानी आयोजनाबाट १६ हजार ३७० जना लाभान्वित भए । १० हजार ३७७ चर्पीबाट ५३ हजार ६४१ जना र स्वच्छता व्यवहार लागु सम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट ५३ हजार ३४१ जना लाभान्वित भएका छन् ।
सिकाई :
विभिन्न साझेदारहरु सँगको सहकार्यले समुदायको सशक्तिकरण र जिल्ला स्तरका सरोकारवालाहरुको सँगको समन्वयबाट निम्न सिकाई रह्यो –
- स्थानीय तहमा खानेपानी सरसफाइमा लगानी बढ्दो (गोलबजार नगरपालिकाले खानेपानी कार्यक्रमको लागि लगानीमा सहकार्य )
- दलित महिलाहरु सरसफाइ अभियन्ताका रुपमा अगाडि बढ्न सफल (सरोकारवाला निकायहरुमा दलित लगायतका अन्य सिमान्तकृत एवं पछाडि पारिएका वर्गहरुका लागि सेवा सुविधाहरुको प्राथमिकीकरण गरी सेवा प्रवाह एवं प्रवद्र्धन गर्न मागको आवाज उठाउन सफल)
- फरक क्षमता, सीप र ज्ञान भएका विभिन्न साझेदार निकायहरुलाई एउटै समान लक्ष्यका लागि अघि बढ्न उत्प्ररित गर्नका निम्ति कार्यक्रम व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन समितिहरुको दुवै स्थानीय तथा राष्ट्रिय स्तरमा सक्रिय भूमिका हुनु ।
अबको बाटो
जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि अन्य दायित्वहरु थपिदै जान्छ र त्यो पूरा गर्दै जानुपर्छ । खानेपानीको कुरा गर्दा हिजो परिमाणलाई बढी जोड दिइएको थियो भने अब गुणस्तरमा ध्यान दिनुपर्छ । खानेपानीको सुरक्षित व्यवस्थापनलाई दिगो विकास लक्ष्यले पनि निर्दिष्ट गरेको छ । त्यसमा पनि तराईमा हुने खानेपानी गुणस्तरका समस्याहरुलाई हल गर्दै लैजानुपर्छ ।
तराईमा खानेपानीको मुख्य स्रोत भूमिगत पानी भएकाले आइरन र आर्सनिकको मात्रा धेरै छ । भावी दिनमा खानेपानी गुणस्तर अभिवृद्धिका लागि ट्यूबेललाई डिपबोरिङ सिस्टममा स्तरोन्नति गदै लैजानुपर्छ । ताकि त्यो प्रणालीमा गएपछि मध्यम तथा उच्च गुणस्तरको खानेपानी सुविधा पुग्न सकोस् ।
त्यस्तै सरसफाइ, अहिले हरेक घरमा शौचालयको सुविधा छ । तर अब बिस्तारै समुचित प्रयोग र दिगो रुपमा सुचारु राख्नका लागि शौचालयको स्तरोन्नति पनि गर्दै लैजानुपर्ने आवश्यकता छ ।
सरकारले दिसाजन्य लेदो व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका ल्याइसकेको छ । अब त्यसलाई स्थानीय सरकारले योजनामा ढालेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।
सर्वज्ञ श्रेष्ठ सँग वास खबरले गरेको कुराकानीमा आधारित, श्रेष्ठ वाटर एड नेपालमा कार्यक्रम प्रबन्धक हुनुहुन्छ ।


1223 पटक हेरिएको 

