दोलखा १३ फागुन । हातमा कुचो बोकेका, मास्क लगाएका र व्यानर बोकेका नेपाली सेना र प्रहरी सँगै थिए त्रिपुरा ग्लोरियस एकेडेमीका विद्यार्थी तथा शिक्षक र निम्फाका कर्मचारी तथा प्रतिनिधि । उनीहरु सेना दिवस र शिवरात्रीको अवसरमा रणभीम गण चरिकोटको अगुवाईमा सदरमुकाम चरिकोटको सफाइ गर्न जुटेका थिए ।
रणभीम गण चरिकोटको अगुवाइमा त्रिपुरा ग्लोरियस एकेडेमी र निम्फा दोलखाले संयुक्त रुपमा आयोजना गरिएको नगर सरसफाइ बसपार्कबाट सुरु गरी पशुपतिडाँडामा पुगेर अन्त्य भएको थियो । रणभीम गण चरिकोटको करिब दुई सय, त्रिपुरा ग्लोरियस एकेडेमी ४५ र निम्फाको करिब ४० जनाको सहभागितामा बजार सरसफाइ गरिएको रणभीम गण चरिकोटका मेजर अमृत लामाले जानकारी दिनुभयो ।
सेनाले भीमेश्वर नगरपालिकाको दमकल प्रयोग गरी सदरमुकाम चरिकोटको सातदोबाटो क्षेत्रको दुलोलाई बगाइएको थियो । नगर सरसफाई कार्यक्रममा दोलखाका कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज लगायतले पनि सहभागिता जनाएका थिए ।