स्मार्ट शौैचालय र यसको विशेषता

  प्रेमकृष्ण श्रेष्ठ, सिनियर डिभिज्नल इञ्जिनियर, खानेपानी तथा ढल निकास विभाग  2360 पटक हेरिएको

नेपाल सरकारले बजेट भाषणमा नेपालका सार्वजनिक क्षेत्रहरुमा स्मार्ट शौैचालय निर्माण गर्दै जाने घोषणा गरेको छ । घरायसी शौचालय निर्माणले आशातित गति लिँदै सम्पूर्ण नेपाल लाई खुला दिसा मुक्त घोषणा गर्ने तरखरमा रहेका हामी जस्ता सरसफाइ अभियन्ताहरुको लागि यो अत्यन्त खुसीको विषय रहेको छ ।

यसै परिप्रेक्ष्यमा सामाजिक संजालमा केहि मित्रहरुले स्मार्ट शौचालय भनेको के हो भन्ने जिज्ञासा राख्नु भएकोमा यस विषयमा आफ्नो सानो बिचार र नेपालमा भइ रहेका प्रयास वारे छोटो जानकारी राख्ने जमर्को गरेको छु ।

बिगत केहि वर्ष देखि संसारभर शौचालय निर्माण कार्यले गति लिइ रहेको छ, र आसातित सफलता पनि हासिल भइ रहेको छ । दशक अघि सम्म निकै हेय भावले हेरिने यस क्षेत्रमा हाल ठुला ठुला संस्थाहरुले पनि चासो दिएर लगानी गरिरहेको छ । यस मध्य उल्लेख गर्न योग्य संस्था हो Bill and Manila Gates Foundation. Foundation ले Re-inventing the Toilet नामक परियोजना संचालन गरेर काम गरि रहेको छ र निकट भविष्यमै चर्पिको परम्परागत सोचमा नै परिवर्तन गरिने गरि नयाँ खाले चर्पि व्यवहारमा आउने सम्भावना रहेको छ ।

उत्कृष्ट ज्ञान भएका सूचना प्रविधी विज्ञ, उर्जा विज्ञ,सरसफाइ विज्ञ आदिको संलग्नता मा काम भइ रहेको भन्ने बुझिएको छ । भारत, बँगलादेश आदि देशहरुमा यसको परिक्षण भइ रहेको छ । यसै सिलसिलामा भारत लगाएत केहि देश हरुमा सूचना प्रविधि को प्रयोग गरि आधुनिक र स्वचालित सार्वजनिक शौचालयहरु निर्माण भएका छन र प्रयोग भई रहेको छ । भारतमा Eram Scientific नामक संस्थाले यस प्रकारको शौचालय निर्माण गरि केहि स्थानमा संचालन गरिरहेको छ, यस्ता शौचालयहरुलाई E-Toilet नामाकारण गरिएको छ । यो पनि एक प्रकारको स्मार्ट शौचालय हो ।

यसखाले शौचालयमा हेरालु बस्नु पर्दैन । उपयोग कर्ताले स्वचालित ढोकामा पैसा छिराएर सेवा लिन्छन र प्रयोग पछि शौचालयको सफाइ आफै हुन्छ । यस प्रकारको शौचालय विश्वका अन्य भागमा पनि प्रशस्तै उपयोगमा रहेका छन । चिन लगायतका देशहरुमा यस्ता शौचालयहरु निर्माण गर्ने थुप्रै कम्पनीहरु रहेका छन, स्वाभाविक रुपम ति महंगा छन । बिकासका अन्य क्षत्रमा निकै अगाडी पुगेका ति देशहरुमा यस्ता सामग्रीहरु बन्नु र प्रयोगमा आउनु ठुलो र कुनै आश्चर्यको विषय रहेन ।

नेपालमा यसको शुरुवात 

आश्चर्य लाग्दो भनौं कि उदेक लाग्दो कूरा भनौं, डोल्पा निवासी एक सिर्जनशील युवा उद्यमीले डोल्पा जिल्लाको सदरमूकाम दुनै बजारमा यस्तै प्रकारको ईलेक्ट्रोनिक्स र सूचना प्रविधिको प्रयोग गरि एक शौचालयको निर्माण गरेका रहेछन, एक वर्ष अगाडी ! सम्पूर्ण स्टिल पाताहरु प्रयोग गरिएको त्यस शौचालयमा विभन्न खाले सेन्सरहरु प्रयोग गरि शौचालय प्रयोग भइ रहेको वा खालि रहेको, पानी भएको नभएको, सावुन भएको नभएको आदि जानकारी पूर्व जानकारी दिने सुविधा रहेको छ ।

यसै गरि यस सार्वजनिक शौचालय मा प्रयोग कर्ता छिरे पछि पूर्व सफाइ (Pre-Flush) र प्रयोग पछि स्वचालित रुपमा फ्लस गरिदिने सुविधा रहेको छ । यस अलावा ५० जना प्रयोग कर्ताले प्रयोग गरि सके पछि शौचालय आफैले शौचालय भित्रको तल, माथि र चार भित्ता गरि छ वटै भित्ताहरुको सफाइ सावुन लगाई लगाई गरि दिने सुविधा पनि रहेको छ । मेकानिकल र ईलेक्ट्रोनिक्स यन्त्रहरुका साथै सूचान प्रविधिको प्रयोग गरि निर्मित यस शौचालय आजको प्रविधिको युगको आँखाले हेर्दा सामान्य भन्न सकिन्छ, तर नेपाली युवाले निर्माण गरेको, डोल्पा जस्तो विकट जिल्लामा संचालन गरेको, तैपनि विकसित देशमा बनाइएका शौचालयहरु संग तुलना गर्न योग्य भएको कुरालाइ साधारण होइन, असाधारण सफालता भन्दा फरक पर्दैन ।

यो भन्दा पनि महत्वपूर्ण कुरा मलाइ लागेको ति युवाले यस निर्माण लाइ शौख वा लहडको काम मात्र नठानेर व्यवासायिकरुपमा उद्यमको रुपमा स्थापना गर्ने लक्ष लिएका छन । उनले Lapco नामक कम्पनी स्थापना गरि यस प्रकारको शौचालयलाइ व्यवसायिकरुपमा उत्पादन गरि व्यापार गर्ने सोच लिएका छन । व्यक्तिगत रुपमा मलाइ यो विषय निकै उदाहरनीय लागेको छ । किन भने नेपालमा हाल सम्म शौचालय निर्माण मूलतः विकासे काम र सामाजिक कामको रुपमा मात्र लिइएको देखिन्छ । यस रुपमा मात्र शौचालयलाई हेरिंदा सम्म शौचालय निर्माण, संचालन र मर्मतमा आशातित व्यापकता आउन सक्दैन भन्ने मेरो राय छ ।

यसै परिप्रेक्षमा निज युवा श्री रविन्द्र शाही संग सम्पर्क गरि उक्त शौचालयको शहरी मोडल तयार पार्ने र शहरको आवश्यकतालाइ समेत सम्वोधन गर्ने गरि नयाँ नयाँ डिजाइन तयार पार्ने काम गरियो । तयार पारिएका डिजाइनहरुको एनिमेसन तयार पारी प्रस्तुतिकरण गर्ने सामग्रि तयार पारिएको छ । तयार भएका डिजाइन र यस शौचालय निर्माणको लागि बिभिन्न सरोकारवालाहरु संग छलफल गरियो । काठमाण्डौ महानगरपलिका तथा भक्तपुर नगरपालिकाका मेयर तथा उप मेयर ज्युहरु लगायत वरिष्ठ अधिकारीज्युहरु संग छलफल गरियो ।

यसैगरि पर्यटकिय नगरी बन्दिपुर, औद्योगिक नगरी विराटनगर महानगरपालिका मा पनि यस वारे छलफल चलाइयो । सवै तर्फ वाट अत्यन्त सकारात्मक र उत्प्रेरक धारणा प्राप्त भएको छ । तर यस शौचालयमा लगानी गर्नु भन्दा पहिले कम्तिमा एक वटा शौचालय भौतिक रुपमा तयार पारी अवलोकन गर्न पाए सजिलो हुने भन्ने सवैको धारण भएको हुँदा एक गोटा शहरी मोडेलको स्वचालित शौचालय निर्माण गर्ने काम शुरु गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा नं.१५ को पहलमा स्वयंम्भुमा राख्ने गरि यसको निर्माण शुरु गरिएको हो । सम्भवतः यहि महिनाको अन्त सम्म यसको निर्माण सम्पन्न हुने छ ।

के के छन त यस सार्वजनिक शौचालयको विशेषताहरु :

१. यस शौचालयमा तिन कोठा रहने छन् । त्यस मध्य एक कोठा अपांग मैत्रि अर्थात रेलिङ, र्याम्प तथा ध्वनिको समेत सहायता हुने गरि बनाइने छ ।
२. प्रत्येक कोठामा आफै पैसा तिरेर मात्र खुल्ने स्वचालित ढोका रहने छन । कति पैसा राख्ने? सिक्का राख्ने कि नोट? टुंगो गरि सकिएको छैन ।
३. तिन वटै शौचालय कमोड जडित हुनेछन भने प्रयोग अघि र प्रयोग पछि स्वचालित रुपमा कम पानी प्रयोग गरि सफा गर्ने प्रविधि युक्त रहने छन । प्रयोग कर्ताले आफै फ्लस गरेर सफा गर्न चाहेमा पनि गर्न सक्नेछन तर उसले फ्लस गर्न भुलेमा यन्त्र आफैले सफा गरि दिने छ।
४. निश्चित संख्याको प्रयोगकर्ताले प्रयोग गरि सके पछि शौचालयले सवै भित्ताहरु स्वचालित रुपमा सफा गर्ने छ ।
५. शौचालयकोठा भित्र प्रशस्त हावा संचारहुनेछ । साथै संगित ध्वनी तरंगित भइ रहनेछ ।
६. २००० लिटर क्षमताको पानी टैंकी समावेश भएको हुनेछ । सवै अवयव स्टिलको हुनेछ ।
७. शौचालय भित्र हातधुनको लागि धारा, सावुन तथा फोहर फ्याक्ने कन्टेनर (महिलाहरुको लागि प्याड विसर्जन समेत गर्न सकिने गरि) को व्यवस्था हुनेछ । धारा तथा सावुन सेन्सरको सहयोगले आवश्यकपर्दा मात्र खुल्ने गरि बनाइएको हुनेछ ।
८. शौचालयको बाहिरी गेटमा सम्पूर्ण सूचाना (Open, Free, Occupied, under maintenance आदि) डिस्प्ले हुने सुविधा रहनेछ ।
९. शौचालयमा पानी सकिएको, सावुन सकिएको, डिटर्जेन्ट सकिएको जस्ता सूचना शौचालय भन्दा टाढा रहेको सुपरभाइजर कहाँ राखिएको स्क्रिनमा तत्काल देखिने छ । साथै भोलिका दिनमा आवश्यक परेमा पानी आपुर्ति गर्ने टैंकर संचालकको मोबाइलमा सिधै जाने व्यवस्था पनि गर्न सकिने छ ।
१०. शौचालयमा पानी, सावुन, डिटर्जेन्ट आदि जुनसुकै सामग्रि खालि भएको अवस्थामा शौचालयको ढोका खुल्ने छैन ।
११. शौचालय संचालनको लागि सौर्य उर्जाको प्रयोग हुनेछ ।
१२. शौचालयको बाहिरी भागमा व्यापारिक विज्ञापन राख्नको लागि प्रशस्त ठाउँ रहने छ । (आय आर्जनको लागि )
१३. शौचालयवाट निस्किएको दिसा पिसाव नजिकको ढलमा जोडिने छ । तर ढलको व्यवस्था नभएमा बायो डाइजेष्टरको प्रयोग गरिने छ ।
१४. यस शौचालयमा कुनै झ्याल रहने छैन र गन्ध हटाउन चिम्निको पर्योग हुने छ जसले गर्दा नजिकै कूनै प्रकारको गन्ध आउने छैन ।
१५. कुनै एक व्यक्तिले सामान्य रेखदेख गर्नु पर्नेछ, तर पैसा उठाउन वा अन्य प्रयोजनको लागि नजिकै हेरालु बस्नु पर्ने छैन ।
१६. शौचालय निर्माणको कम्तिमा एक वर्ष सम्म निर्माण गर्ने कम्पनीले मर्मत संभार गर्ने छ भने हस्तान्तरण गर्दा प्रविधि सहित हस्तातरण गर्ने छ ।
१७. सैध्दान्तिक अनुमान अनुसार यस शौचालयको सहि प्रयोग भएको अवस्थामा ३ देखि ४ वर्षमा सम्पूर्ण लागत उठति हुने देखिन्छ ।

अन्तमा

माथि उल्लिखित विशेषता भएको स्वचालित शौचालय काठमाण्डौमा छिट्टै संचालनमा आउनेछ । पक्कै यो एक प्रकारको स्मार्ट शौचालय हो । तर यो मात्रै स्मार्ट शौचालय होइन । स्मार्टको परिभाषा निकै व्यापक हुन सक्छ । आजको दिनमा नेपालको शहरी क्षत्रमा सार्वजनिक शौचालयहरुको निकै खाँचो छ र जनस्तरवाट निकै माग पनि रहेको छ । माग र आवश्यकताको तुलाना निर्माण र संचालन निकै कम मात्र भएका छन । माग अनुसार नबन्नुमा आर्थिकसमस्या मुख्य रहेको छ, तर यो मात्र कारण भने होइन ।

सार्वजनिक शौचालय भने पछि फोहर हुने, दुर्गन्धित हुने, प्रयोग गर्नै मुश्किल हुने, जस्ता जनताका भोगाईहरुले गर्दा सार्वजनिक शौचालय अलि टाढै बनाउन पर्ने भन्ने जनमानसको सोचले पनि सार्वजनिक शौचालय निर्माण हुन सकिरहेका छैनन । मलाई विश्वास छ, स्मार्ट शौचालयको निर्माण र प्रयोगले यि धारणाहरुमा विस्तारै परिवर्तन ल्याउने छ । सार्वजनिक शौचालय मानव सेवाको लागि हो र यो सफाइको लागि हो फोहरको लागि होइन भन्ने धारणाको विकास गर्न स्मार्ट शौचालयहरुले अवश्य सहयोग गर्नेछ ।

तर, सवै प्रकारका शौचालयहरुको आ-आफ्नै महत्व र विशेषता हुन्छ । स्मार्ट शौचालयहरुको निर्माण परम्परागत शौचालयहरुको विकल्पको रुपमा लिन भने कदापी हुँदैन । यस्ता शौचालयहरुको आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेनै छ । परम्परागत शौचालय पूर्ण रुपको बैंक हो भने, स्मार्ट शौचालयहरु लाई ATM counter वा मोवाइल बैंकको रुपमा लिन सकिन्छ ।

मूख्य कुरो शौचालय प्रति जनमानस मा आज रहेको सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

प्रेमकृष्ण श्रेष्ठको फेसबुकबाट साभार ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार